त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
गोविन्द शर्मा पोखरेल
भुइँचालो, बाढी, पहिरो, हिमपहिरो, गेग्र्यानसहितको बाढी, भलबाढी, आगलागी तथा जलमग्नता नेपालमा भइरहने प्राकृतिक भौगोलिक प्रक्रिया हुन्। यस्ता प्रक्रिया मानव जीवन र आर्थिक गतिविधिसँग जोडिएर नकारात्मक असर पार्दा मात्र प्राकृतिक प्रकोप वा विपद्को रूप लिन्छन्। त्यसैले प्रकोप प्राकृतिकभन्दा पनि मानव गतिविधिसँग सम्बन्धित अवस्था हो। नेपालको भूगोलमा यस्ता प्राकृतिक प्रक्रिया नियमित रूपमा भइरहन्छन्। सामान्य प्रक्रिया समय-समयमा दोहोरिइरहन्छन् भने भीषण र अत्यन्त भीषण प्रक्रिया केही समयको अन्तरालमा देखिन्छन्। हालै त्रिशूली नदीको जलाधार क्षेत्रमा आएको अभूतपूर्व बाढी यस्तै अत्यन्त भीषण प्रक्रियाको पुनरावृत्ति हो।
भाद्र १०, २०८३ (२६ अगस्ट २०२६) मा ल्हेन्दे खोलाबाट भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीको वास्तविक कारणबारे अध्ययन अनुसन्धान भइरहेका छन्। नेपाल विपद् प्राधिकरण तथा नेपाल भौगर्भिक समाजले आफ्ना प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन्। साथै नेपालका विभिन्न पेसाका पेसाकर्मी, खास गरेर भौगर्भिक, जल तथा जलवायु विधाका पेसाकर्मीहरूले अहिलेसम्म उपलब्ध तथ्य तथा आफ्नो-आफ्नो बुझाइका आधारमा यस प्रक्रियाबारे आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्। यस्तो जटिलतम प्रक्रिया तथा यस्तो अभूतपूर्व प्रकोप घटित हुँदा पेसाकर्मीहरू जुर्मुराउनु र आफ्नो-आफ्नो स्थानबाट प्राविधिक धारणा सार्वजनिक गर्नु स्वाभाविक जस्तो लाग्छ। तर धेरैलाई यसो गरेको मन नपरेको जस्तो पनि देखिन्छ सामाजिक सञ्जालहरूमा। मेरो विचारमा देशमा यस्तो प्रलयकारी प्रकोप घटित हुँदा आफ्नो-आफ्नो स्थानबाट योगदान गर्ने चाहना हुनु सामान्य नै हो। यसै क्रममा मैले पनि मेरो धारणा केही समय अगाडि सार्वजनिक गरेको थिएँ। तर समय बितेसँगै सामाजिक सञ्जालमा तथा माथि उल्लेखित प्रतिवेदनहरूमा आएका तथ्याङ्कहरूले दिएका थप जानकारीसमेतलाई समेटेर यो मेरो दोस्रो विचार सार्वजनिक गर्दैछु।
राष्ट्रिय विपद् प्राधिकरण तथा नेपाल भौगर्भिक समाजले गरेका अध्ययनको मूल उद्देश्य विपद्को स्रोतको अध्ययनभन्दा विपद्बाट हुन गएको क्षतिको आकलन भएको पाएँ। सरकारले अविलम्ब गर्नुपर्ने कार्यहरूको लेखाजोखा गर्न वास्तवमा यस्तो प्रतिवेदन नै ज्यादा उपयोगी हुने मेरो धारणा भए पनि पेसाकर्मी भएकाले मेरो पेसासँग जोडिएका विषयहरूमा समेत यस्ता प्रतिवेदनहरू केन्द्रित हुनुपर्ने मलाई लागेको छ। तर, वास्तविक निष्कर्षसहितका विस्तृत प्राविधिक प्रतिवेदनहरू त आगामी दिनहरूमा आउने नै छन्।
मेरो विचारमा यो प्रकोपको प्रारम्भमा ल्हेन्दे खोला र लाङ्टाङ हिमालको चेपमा रहेको करिब ६०० मिटर चौडा, ७०० मिटर लामो र अन्दाजी २५० मिटर गहिरो बाक्लो बरफले छोपिएको पहाडको टुक्रा चिप्लेर (ल्यान्डस्लाइड भएर स्खलन भएकोलाई मैले नेपाली भाषामा पहिरोभन्दा पनि पहाडको टुक्रा चिप्लेर भन्नुपर्ने जस्तो लागेको) पहिले करिब १२०० मिटर तल ल्हेन्दे खोलामा खस्ने क्रममा घर्षणबाट ऊर्जा स्खलित गर्दै उक्त पिण्डमा भएको ऊर्जाले प्रथमतः यस पिण्डलाई तताउँदै बरफको केही परिमाणलाई पानीमा परिणत गरेको हुनुपर्ने मेरो धारणा छ। किनभने, माथि उल्लेखित परिमाणको पहाडको अंशको आयतन करिब १० करोड ५० लाख घनमिटर हुने र यदि यस पिण्डको स्पेसिफिक ग्राभिटी २.२ (२.७ चट्टानको र बरफको औसत करिब १.५) मान्ने हो भने यस पिण्डको वजन करिब २३ करोड १० लाख मेट्रिक टन हुनेछ। यत्रो वजन भएको पहिरो १२०० मिटर तल (औसत उचाइ १००० मिटर) खस्दा यसबाट करिब २००,००० गिगाजुल ऊर्जा निस्कनुपर्नेमा केवल उक्त ऊर्जा ५.२ म्याग्निच्युडको भूकम्पबाट उत्सर्जन हुने करिब ४,००० गिगाजुल अथवा अनुमानित कुल ऊर्जाको करिब २ प्रतिशत मात्र भएकाले यसबारेमा मेरा निम्न राय भएको सार्वजनिक गर्न चाहन्छु। तर सबैभन्दा पहिले मेरो मनमा भएको स्खलित हिमाल “हिमपहिरो” को परिकल्पना सार्वजनिक गर्न चाहन्छु।
माथि उल्लेखित आयतन तथा वजनको हिमपहिरोको अधिकतम उचाइ ५२०० मिटर, न्यूनतम उचाइ ४५०० मिटर, औसत उचाइ ४८५० मिटर भएको मेरो अनुमान छ। यो स्खलित पर्वतांश आफ्नो साविक स्थानबाट करिब ३८०० मिटरको उचाइमा रहेको ल्हेन्दे खोलासम्म झर्दा स्खलनमार्गको औसत भिरालोपन करिब ४० डिग्री रहेको देखिन्छ। तत्पश्चात् ल्हेन्दे खोलाको उदगम्स्थलदेखि ल्हेन्दे खोला र केरुङ खोलाको सङ्गमसम्म करिब २०-२२ किलोमिटरसम्ममा उक्त स्खलनमार्ग ३८०० मिटरबाट करिब १८०० मिटरमा झरेका आधारमा उक्त स्खलनमार्गको भिरालोपन औसतमा करिब १०० मिटर प्रतिकिलोमिटर रहेको मेरो बुझाइ छ। तत्पश्चात् भोटेकोशी नदीको भिरालोपन निकै कम भएकाले नदीको बेग क्रमशः घट्दै गए पनि झन्डै गल्छी पुग्ने बेलासम्म नदीको बेग खतरामुक्त नभएको प्रकोप क्षेत्रमा भएको विनाशले पुष्टि गरेको छ।
त्यसैले, पहिलो कुरा त के भने यो प्रक्रिया सामाजिक सञ्जालमा भनिएजस्तो तथा माथि उल्लेखित प्रतिवेदनहरूले न्वारान गरेजस्तो “आइस एन्ड रक एभालान्च” होइन, यो पहिरो हो तर यस पहिरोमा बरफको निर्णायक भूमिका रहेको हुनसक्ने हुनाले यसलाई “हिमपहिरो” भन्दा उचित होला। सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा यो पहिरो भएको सफासँग देख्न सकिन्छ। किनभने पहिरोको परिभाषाअनुसार तल र बाहिरपट्टि (डाउनवार्ड एन्ड आउटवार्ड) स्खलन हुने जमिनको टुक्रा पहिरो नै हो। यसको लागि कुनै नयाँ शब्दको चयन आवश्यक छैन। यो कुरा भौगर्भिक समाजले तयार गरेको प्रतिवेदनमा आउनुपर्ने थियो, किन आएन होला? मिडियामा देखिएका भूगर्भ इन्जिनियरहरूको पनि यस विषयमा ठोस राय आएको मैले सुनिनँ। नेपाली “विज्ञहरूको” एउटा झुन्ड त यसको नामकरणको पछि लागेको कुरा सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका थिए। मेरो विचारमा हिमालको अंश भूस्खलनसँग जोडिएको यो प्रक्रियाको प्रमुख विज्ञमा भूगर्भ इन्जिनियर वा भूगर्भशास्त्री वा भूगोलशास्त्री हुनुपर्ने भए पनि यो प्रकोपमा सबैभन्दा ठूलो भूमिका बाढीको भएकाले हाइड्रो-सेडिमेन्टोलोजिस्टको भूमिका कम आँक्न सकिँदैन। यसको उत्पत्ति क्षेत्रमा यो जलवायु परिवर्तनसँग सिधै जोडिएको शुद्ध भौगर्भिक वा भौगोलिक प्रक्रिया हो, त्यसपछि रसुवागढी आइपुग्ने बेलासम्म यो नदीको तटहरू तथा नदीको बगरको स्खलन (स्कावरिङ) भएकाले भौगर्भिक, हाइड्रो-सेडिमेन्टोलोजिकल, सिभिल इन्जिनियरिङ र भौगोलिक प्रक्रिया हो। रसुवागढीदेखि तल्लो क्षेत्रमा यो मुख्यतया जलशास्त्रीय, इन्जिनियरिङ र सामाजिक महत्वको विषय हो। त्यसैले यो एउटा जटिल घटना भएकाले यसको समाधानमा माथि उल्लेखित सबै प्रकारका विज्ञहरूको समान दायित्वसहितको सहभागिता (मल्टीडिसिप्लिनरी एप्रोच) हुन जरुरी छ।
यस प्रकोपको उत्पत्ति क्षेत्रमा माथि उल्लेखित आयतन र वजन भएको भौतिक पिण्डको स्खलन भई तल्लो उचाइमा पुग्दा यस पिण्डको बेग करिब १२० मिटर प्रतिसेकेन्ड वा करिब ४३० किलोमिटर प्रतिघण्टा हुने हुँदा यो भीषण पर्वतीय पिण्ड तस्बिरमा देखिएको जस्तो ओरालो सतहबाट खस्दा नदीको पिँधमा सिधै नखस्ने तर न्युटनको पहिलो सिद्धान्तलाई पछ्याउँदै स्खलन भएको किनाराबाट अर्को किनारातर्फ हुत्तिने र नदीको चौडाइ ज्यादा नभएकाले अर्को किनारामा बजारिएर मात्र ल्हेन्दे खोलाको पिँधमा झर्नुपर्ने हो। मेरो विचारमा ५.२ म्याग्निच्युडको भूकम्पको जस्तो कम्पन यसैका कारण भएको हुनसक्ने मेरो अनुमान छ।
दोस्रो कुरा के भने यो स्खलित हिमालशेष ठाडै तल झर्दा यसको औसत बेग करिब १२० किलोमिटर प्रतिघण्टा हुने भए पनि यसको स्खलित हुने प्रक्रियामा चिप्लिने र ठोकिने समेत हुने हुँदा यस पिण्डको भूइतिरको बेगमा धेरै कमी आउनसक्ने भए पनि सो बेग अनुमान गर्ने कुनै ठोस आधार देखिँदैन। तर, मेरो अघिल्लो आलेखमा अनुमान गरिएझैँ ल्हेन्दे खोलाको प्रस्थान विन्दुमा यस डेब्री फ्लो (?) को बेग करिब २८० किलोमिटर प्रतिघण्टा हुन माथिबाट झरेको हिमालशेषको बेग २८० किलोमिटर प्रतिघण्टाभन्दा केही ज्यादा हुनै पर्ने हुन्छ। यस्तो बेगमा बरफ र केही मात्रामा पानीसहितको चट्टान ल्हेन्दे खोलामा बज्रिंदा केही छोटो समय ल्हेन्दे खोला थुनिने मात्र होइन, केही क्षण ल्हेन्दे खोला उल्टो दिशामा समेत बग्ने देखिन्छ। यसरी ल्हेन्दे खोलाको पिँधमा द्रुत गतिमा बज्रिएको पहाडअंशले ल्हेन्दे खोलाको पिँधलाई गहिरोसम्म खोतल्छ (स्कावर गर्छ)। यसरी खोतलिएको खोलाको पिँधमा रहेको भूमिगत पानी, केही समय ल्हेन्दे खोला थुनिँदा जम्मा भएको पानी तथा पहिरोमा रहेको बरफ र बरफ पग्लेर बनेको पानीसमेतले चिल्लो पदार्थ (लुब्रिकेटिङ झोल) को कार्य गरेकाले ल्हेन्दे खोलामा यो भीषण भौगर्भिक प्रक्रियामा विकसित भएको हुनुपर्दछ।
मेरो विचारमा यो भीषण भूस्खलनका प्रमुख कारणहरूमध्ये निम्नबमोजिमका कारणहरूले यो हिमपहिरो गएको हुनुपर्दछः
१. तस्बिरहरूमा पहिरोको डोबको माथिपट्टि केही पातलो सिरकले छोपेको जस्तो देखिन्छः यो सिरकजस्तो देखिने वस्तु हिमनदीको बरफ हो। यो बरफको तहको (लेयरको) मोटाइ कति होला? यस बरफको माथिल्लो सतहको तापक्रम त जमिनको हावाको तापक्रम जति नै हुनुपर्छ तर त्यो कति थियो होला? यस बरफको भित्री भागको तापक्रम कति थियो होला? उक्त तापक्रममा उक्त बरफको तागत (स्ट्रेन्थ) वा भारवहन क्षमता कति थियो होला?
२. पहिरोको डोब (स्कार)को रङ्ग हेर्दा उक्त डोबको माथिल्लो भाग ताजा (फ्रेस) जस्तो देखिएकाले यो भाग हालसालै विच्छिन्न भएको हुनुपर्दछ र पहिरोको यस भागमा बरफको मात्रा न्यूनतम रहेको भान हुन्छ।
३. सामाजिक सञ्जालमा उपलब्ध तस्बिरहरूले हिमनदीको माथिल्लो भागमा मात्र बरफको सिरक रहेको देखाउँछन्, बरफको सिरकमुनि रहेको बरफ पहिरो गइसकेपछि पग्लेर नदेखिएको पनि हुन सक्छ!
४. तापक्रम बढ्दा बरफ पग्लेर पानी बन्ने तर पानी बन्दा चट्टान (रक-मास)को स्थिरता (स्टाबिलिटी)मा केही असर नपर्ने भएकाले यस कारणबाट पहिरो नगएको अनुमान गरिएको छ।
५. तर यो पहिरोलाई छोपेको बरफको सिटको तापक्रम बढेका कारण बरफको सिट कमजोर हुन गएकोले पहिरोको चट्टानको भारवहन क्षमतामा ह्रास आई अन्यथा सन्तुलन (इक्विलिब्रियम)मा रहेको रक-मास पहिरो गएको हुनुपर्दछ।
६. यस हिसाबले हेर्दा हिमाली हिमनदीको यो अंशको स्थिरता पहिरोको माथिल्लो भागको चट्टान, चट्टानका बीचमा रहेका चिराहरूभित्र रहेको बरफ तथा हिमनदीको माथिल्लो भागमा अवस्थित बरफको तहको संयुक्त भारवहन क्षमताका कारण स्थिर रहेको हुनुपर्दछ। तर, यस स्थानमा हुन गएको तापक्रम वृद्धिका कारण माथिल्लो बरफको तहको भारवहन क्षमतामा आएको ह्रासका कारण नै यो हिमपहिरो गएको देखिन्छ।
७. त्यसैले, तापक्रम बढ्दा हिमनदीको माथिल्लो भागमा रहेको बरफको भारवहन क्षमतामा ह्रास आउनाले यो हिमपहिरो गएको मेरो प्रारम्भिक ठम्याइ छ। र मेरो विचारमा यो प्रक्रिया मैले वर्णन गरेकोभन्दा पनि निकै जटिल हुनसक्छ।
८. जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यस्ता प्रकोपको जोखिम बढ्दै गएकाले यो घटनाले एउटा अर्को गम्भीर प्रश्न पनि उठाएको छ। तापक्रम वृद्धि, हिमनदीमा हुने परिवर्तन र हिमाली भूभागको अस्थिरताले भविष्यमा यस्ता घटना हिमाली क्षेत्रमा पटक-पटक दोहोरिन सक्छन्। त्यसैले नेपालले यसलाई केवल एउटा स्थानीय विपद्का रूपमा होइन, जलवायु परिवर्तनसँग जोडिएका निरन्तर घटिरहने प्रकोपका रूपमा लिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरममा यसलाई उचित तवरले उठाउन आवश्यक छ।
९. नेपाल सरकारले यस गहनतम मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने निधो गरिसकेको छ र यसबारेमा तथ्याङ्कसहित प्रतिवेदन तयार गर्न विशेषज्ञ टोलीको गठन पनि गरिसकेको छ। आशा छ, हामी नेपालीले भर गरेजस्तै प्रतिफल आउने गरी यस कार्यले नेपालीको आलो घाउमा मलम लगाउन सक्नेछ।
जय नेपाल.......
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो