बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
बाढी, पानी र नेपालको भविष्य
ई. अरुण रजौरिया
रसुवा-भोटेकोशी-त्रिशूली नदी प्रणालीमा हालै आएको विनाशकारी बाढीले नेपाललाई फेरि एकपटक जलस्रोत, जलविद्युत् र विपद् व्यवस्थापनबारे गम्भीर प्रश्नहरूको सामना गर्न बाध्य बनाएको छ। मानिसको जीवन, जलविद्युत् आयोजना, सडक, पुल तथा स्थानीय अर्थतन्त्रमा पुगेको क्षतिले विकास र विपद् जोखिमबीचको सम्बन्धलाई नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता औँल्याएको छ।
यही सन्दर्भमा बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ई. अरुण रजौरियाले लेखेको यो विचार लेखले भण्डारणयुक्त जलविद्युत् आयोजना, जलाशय व्यवस्थापन, ऊर्जा सुरक्षा, बाढी जोखिम न्यूनीकरण तथा जलवायु अनुकूलनबीचको सम्बन्धबारे बहस अघि बढाउने प्रयास गरेको छ। लेखकका विचार जलसरोकारका आफ्नै निष्कर्ष होइनन्; बहसका लागि प्रस्तुत दृष्टिकोण हुन्।
नेपाल जलस्रोतमा धनी देश हो। हाम्रो पहिचान हिमाल, नदी र पानीसँग जोडिएको छ । तर विडम्बना के छ भने, हामीसँग प्रशस्त पानी हुँदाहुँदै पनि त्यसलाई वर्षभरि आवश्यकताअनुसार व्यवस्थापन गर्न सकेका छैनौँ। वर्षायाममा नदीमा पानीको मात्रा अत्यधिक हुन्छ, बाढी आउँछ; हिउँदमा त्यही नदीको बहाव घट्छ र पानी तथा विद्युत्को अभाव महसुस हुन्छ।
यही विरोधाभासले नेपालको जलस्रोत विकासको मूल प्रश्नलाई अगाडि ल्याउँछ। हामीले नदीको पानीलाई केवल बगिरहेको अवस्थामा हेर्ने कि त्यसलाई वैज्ञानिक रूपमा व्यवस्थापन गरेर देशको दीर्घकालीन हितमा प्रयोग गर्ने ?
मेरो विचारमा अब नेपालले दोस्रो बाटो रोज्नुपर्छ।
नेपालमा जलविद्युत् विकासको अर्को चरण भनेको केवल धेरै मेगावाट विद्युत् उत्पादन गर्नु मात्र होइन। अबको चरण भण्डारणयुक्त जलविद्युत्, जलाशय व्यवस्थापन, ऊर्जा सुरक्षा, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणलाई एकैसाथ हेर्ने चरण हुनुपर्छ।
यस सन्दर्भमा १,२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको भविष्यका लागि अत्यन्त महत्वपूर्ण आयोजना हो।
नेपालमा ठूला जलाशययुक्त बाँधलाई केवल विद्युत् उत्पादन गर्ने पूर्वाधारका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यस्ता बाँध ऊर्जा सुरक्षा, बाढी नियन्त्रण, पानीको व्यवस्थापन, सिँचाइ, खानेपानी र जलवायुजन्य जोखिम न्यूनीकरणका लागि दीर्घकालीन राष्ट्रिय रणनीतिक पूर्वाधार हुन्।
हालैका बाढी तथा पहिरोका घटनाले हिमाली नदीहरूको अनिश्चित र विनाशकारी स्वरूपलाई पुनः उजागर गरेका छन्। वर्षायाममा अत्यधिक पानीलाई जलाशयमा सञ्चित गरी आवश्यक समयमा नियन्त्रित रूपमा बहाव छोड्न सकिने भएकाले बहुउद्देश्यीय जलाशयहरूले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्। साथै, सुख्खायाममा यही सञ्चित पानी ऊर्जा उत्पादन तथा अन्य पानीका आवश्यकतामा उपयोग गर्न सकिन्छ।
बुढीगण्डकीजस्ता ठूला जलाशययुक्त आयोजना त्यसैले मेगावाटको हिसाबले मात्र मूल्याङ्कन गरिनु हुँदैन। यसको वास्तविक महत्व ऊर्जा, पानी, बाढी व्यवस्थापन र जलवायु अनुकूलनलाई एउटै राष्ट्रिय पूर्वाधारमा जोड्नुमा छ। आज हामीले निर्माण गर्ने यस्ता संरचनाले आगामी पुस्ताको ऊर्जा र जलसुरक्षासँगै विपद् जोखिम न्यूनीकरणको आधार तयार गर्नेछन्।
नेपालको भविष्य केवल बढी बिजुली उत्पादनमा होइन, पानीलाई सही समयमा, सही तरिकाले र सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्ने क्षमतामा पनि निर्भर छ। त्यसैले अब बाँधलाई “विद्युत् आयोजना” मात्र होइन, राष्ट्रिय जल-ऊर्जा तथा विपद् व्यवस्थापन पूर्वाधारका रूपमा हेर्ने समय आएको छ।
रसुवा-भोटेकोशी-त्रिशूलीको बाढीले दिएको चेतावनी
हालै रसुवा, भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीले नेपाललाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। बाढीले मानिसको जीवनमा मात्र होइन, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक पूर्वाधार र स्थानीय अर्थतन्त्रमा समेत ठूलो क्षति पुर्यायो।
हामीले यस्ता घटनालाई केवल एउटा प्राकृतिक विपद्का रूपमा हेरेर बिर्सनु हुँदैन। यसले हाम्रो विकासको सोचलाई पुनः परीक्षण गर्ने अवसर पनि दिएको छ।
हिमाली क्षेत्रमा अत्यधिक वर्षा, हिमनदी पग्लने क्रम, हिमतालसँग सम्बन्धित जोखिम, debris flow र अचानक आउने ठूलो बाढीका घटना जस्ता विपदहरु भविष्यमा अझ गम्भीर चुनौती बन्न सक्छन्। हामीले सबै बाढी रोक्न सक्दैनौँ। प्रकृतिलाई नियन्त्रण गर्न सकिँदैन। तर जोखिम बुझ्न, पूर्वानुमान गर्न, पानी व्यवस्थापन गर्न र जनधन तथा मानविय क्षति धेरै हदसम्म कम गर्न सकिन्छ।
यही ठाउँमा ठूला भण्डारणयुक्त जलाशय आयोजनाको अर्को महत्व देखिन्छ।
भण्डारण आयोजना भनेको के हो?
सामान्य भाषामा भन्नुपर्दा, नदी प्रवाह (Run-of-River) जलविद्युत् आयोजनाले नदीमा आएको पानीलाई तत्काल उपयोग गरेर विद्युत् उत्पादन गर्छ। पानी आयो, विद्युत् उत्पादन भयो र पानी तलतिर बग्यो।
भण्डारणयुक्त आयोजनाको अवधारणा फरक छ। यसमा ठूलो बाँध बनाएर वर्षायाममा आएको पानीलाई जलाशयमा सञ्चित गरिन्छ। त्यसलाई आवश्यकता अनुसार पछि विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ।
यसको सबैभन्दा ठूलो फाइदा यही हो कि पानीलाई आवश्यकता र समयअनुसार व्यवस्थापन गर्न सकिन्छ जुन नेपालका लागि अत्यन्त महत्वपूर्ण कुरा हो। वर्षायाममा हामीसँग पानी धेरै हुन्छ र त्यही समयमा विद्युत् उत्पादन पनि बढी हुन्छ। हिउँदमा पानी कम हुन्छ र विद्युत्को माग भने घट्दैन। यस्तो अवस्थामा वर्षायाममा सञ्चित पानीलाई हिउँदमा उपयोग गर्न सकियो भने नेपालको ऊर्जा प्रणाली धेरै भरपर्दो बन्न सक्छ।
बुढीगण्डकी : एउटा जलविद्युत आयोजनाभन्दा धेरै ठूलो सोच
१,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना मूलतः नेपालको ऊर्जा सुरक्षाका लागि निर्माण गरिने ठूलो भण्डारणयुक्त आयोजना हो। तर यसको महत्व १,२०० मेगावाटमा मात्र सीमित छैन। यस आयोजनालाई हामीले जल, ऊर्जा र विपद् व्यवस्थापनको समग्र संरचनाका रूपमा हेर्नुपर्छ।
ठूलो जलाशयमा पानी सञ्चित भएपछि वर्षायाम र हिउँदबीचको पानीको असन्तुलनलाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ। यसले सुख्खायामको विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान दिन सक्छ। विद्युत् प्रणालीमा Peak Demand व्यवस्थापन गर्न मद्दत गर्न सक्छ। यसले देशको ऊर्जा आयातमा निर्भरता घटाउन र भविष्यमा विद्युत् निर्यातलाई पनि थप भरपर्दो बनाउन सक्छ।
तर यससँगै अर्को प्रश्न आउँछ—के यस्तो जलाशयले बाढी पनि व्यवस्थापन गर्न सक्छ ?
उत्तर हो : केही अवस्थाको बाढीमा, उचित डिजाइन र सञ्चालन भएको अवस्थामा, यसले महत्वपूर्ण योगदान गर्न सक्छ।
तर यहाँ एउटा प्राविधिक कुरा स्पष्ट हुनु आवश्यक छ। ठूलो बाँधलाई “बाढी रोक्ने संरचना” भनेर बुझ्नु सही हुँदैन। यसलाई बाढीको जोखिम न्यूनीकरण र बहाव व्यवस्थापन गर्ने सम्भावित महत्वपूर्ण साधनका रूपमा बुझ्नुपर्छ।
बाँधले बाढीको जोखिम कसरी घटाउन सक्छ ?
मानौँ कुनै वर्षायाममा मौसम पूर्वानुमानले केही दिनभित्र ठूलो वर्षा हुने संकेत गर्छ। ठूलो जलाशय भएको आयोजनासँग जलाशय सञ्चालनको निश्चित नियम हुन्छ। आवश्यक अवस्थामा जलाशयको केही भाग खाली राखेर आउने पानीका लागि Storage Space कायम गर्न सकिन्छ।
ठूलो वर्षा हुँदा नदीमा आएको केही पानी तत्काल तलतिर पठाउनुको सट्टा जलाशयमा अस्थायी रूपमा सञ्चित गर्न सकिन्छ। यसबाट तलतिर जाने बहावको Peak केही हदसम्म घटाउन सकिने अवस्था हुन्छ।
यसलाई नै सामान्य अर्थमा Flood Moderation भनिन्छ । तर यसको प्रभाव आयोजनाको जलाशयको आकार, त्यस समयमा जलाशयमा रहेको पानीको मात्रा, बाढीको परिमाण, वर्षाको अवधि, Catchment Characteristics, मौसम पूर्वानुमान र जलाशय सञ्चालन नियममा निर्भर हुन्छ। त्यसैले कुनै पनि ठूलो बाँधले “ठूलो बाढी आए पनि सबै पानी रोक्छ” भन्नु वैज्ञानिक हुँदैन। तर पूर्वानुमान गर्न सकिने सामान्य तथा ठूला वर्षाजन्य बाढीका अवस्थामा जलाशयलाई वैज्ञानिक रूपमा सञ्चालन गर्न सकियो भने Downstream Flood Risk कम गर्न सहयोग पुग्न सक्छ।
यही कारणले भविष्यका ठूला जलाशय आयोजनालाई केवल Energy Generation को दृष्टिले मात्र डिजाइन गर्नु पर्याप्त छैन।
उच्च कंक्रिट आर्च बाँधको महत्व
बुढीगण्डकीजस्तो ठूलो जलाशय आयोजना विकास गर्दा बाँध यसको सबैभन्दा महत्वपूर्ण संरचनामध्ये एक हुन्छ।
गहिरो र साँघुरो उपत्यका तथा उपयुक्त भूगर्भीय अवस्थाहरूमा उच्च कंक्रिट आर्च बाँध एक महत्वपूर्ण प्राविधिक विकल्प हुन सक्छ । आर्च बाँधको संरचनात्मक सिद्धान्त अन्य प्रकारका बाँधभन्दा फरक हुन्छ। पानीको दबाबलाई बाँधको Curvature मार्फत Abutment अर्थात् दायाँ–बायाँ पहाडतर्फ स्थानान्तरण गर्ने यसको मूल विशेषता हो।
तर बाँधको प्रकार केवल उचाइका आधारमा निर्धारण गर्न मिल्दैन । बुढीगण्डकीजस्तो राष्ट्रिय महत्वको आयोजना निर्माण गर्दा Foundation को अवस्था, Rock Quality, Abutment Stability, Seismic Condition, Hydrology, Probable Maximum Flood (PMF), Sedimentation, Geological Fault, Construction Material, Long-term Dam Safety र अन्य विपदहरु लगायतका विषयमा अत्यन्त गहिरो अध्ययन आवश्यक हुन्छ र बुढीगण्डकी जलविद्युत् आयोजनाको Investigations, Feasibility Study र Detailed Design चरणमा यि सबै कुराहरुलाई मध्यनजर गरि सोहि अनुसार बाँधको प्रकार, उचाई तथा अन्य बनोट निर्धारण गरिएको छ। हाम्रो प्राथमिकता एउटा कुरा हुनुपर्छ : बाँध ठूलो मात्र होइन, पुस्तौँसम्म सुरक्षित हुनुपर्छ।
हालैको बाढीबाट हामीले के सिक्ने?
रसुवा-भोटेकोशी-त्रिशूलीको हालैको विपत्तिले अर्को महत्वपूर्ण कुराहरु सिकाएको छ। नेपालमा अब Catchment-level Disaster Management को आवश्यकता छ।
एउटा आयोजना सुरक्षित बनाएर मात्र पुग्दैन। सम्पूर्ण नदी प्रणालीलाई एउटा प्रणालीका रूपमा बुझ्नुपर्छ।
ठूला जलाशय भएका आयोजनामा आधुनिक Hydrological Monitoring Station, Automatic Rainfall Monitoring, Real-time Reservoir Level Monitoring, Flood Forecasting System र Downstream Early-warning Mechanism विकास गर्नुपर्छ।
त्यस्तै, अत्यधिक बाढी, Debris Flow र Sediment को व्यवस्थापनका लागि पनि छुट्टै योजना आवश्यक हुन्छ।
सबै बाढी जलाशयले रोक्दैन : जलाशयलाई सबै प्रकारका बाढीको समाधान भनेर प्रस्तुत गर्नु हुँदैन।
विशेषगरी हिमाली क्षेत्रमा आउने अचानक Flash Flood, Glacial Lake Outburst Flood (GLOF) वा अत्यधिक Debris सहितको बाढीको प्रकृति सामान्य Monsoon Flood भन्दा धेरै फरक हुन्छ। यस्तो अवस्थामा ठूलो मात्रामा पानीसँगै ढुंगा, बालुवा, माटो र अन्य Debris आउन सक्छ। यस्ता घटनाको ऊर्जा र गति अत्यन्त ठूलो हुन सक्छ।
त्यसैले हामीले बाँध निर्माण गर्दा Dam Safety लाई आयोजनाको सबैभन्दा माथिल्लो प्राथमिकतामा राख्नुपर्छ।
Extreme Flood Analysis, Geo-hazard Analysis, Seismic Safety, Emergency Action Plan, Downstream Risk Mapping, Sediment Management र Continuous Instrumentation आदि अब वैकल्पिक विषय होइनन्। यी आधुनिक जलाशय आयोजनाका अनिवार्य अंग हुन्।
नेपालको ऊर्जा प्रणालीलाई Storage चाहिन्छ
नेपालमा जलविद्युत्को ठूलो सम्भावना हुँदाहुँदै पनि हाम्रो विद्युत् प्रणालीमा एउटा संरचनात्मक समस्या छ—वर्षायाममा धेरै विद्युत् र हिउँदमा तुलनात्मक रूपमा कम विद्युत्। यो समस्या समाधान गर्न Run-of-River आयोजना मात्र पर्याप्त हुँदैन। हामीलाई ठूलो Storage चाहिन्छ।
यदि वर्षायाममा खेर जाने वा कम मूल्यमा निर्यात गर्नुपर्ने पानीलाई जलाशयमा सञ्चित गरेर हिउँदमा उपयोग गर्न सकियो भने त्यसको आर्थिक मूल्य धेरै ठूलो हुन्छ।
भोलिका दिनमा नेपालमा विद्युतीय सवारी, विद्युतीय चुलो, उद्योग, सिँचाइ, Data Center र अन्य विद्युत्-आधारित अर्थतन्त्र विस्तार हुँदै जाँदा भरपर्दो २४ घण्टे विद्युत् आपूर्ति अझ महत्वपूर्ण हुनेछ।
त्यसका लागि बुढीगण्डकीजस्ता आयोजना आवश्यक छन्।
जलाशयलाई राष्ट्रिय सम्पत्तिका रूपमा हेर्नुपर्छ
हामीले अब एउटा नयाँ सोच विकास गर्नुपर्छ। ठूलो जलाशयलाई केवल विद्युत् उत्पादनको Reservoir का रूपमा नहेरी National Water Infrastructure का रूपमा हेर्नुपर्छ। यसमा ऊर्जा उत्पादनसँगै जल व्यवस्थापन, बाढी जोखिम न्यूनीकरण, सुख्खायामको पानी उपयोग, पर्यटन, स्थानीय अर्थतन्त्र र अन्य सम्भावित बहुउद्देश्यीय लाभलाई दीर्घकालीन दृष्टिले अध्ययन गर्न सकिन्छ।
तर यस्तो बहुउद्देश्यीय सोच व्यवहारमा उतार्नका लागि जलाशय सञ्चालनको स्पष्ट नीति आवश्यक हुन्छ।
कुन अवस्थामा कति पानी राख्ने ?
कुन अवस्थामा Reservoir Level घटाउने ?
कति Flood Cushion राख्ने ?
बाढीको चेतावनी आएपछि कस्तो Operation गर्ने ?
तल्लो तटिय क्षेत्रलाई कसरी सूचना दिने ?
यस्ता प्रश्नको उत्तर आयोजनाको Operation Manual मा मात्र होइन, राष्ट्रिय Disaster Management System सँग जोडिनुपर्छ।
अब आयोजनाहरु विकासको सोच बदल्नुपर्छ
नेपालमा ठूला आयोजना निर्माण गर्न हामीले धेरै समय लिएका छौँ। कहिले नीति, कहिले वित्त, कहिले वातावरण, कहिले पुनर्स्थापना, कहिले निर्माण व्यवस्थापन विभिन्न कारणले आयोजना ढिला हुने गरेका छन्।
तर जलवायु परिवर्तन र बढ्दो ऊर्जा मागको अवस्थामा हामीसँग अनन्त समय छैन।
हामीले आयोजना विकासमा तीनवटा कुरालाई सँगसँगै अगाडि बढाउनुपर्छ:
पहिलो Speed : आयोजना समयमा निर्माण हुनुपर्छ।
दोस्रो Safety : गुणस्तर र सुरक्षामा कुनै सम्झौता हुनु हुँदैन।
तेस्रो Sustainability : आयोजना वातावरण, समाज र भविष्यका पुस्ताप्रति जिम्मेवार हुनुपर्छ।
बुढीगण्डकीजस्तो राष्ट्रिय महत्वको आयोजनामा यी तीनवटै कुरा समान रूपमा महत्वपूर्ण छन्।
विकास र प्रकृतिबीच सन्तुलन
ठूलो बाँध निर्माण गर्दा स्थानीय बस्ती, जग्गा, वातावरण र सामाजिक संरचनामा प्रभाव पर्न सक्छ। त्यसलाई नजरअन्दाज गर्न मिल्दैन। आयोजना विकास भनेको केवल Concrete र Steel को संरचना निर्माण गर्नु होइन। आयोजना प्रभावित नागरिकको सम्मान, उचित पुनर्स्थापना, जीविकोपार्जनको पुनःस्थापना र स्थानीय क्षेत्रको दीर्घकालीन विकास पनि आयोजनाको सफलताको हिस्सा हो।
हामीले एउटा कुरा सम्झनुपर्छ: राष्ट्रिय आयोजना नागरिकका लागि हो, नागरिक राष्ट्रिय आयोजनाका लागि मात्र होइनन्।
त्यसैले आयोजना र स्थानीय समुदायबीच विश्वासको सम्बन्ध निर्माण गर्नु आवश्यक छ।
अबको बाटो
मलाई लाग्छ, नेपालले अब निम्न पाँच क्षेत्रमा विशेष ध्यान दिनुपर्छ ।
पहिलो : बुढीगण्डकीजस्ता ठूला Storage Hydropower Projects लाई राष्ट्रिय प्राथमिकताका साथ अघि बढाउनुपर्छ।
दोस्रो : ठूला जलाशय आयोजनालाई National Flood Forecasting and Early-warning System सँग जोड्नुपर्छ।
तेस्रो : बाँध सुरक्षाका लागि अन्तर्राष्ट्रियस्तरको Independent Safety Review, Instrumentation र Emergency Preparedness लाई अनिवार्य बनाउनुपर्छ।
चौथो : हरेक नदी Basin का लागि Integrated Water Resources Management को अवधारणा लागू गर्नुपर्छ।
पाँचौँ : जलविद्युत् आयोजनालाई केवल Megawatt र Financial Return बाट मात्र मूल्यांकन नगरी ऊर्जा सुरक्षा, जल व्यवस्थापन, Climate Resilience र Disaster Risk Reduction को योगदानसमेत मूल्यांकन गर्नुपर्छ।
निष्कर्ष
रसुवा-भोटेकोशी-त्रिशूलीमा आएको बाढीले हामीलाई एउटा कठोर तर महत्वपूर्ण सन्देश दिएको छ : हामीले प्रकृतिको जोखिमलाई बेवास्ता गरेर विकास गर्न सक्दैनौँ । तर यही चुनौतीले हामीलाई नयाँ अवसर पनि दिएको छ।
हामीले अब यस्तो पूर्वाधार निर्माण गर्नुपर्छ जसले आजको आवश्यकता पूरा गर्नुका साथै भोलिको जोखिमसँग पनि सामना गर्न सकोस्।
बुढीगण्डकी १,२०० मेगावाटको आयोजना हो। तर यसको महत्व १,२०० मेगावाटभन्दा धेरै ठूलो छ । यो आयोजना नेपालको ऊर्जा सुरक्षाको आधार बन्न सक्छ। यो आयोजना वर्षायामको पानीलाई हिउँदसम्म व्यवस्थापन गर्ने माध्यम बन्न सक्छ।
उचित डिजाइन, पर्याप्त Flood Cushion, वैज्ञानिक Reservoir Operation र पूर्वानुमान प्रणालीसँग जोडिएको अवस्थामा यसले Downstream Flood Risk Management मा पनि योगदान गर्न सक्छ र सबैभन्दा महत्वपूर्ण कुरा, यसले नेपाललाई नदीको पानीलाई केवल बगिरहेको स्रोतका रूपमा होइन, व्यवस्थित राष्ट्रिय सम्पत्तिका रूपमा हेर्ने नयाँ सोचतर्फ लैजान सक्छ।
हामीले अब प्रश्न केवल नेपालमा कति जलविद्युत् उत्पादन गर्न सकिन्छ ? भनेर सोध्नु हुँदैन। हाम्रो प्रश्न हुनुपर्छ : नेपालको पानीलाई कसरी सुरक्षित, वैज्ञानिक, दिगो र बहुउद्देश्यीय रूपमा व्यवस्थापन गर्ने ?
यसको उत्तरमा बुढीगण्डकीजस्ता ठूला भण्डारणयुक्त आयोजना महत्वपूर्ण छन्।
प्रकृतिसँग प्रतिस्पर्धा गरेर होइन, प्रकृतिलाई बुझेर, जोखिमलाई स्वीकार गरेर र विज्ञान तथा प्रविधिको प्रयोग गरेर आयोजनाहरु विकास गर्नु नै नेपालको बाटो हो।
बुढीगण्डकी त्यही यात्राको एउटा महत्वपूर्ण कदम हो।
(ई. रजौरिया बूढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्।)
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी