चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
जलसरोकार
रसुवा : चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस पहिलो बाढीको लहरमै पूर्णरूपमा ध्वस्त भएको र पावरहाउसको भित्रबाट तीनवटा शव फेला परेको जानकारी उद्धारमा संलग्न टोलीले दिएको छ। खोजी कार्य भने अझै जारी रहेको टोलीले जनाएको छ।
उद्धार टोलीले भर्खरै आफ्नो WhatsApp Group मा दिएको अपडेटअनुसार पावरहाउसको भित्र तीनवटा शव फेला परेका हुन्। टोलीले पावरहाउस पहिलो बाढीको लहरमै पूर्णरूपमा ध्वस्त भएको उल्लेख गरेको छ।
उद्धार टोलीले ‘सुरक्षित स्थान’ भनिएको भागका भिडियो क्लिप सार्वजनिक गरेको छ। टोलीका अनुसार भिडियोमा देखिएको अवस्थाले पहिलो बाढीको लहरले उक्त स्थान पूर्णरूपमा ध्वस्त बनाएको देखाउँछ।
यसअघि आजै त्रिशूली जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आनन्द ढुंगेलले पावरहाउस क्षेत्रमा बिहान करिब ७ः४५ बजेदेखि साँझ ५ः३० बजेसम्म उत्खनन गरिएको जानकारी दिएका थिए। उनका अनुसार नदीतर्फबाट पहाडतर्फ क्रमशः अघि बढाइएको उत्खननका क्रममा बाहिरबाट बगाएर ल्याइएको सामग्रीका रूपमा प्रसारण टावरका टुक्रा तथा पावरहाउसको स्तम्भको केही भाग भेटिएको थियो।
२० दिनदेखि जारी खोजी
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनामा खोज तथा उद्धारको प्रयास सुरु भएको २० दिन पुगिसकेको छ। बाढीपछि आयोजनाको सुरुङभित्र केही व्यक्ति फसेको आशंकामा नेपाली सेना, भारतीय सेना, आयोजनाका कर्मचारी तथा प्राविधिक टोली निरन्तर उद्धारमा खटिएका छन्।
सुरुङभित्र पानी, लेदो, ठूला ढुंगा तथा विभिन्न धातुजन्य अवरोध भेटिएपछि उद्धार टोलीले भारी उपकरणदेखि हातैले बाटो बनाउनेसम्मका विधि प्रयोग गर्दै आएको छ। पानी निकाल्न पम्प प्रयोग गरिएको छ भने एक्स्काभेटर, ह्विल लोडरलगायतका उपकरणबाट लेदो र ढुंगा हटाउने काम भइरहेको छ।
पछिल्ला दिनमा उद्धार टोलीले सुरुङभित्र क्रमशः अगाडि बढ्दै आएको जानकारी दिँदै आएको थियो। त्रिशूली–३ ‘ए’ मा प्रयोग गरिएको जस्तै वाटर जेट प्रविधिबाट माथिल्लो भागको लेदो पन्छाउँदै टोली करिब १५० मिटरभित्र पुगेको जानकारी प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले दिएका थिए।
उद्धारका क्रममा सुरुङभित्र चिसो हावा बाहिर आएको, पानीको निकासमा सुधार देखिएको तथा विभिन्न स्थानमा लेदो र अवरोध हटाउँदै अगाडि बढिरहेको जानकारीसमेत सार्वजनिक हुँदै आएको थियो। पछिल्लो समय पावरहाउस क्षेत्रमा केन्द्रित भएर उत्खनन अघि बढाइएको थियो।
आजको उत्खननमा प्रसारण टावरका टुक्रा र पावरहाउसको स्तम्भको केही भाग भेटिएपछि टोलीले खोजीलाई थप अगाडि बढाएको थियो। त्यसै क्रममा पावरहाउसको भित्रबाट तीनवटा शव भेटिएको जानकारी आएको हो।
खोजी कार्य अझै जारी रहेकाले पावरहाउस तथा सुरुङभित्र थप के–कति अवस्था छ भन्ने यकिन भइसकेको छैन। उद्धार टोलीले खोजीलाई निरन्तरता दिने जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो
-
राष्ट्र बैंक संशोधन विधेयकको प्रतिवेदन अर्थसमितिबाट सर्वसहमत पारित
-
माथिल्लो त्रिशूली-३ ‘बी’ : पावरहाउस क्षेत्रमा उत्खनन जारी, ट्रान्समिसन टावर र स्तम्भका अवशेष भेटिए