जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

स्रोत अभावका कारण सिँचाई आयोजनाले गति लिएन

जलसरोकार
सोमबार, माघ ०८, २०८० | १७:०७:०० बजे

 

काठमाडौं– बाँके जिल्लाको सिँचाइलाई लक्षित गरी अगाडि सारिएको सिँक्टा सिँचाई आयोजनामा बजेट अभाव भएको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिन सिँचाईका लागि अगाडि सारिएको आयोजनामा बजेट अभाव हुँदा निर्माण कार्यले गति लिन सकेको छैन । सरकारले पर्याप्त बजेट नदिँदा आयोजनाको काम द्रुत गतिमा गर्न नसकिएको सिँक्टा सिँचाइ आयोजनाका प्रमुख देवराज निरौलाको भनाइ छ ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) को अनुगमनका क्रममा निरौलाले पर्याप्त बजेट नहुँदा सिँक्टा सिँचाई आयोजनाले गति लिन नसकेको जनाए । ‘वित्तीय स्रोतको संकुचनका कारण आयोजनाको प्रगति उत्साहवद्र्धक छैन्,’ उनले भने, स्रोतको अभाव नभए आयोजनाले गति लिन्छ ।’ आयोजनाको वित्तीय प्रगति ४० प्रतिशत रहेको र मुआब्जाका निम्ति स्रोतको व्यवस्था आवश्यक रहेको निरौलाले जानकारी दिए ।
सिक्टा सिँचाइ आयोजनामा पूर्वी र पश्चिमी नहरमा समानान्तर रूपमा काम भइरहेको, आयोजनाको अवधि लम्बिँदा वित्तीय दायित्व थपिँदै गएको निरौलाले बताए ‘निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी क्यालेन्डर बनाएर काम गर्ने तयारीमा छौं’ उनले भने ।

आयोजनाको उपलब्धितर्फ पुलसहितको ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको, ४५.२५ किमी लामो पश्चिम मूल नहर सम्पन्न भएको, पूर्वी मूल नहरको चैनेज ३७.६७५ सम्म नहर निर्माण कार्य सम्पन्न भएको, पश्चिमतर्फका शाखाहरूको करिब ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताउँदै निरौलाले आगामी दिनमा आयोजना निर्माणको गति बढाइने बताए

‘वार्षिक बजेटको ठीक ढंगले प्राथमिकीकरण हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्वपूर्ण आयोजनाहरू नराम्रोसँग प्रभावित भएका छन्,’ आयोजनाको अनुगमन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘पर्याप्त बजेटको व्यवस्था नहुँदा एकातर्फ गुणस्तरीय काम नहुने र अर्कोतर्फ भौतिक तथा वित्तीय प्रगति सन्तोषजनक नहुने अवस्था छ । यसले आयोजनाको समय लम्बिँदै जाने र लागत पनि बढ्दै जाने अवस्था छ । यसपटक यो बेथितिको अन्त्य गर्नैपर्छ ।’

अनुगमनमा प्रधानमन्त्रीले नीतिगत समस्या र बजेटको अभावलाई सरकारले सम्बोधन गर्ने बताउँदै फिल्डमा परिणाममुखी काम गर्न आयोजना प्रमुखहरूलाई निर्देशित गरे । ‘नीतिगत गाँठो र बजेटको समस्या हामी फुकाउँछौँ । फिल्डमा तपाईँहरू काम गर्नुस् । पटकपटक आयोजनाको म्याद थप्ने र थप दायित्व सिर्जना गर्ने काम नगर्नुस् । यो कुरालाई गम्भीरतापूर्वक लिएर काम गर्नुहोला’ प्रधानमन्त्रीले भने ।

अनुगमनका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थतन्त्रमा सुधार आएका कारण निर्माण व्यवसायीहरूको भुक्तानीमा सहजता आएको बताउँदै अब आयोजनाहरूको भौतिक एवं वित्तीय प्रगतिले गति लिने बताए ।

प्रकाशित मिति : सोमबार, माघ ०८, २०८० | १७:०७:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया