नारायणी लिफ्ट सिँचाइबाट बाह्रै महिना पानी
जलसरोकार
चितवन,: नारायणी लिफ्ट सिँचाइ आयोजनाले हिउँदमा पनि पानी उपलब्ध गराएको छ । आयोजनाले ५० वर्षपछि आफ्ना दुवै नहरबाट हिउँदमा पानी छोडेको हो । यसअघि बर्खायाममा मात्रै पानी छाडिने गरेकामा अब बाह्रै महिना नहरमा पानी ल्याउन सकिने भएको छ ।
आयोजनाका सूचना अधिकारी कुलराज चालिसेका अनुसार २०३९ सालमा स्थापना भएको उक्त आयोजनाले यसपटक हिउँदको समयमा दुईवटै नहरमा पानी छोडेको हो । उनले भने,“नहरमा गत वर्ष मात्रै पानी छोडेका थियौँ । अहिले दुवै नहरबाट पानी छोडेका छौँ ।” किसानको मागअनुसार पानी छोडिएको उनले बताए । उनले थपे, “गहुँ, आलु र राजमाखेती गर्ने किसानको मागअनुसार पानी छोडेका छौँ ।”
विगतका वर्षहरूमा उपभोक्ताको माग नहुने गरेकामा दुई वर्षयता माग बढेको हो । आयोजनाले चार हजार चार सय हेक्टर जग्गामा सिँचाइ गर्दै आएको छ । अहिले ३५ प्रतिशत क्षेत्रफलमा गहुँ, आलु र दाल राजमाखेती गरिएको सूचना अधिकारी चालिसेले जानकारी दिए । उनले भने,“हामीले पानी छोडेको एक साता बढी भयो । किसानको मागअनुसार पानी छोड्छौँ ।” बर्सातमा विशेष गरी धान रोप्नका लागि मात्रै पानी छोड्ने गरिएको भए पनि अहिले हिउँदमा समेत पानीको माग बढेको उनले बताए ।
चैत र वैशाख महिनामा नारायणीमा पानी कम भए समस्या हुने भए पनि अन्य समयमा मागअनुसारको पानी दिन आयोजना तयार रहेको सूचना अधिकारी चालिसेले बताए । अहिले गौरीगञ्ज क्षेत्रमा पानीको प्रयोग भइरहेको उनको भनाइ छ ।
नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले हिउँदमा पनि सबै पम्पबाट पानी तान्न सक्ने व्यवस्था गरिएको बताए । रू ३० करोडभन्दा बढी खर्च गरेर पम्प नयाँ जडान गरेपछि हिउँदको समयमा पानी दिन थालिएको हो । चैत र वैशाख महिनामा नारायणी नदीमा पम्पले तान्ने तहभन्दा पानीको सतह तल झर्ने गर्दछ । त्यसलाई समाधान गर्न भरतपुर महानगरपालिकाले रू ५० लाख विनियोजन गरेको भन्दै मुहान मर्मत गरेर बाह्रै महिना पानी तान्न सक्ने बनाइने बताए । चैत लागेपछि मकैका लागि पानी आवश्यक पर्दछ । यसको तयारीमा आफूहरू जुटेको रानाभाटले बताए । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीबाट पम्पमार्फत पानी तानेर महानगरका विभिन्न वडामा सिञ्चित गरिँदै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो