‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
जलसरोकार
काठमाडौं : चिलिमे तथा अन्य जलविद्युत् आयोजनामा भएको विनाशकारी विपत्तिपछि खोज तथा उद्धारमा खटिएका टोलीप्रति प्रोफेसर अर्नोल्ड डिक्सले गहिरो सम्मान व्यक्त गरेका छन्। उनले विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवार, आफन्त, सहकर्मी तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
डिक्सले पछिल्ला कैयौँ हप्तादेखि आफ्नो मन नेपालमा रहेको बताएका छन्। उनले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
उनले जलविद्युत् आयोजना र तिनका सुरुङमा सम्भावित जीवनको खोजीमा दिनरात खटिएका सबैप्रति सम्मान व्यक्त गरेका छन्।
नेपाली उद्धारकर्मी, इन्जिनियर, जलविद्युत् क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी, हेलिकप्टर चालकदल, स्थानीय समुदाय, भारतीय सेना तथा एनडीआरएफका टोली र पर्दापछाडि रहेर सहयोग गर्ने असंख्य व्यक्तिहरूको उनले विशेष प्रशंसा गरेका छन्।
“कतिपयका नाम संसारले जान्यो, धेरैका नाम सायद कहिल्यै थाहा पाउने छैन,” डिक्सले चिलिमे उद्धारकर्मीहरुको ह्ववाट्स्याप ग्रुपमा आज भनेका छन्, “तर उहाँहरूले गरेको प्रयासको मूल्य नामले होइन, मानवताले निर्धारण गर्छ।”
उनका अनुसार विपत्तिपछि बाटो र पुलहरू बगेका थिए। पहुँच अत्यन्त कठिन थियो र जोखिम पनि ठूलो थियो। समय बित्दै जाँदा आशा कायम राख्न झन् कठिन हुँदै गएको थियो। तर खोजी रोकिएन।
डिक्सले यसको कारण पनि उल्लेख गरेका छन्—
“किनकि सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो।”
त्यही सम्भावनाका लागि उद्धारकर्मी अघि बढिरहनु मानवताको गहिरो गरिमा भएको उनले बताएका छन्।
डिक्सले ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवार र प्रियजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
त्यस्तै, खोजी, उद्धार तथा सहयोगमा खटिएका प्रत्येक व्यक्तिप्रति उनले धन्यवाद र सम्मान व्यक्त गरेका छन्। सुरुङभित्र प्रवेश गर्ने, खन्ने, ड्रिल गर्ने, पानी निकाल्ने, उडान भर्ने, प्राविधिक सल्लाह दिने, सामान बोक्ने तथा अन्तिम सम्भावनासम्म हार नमान्ने सबैको उनले स्मरण गरेका छन्।
“तपाईंहरूमध्ये केहीलाई भेट्ने सौभाग्य मैले पाएँ। धेरैलाई म कहिल्यै चिन्न सक्दिनँ,” डिक्सले भनेका छन्, “तर तपाईंहरूले के गर्नुभयो, मैले देखेँ।”
उनका अनुसार उद्धारमा खटिएका सबैले प्रत्येक मानव जीवनको मूल्यलाई सम्मान गरेका छन्।
“म दिवंगतहरूलाई बिर्सने छैन। म उहाँहरूको खोजीमा खटिनेहरूलाई पनि बिर्सने छैन,” डिक्सले भनेका छन्।
उनले आफ्नो सन्देशको अन्त्य गर्दै लेखेका छन्— “धेरै मानिसहरू। एउटै संसार।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी