पछिल्लो समय नेपाल ऊर्जामय भएको छ । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो र वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा समेत धेरै ऊर्जा क्षेत्रका आयोजना समावेश हुँदा नेपालमा लगानीको ठूलो क्षेत्र नै जलविद्युते देखिएको छ । हाइड्रो एक्स्पो तथा लगानी सम्मेलनले नेपालको ऊर्जामा लगानीको वातावरण बनाउँछ त भन्ने प्रश्न स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीलाई सोध्यौं । जलसरोकारको प्रश्नमा डाँगीको जवाफ थियो ‘वन मन्त्रालयको रवैया र सरकारले ऐन सुधार नगरेसम्म यस्ता सम्मेलनले केही हुँदैन ।’ हेरौं डाँगीसँगको अन्तरवार्ताको सम्पादित अंशः
सरकारले लगानी सम्मेलन गर्दैछ । सम्मेलनअघि तपाईंहरुले हिमालय हाइड्रो एक्स्पो गर्दै हुनुहुन्छ । यो एक्स्पोको उद्देश्य के हो ?
हामी नेपाललाई समृद्ध बनाउने विश्वासका साथ लागेका छौं । हामीले लगानी सम्मेलनको पूर्वसन्ध्यामा हाइड्रो एक्स्पो गर्नुको मुख्य उद्देश्य लगानी सम्मेलनलाई पनि सहयोग पुगोस् भन्ने हो । सरकारी तहबाट गर्नुपर्ने काम पनि हामी गैरसरकारी संस्थाबाट गर्दैैछौं । अर्को कुरा भनेको हाम्रोमा १२/१५ वटा देश सहभागी हुँदैछन् । १० वटा देशको स्टल नै रहेको छ । त्यससँगै लगानीकर्ता पनि आउने भएकाले लगानी सम्मेलनमा आउनेलाई पनि हामीले समेट्न खोजेका हौं । लगानी सम्मेलनअघि गर्दा यसले दुवै सम्मेलनलाई फाइदा पुग्छ । हाइड्रो एक्स्पोको यो चौथो संस्करण हो । यसअघि ३ वटा संस्करसण गरिसकेका छौं । जलविद्युत् निर्माण हुन १२ /१३ वटा कम्पोनेन्ट, सिभिल, हाइड्रो मेकानिकल, कन्सल्टेन्ट लगायतका क्षेत्रका मानिसहरु समावेश हुन्छन् । साथै जलविद्युतलाई चाहिने प्रडक्टसँग सम्बद्ध कम्पनी वा व्यक्ति पनि एकै ठाउँमा भेला हुने र एक अर्काको विजनेश प्रमोट पनि गर्ने कार्य हुन्छ । साथै यो टेक्निकल लाइन भएको हुँदा प्रविधि हस्तान्तरण पनि हुन्छ । यसमा सातवाट सेसन सञ्चालन हुन्छ । एक्स्पोमा नेपालका ऐन काननु, लगानीको समस्या लगायतका विषयमा छलफल हुन्छ । हाल नेपालमा ६० लाख डिम्याट अकाउण्ट रहेको छ । त्यसमध्ये करिब ४० लाख डिम्याटमा थोरै धेरै सेयर रहेको छ । उनीहरुलाई पनि जलविद्युत् कसरी बन्छ यसको बारेमा जानकारी दिने उद्देश्य हाइड्रो एक्स्पोको रहेको छ ।
यसअघि भएका तीनवटा संस्करणको अनुभव के रह्यो ?
हाम्रो इतिहास भनेको ५ सय किलोवाटबाट सुरु भएको यात्रा हो । आज हामी ३ हजार मेगावाटमा पुगेका छौं । यो विस्तारै यसैगरी नै बढिरहेको छ । सुरुको हाइड्रो एक्स्पो सफलतापूर्वक सम्पन्न गर्न गाह्रो भएको थियो । त्यसबेला एक्स्पो त्यति लाभदायक भएको पनि थिएन । पछिल्लो समय देश त जलविद्युतमय भएको छ । ऊर्जामय भएको छ । यसले स्वभाविक रुपमा देशमा यस्ता कार्यक्रम सफल हुँदै गएका छन् । पहिलोभन्दा दोस्रो अलि लाभदायक भएको छ । दोस्रोभन्दा तेस्रो झन सफल भएको छ । यसकारण अब चौथो अझै लाभदायक हुन्छ ।
यसलाई पावर समिट जस्तै भन्न सकिन्छ ?
होइन पावर समिटको उद्देश्य बेग्लै छ, यसको बेग्लै छ । यसको उद्देश्य के भयो भने जलविद्युतमा प्रयोग हुने सामाग्रीहरु संसारभरि नै प्रयोग हुन्छ । विशेष गरी हाल चिनियाँ सामाग्रीहरु कम आइरहेको छ । विशेष गरी चिनियाँ सामाग्रीसँग प्रतिस्पर्धा गर्नको लागि भारतमा धेरै युरोपियन देशहरुले फ्याक्ट्री खोलिसकेका छन् । भारतमा मजदुर लागत सस्तो पर्ने भएका कारण धेरैले त्यहाँ फ्याक्ट्रो खोलेका छन् । त्यसकारण नेपालको हाइड्रो एक्स्पोमा पनि यी कम्पनीहरुको सहभागिता हुनेछ । पछिल्लो तथ्यांकअनुसार पनि १०० भन्दा धेरै स्टल बुकिङ भइसकेको छ । अर्को कुरा भारतको पेभेलियन नै छ । त्यो स्वभाविक हो । किनभने हाम्रो बजार पनि भारत नै हो । यसमा आफ्ना सामान बेच्ने–बेच्नेबीच पनि भेटघाट छलफल अन्तरंग लगायतका धेरै कुरा हुन्छ । जलविद्युत् कम्पनीहरुले एकैठाउँमा सबै कुरा बुझ्न पाउने भएकाले पनि यो पावर समिटभन्दा फरक हो । जलविद्युत कम्पनी र जलविद्युत् सामाग्री उत्पादकहरुलाई ‘वान डोर सर्भिस’ हुने भयो । समग्र लगानीकर्तालाई पनि यसले समेट्ने भयो ।
एक्स्पोमा लगानीकर्ता कति आउने भएका छन् ?
यसमा लगानी आउनेका लागि ‘वान अन वान’, ‘बी टू बी’ लगायतका छलफलहरु त छन् । एउटै सम्मेलनले सबै लगानीकर्ता आउने त होइन । सरकारले पनि कति लगानी सम्मेलन गर्यो, सबै लगानीकर्ता आएका छैनन् । लगानीकर्ताले नाफा के छ लगायतका अध्ययन गर्न जरुरी छ । एउटा सम्मेलन गरेर लगानी थुप्रिने होइन । तर पनि आशा हुन्छ र लगानी पनि सुरु हुन्छ । मुख्य कुरा लगानीकर्ता र निर्माण कर्ताको भेटघाट हो ।
यसले विजेशन प्रर्वद्धन गर्ने र लगानीको वातावरण बनाउने त भयो नै । यो सम्मेलनमा भएका विभिन्न सत्रमा बोलिएका र ऊजागर गरेका समस्यालाई सरकारले सम्बोधन गर्नेमा कत्तिको आशावादी देखिनुहुन्छ ?
पछिल्लो समय सरकारको काम कारवाही हेर्दा आशा गर्ने अवस्था बनेको छ । सरकारले पनि २८ हजार ५ सय मेगावाटको लक्ष्य राखेर अगाडि बढेको छ । सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्नको लागि २०४९ ऐन र २०५० सालमा नीति नआएको भए हामी नै हुँदैन थियौं । सरकारलाई सम्बोधन गराउन हामीले लबिइङ गर्नुपर्छ । त्यसको लागि नै इप्पान स्थापना भएको हो । हामीले लबिइङ पनि गरिराखेका छौं । त्यहाँ छलफल गरी निचोड निकालेर सरकार समक्ष पेश गछौं । सरकारले जुन उद्देश्यका साथ १२ वर्षमा २८ हजार ५ सय मेगावाट बनाउने, १३ हजार ५ सय खपत गर्ने, पाँच हजार मेगावाट बंगलादेशलाई बिक्री गर्ने र १० हजार भारतलाई बिक्री गर्र्ने कुरा छ, त्यो उद्देश्य हासिल गर्ने वातावरण बनाउनुपर्छ । त्यही वातावरण बनाउनको लागि हामी यसको निचोड लिएर सरकारसँग पहल गर्छौं ।
यसअघि वन मन्त्री समेत भइसकेका ऊर्जा मन्त्री छन् । उहाँलाई त वनको समस्या थाहा होला नि । उहाँको सक्रियता कत्तिको देख्नुहुन्छ?
मन्त्री भएर मन्त्रीले काम गर्न नसकेको उदाहरण पनि धेरै आएको छ नि । स्थायी सरकार अर्थात त्यहाँका कर्मचारीले हलचल गर्न दिँदैनन् ।
कर्मचारीलाई त ऐन कानुनले बाधेको छ नि होइन र ? ऐन कानुन कर्मचारीले परिवर्तन गर्ने होइन सरकारले नै हो ।
ऐन–कानुन कर्मचारीले परिवर्तन गर्ने होइन तर त्यो भित्र पनि के छ भने यहाँ एउटा उदाहरण दिन मन लाग्यो । पूर्व ऊर्जा सचिव दिनेश घिमिरेले जलसरोकारकै एउटा कार्यक्रममा उहाँले ऊर्जाबाट जुन विधेयक गएको थियो त्यो लेबलको विधेयक थिएन भनेर उहाँको प्रस्तुतिले नै देखाउँछ नि । विधेयक ड्राप्ट गर्दा गल्ती भएको रे छ भन्ने उहाँले सार्वजनिक रुपमा स्वीकार गर्नुभएको छ नि । यसको मतलब मन्त्रालयले मात्रै गरेर नहुने रहेछ । त्यहाँबाट क्याबिनेट, समिति आदिमा गएपछि कसको स्वार्थ कहाँ घुसाउनु छ त्यो घुस्छ । त्यसमा सबैभन्दा बढी वन मन्त्रालयको स्वार्थ घुसेको छ । विश्वमा कार्वन उत्सर्जन विकसित देशहरुले गरिसके । अहिले पनि जीवाष्म इन्धन चलाइरहेका छन् । त्यसको जिम्मा हामीले लिनुपर्ने । हाम्रो वन ४७ प्रतिशत पुगिसक्यो । अब कति पुर्याउनु पर्ने हो ? गाउँबाट मान्छे सबै विस्थापित हुनुपर्ने हो र ? यसकारण यो कतैबाट लादिएको छ । यसकारण सरकारले चाहेर पनि नहुने रहेछ ।
वनको सम्बन्धमा तपाईंहरुले वर्षौदेखि कुरा उठाउँदै आउनुभएको छ । तपाईंहरुले संस्थागत हिसावले कुरा उठाउनु भएन ? राजनीतिक दल र नेताहरुलाई भन्नुभएन ?
हामीले त्यो पनि गर्यौं । तर यसमा हालसम्म कुनै सुनुवाई भएन । अरुण तेस्रा त्यो बेला बनेको भए हाम्रो देश निकै विकास हुन्थ्यो जस्तो लाग्छ मलाई । हाम्रो यसमा बढी राष्ट्रवादले पनि कति काम गरेको होला । अहिले पनि हामी हरेक पार्टीको नेतृत्वमा पुगेका छौं । इप्पान अध्यक्ष गणेश कार्कीको नेतृत्वमा हामी हरेक पार्टीका नेताहरुलाई भेट्न गएका छौं । तर उहाँहरुको हेराइ के छ भने यिनीहरुको पछाडि ४७ लाख मान्छेहरुको लगानी छ भन्ने छैन । हामीले पैसा कमाउँछौ त्यससमा कर पनि तिरेका छौं त । यसले सरकारले पनि पैसा कमाइरहेको छ । सीमित समयपछि सरकारकै आयोजना हुने भएका कारण यो सरकारकै मातहतमा आउने हुँदा यिनीहरुले सरकारकै काम गरेका छन् भन्दिए हुन्छ नि त । यहाँ त काम गरेर खायो भने माफिया भइहाल्छ ।
नयाँ विधेयक दर्ता भएपछि तपाईंहरु विद्युत ऐन २०४९ लाई परिमार्जन गरौं भन्नुभएको छ नि ?
अहिले ऐन परिवर्तन गर्न जरुरी भयो । किनभने मुलुक संघीयतमा गयो । संघीय सरकारअनुसारको अधिकार चाहियो । अर्को भनेको विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि खुला गर्नुपर्यो । भारतमा ४९ प्रतिशत निजी क्षेत्र छ । बंगलादेशमा ४४ प्रतिशत निजी क्षेत्र छ । हाम्रो व्यापार गर्ने ठाउँ त्यही हो । यहाँको निजी क्षेत्र र त्यहाँको निजी क्षेत्र मिलेर व्यापार गर भन्दा के हुन्छ ? भारतले भन्दा हुने बंगलादेले भन्दा हुने नेपालमा भन्दा नहुने ? यी दुई वटा कुरा २०४९ को ऐनमा थपेर ल्याउँदा हुन्छ । संघीयता अनुसार कसको हक अधिकार कति हुने र विद्युत् व्यापार निजी क्षेत्रलाई पनि दिने भन्ने दुई वटा बुँदा थपेर ल्याउँदा हुन्छ । पहिलाको ऐनको दफा ३५ मा व्यापार शब्द थपिदिए हुन्छ ।
तपाईंहरुले विद्युत् व्यापार गर्नको लागि कम्पनी खोलेर बस्नु भएको छ सरकारले दिएको छैन कारण के होला ?
कारण सरकार उदार नभएको हो । मलाई अचम्म लागेको र मैले नबुझेको हो कि । म म्यानेजमेन्टको विद्यार्थी भएकाले नबुझेको हो कि । नेपाल विद्युत् प्राधिकरणको कानुन एउटा र निजी क्षेलाई लगाउने कानुन अर्को हुन्छ ? त्यही कानुन अन्र्तगत प्राधिकरणले लाइसेन्स पाउने, निजीले नपाउने ? पब्लिक कम्पनी पनि सरकारकै हो नि । पछि हस्तान्तरण हुन्छ । त्यही ऐन टेकेर प्राधिकरणले लाइसेन्स पाउने निजीले नपाउने ? अग्राधिकार त नेपेक्सको पनि छ त ।
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ
भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
कुलमानको रीट हेर्दाहेर्दैमा, ‘मन्त्रिपरिषद्लाई बर्खास्त गर्ने अधिकार छैन’
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी : अर्थमन्त्री पौडेल