एमालेले ऊर्जा मन्त्रालय पाएको बेला एउटा बुद्धत्व प्राप्त गर्यो— अब सरकारले नै जलविद्युत् निर्माण कम्पनी गठन गर्ने । वर्षको झन्डै ८० अर्ब रुपैयाँको कारोबार गर्ने, दुई दर्जनभन्दा बढी आयोजनाको लाइसेन्स लिएर अध्ययन गरिरहेको नेपाल विद्युत् प्राधिकरण छँदाछँदै २०७२ सालमा भीयूसीएल गठन भयो । अर्थात् विद्युत् उत्पादन कम्पनी । यो कम्पनी गठन गर्दा एमालेबाट ऊर्जा मन्त्री थिइन् राधा ज्ञवाली । उनका हरेक निर्णय केपी ओली निर्देशित हुन्थे । त्यो भीयूसीएललाई ऊर्जा क्षेत्रका मान्छेहरु ‘भीउसीने’ भन्छन् । यो कम्पनी गठन गर्नुको एमालेको उद्देश्य थियो, नेपाल सरकार वा नेपाल राज्यको थिएन । एमालेहरुको उद्देश्य दुईवटा थिए । पहिलो, यो कम्पनी मार्फत लाइसेन्स हत्याएका जलविद्युत् आयोजनाहरु विदेशीलाई दिनु र कम्पनीमो सीयो (सीइओ), धागोहरुमा आफ्ना कार्यकर्ता भर्ती गर्नु । कम्पनी गठन भएर लाइसेन्स प्राप्त गर्ने र कार्यकर्ता भर्ती गर्ने बेलामा ऊर्जा मन्त्रालयमा माओवादीको रजगज भयो । एमाले हेरेको हेर्यै भयो । केही समयका लागि दोस्रोपटक ऊर्जा मन्त्री भएका एमाले रुपी माओवादी टोपबहादुर रायमाझीले पनि केही गर्न सकेनन् ।
एमालेको यो सोचलाई नौ–नौपटक ऊर्जा मन्त्री पाएको माओवादीले कांग्रेससँग मिलेर साकार गरिदियो । कार्यकर्तालाई सीइओ बनाउने, कार्यकर्ता भर्ती गर्नेमा मात्र यो कम्पनी गठनको उद्देश्य थिएन । मुख्य दाउ लाइसेन्स बेच्ने थियो । त्यही भएर शेरबहादुर देउवा प्रधानमन्त्री भएका बखत भीउसीएलले फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीलाई दियो । हिजो नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल (एनसीसीएन) नामक सरकारी कम्पनी थियो । यो कम्पनीले सरकारी ठेक्का विना प्रतिस्पर्धा पाउँथ्यो । अनि एनसीसीएनले चाहिं जसले बढी कमीसन र घूस दिन सक्थ्यो त्यसका आधारमा प्रतिस्पर्धा गराएर ठेकेदारलाई दिन्थ्यो । अन्ततः बहुदलपछि यो कम्पनी यी राजनीतिक दलका नेताहरुले ध्वस्त मात्र पारेनन्, धेरै नवधनाढ्यलाई जन्माए । कतिपय मिडियाका मालिक पनि यही एनसीसीएनबाटै धनी भए ।
ठीक त्यसै एनसीसीएनको शैलीमा एमालेको गजबको सोचका साथ भीउसीएल जन्माइयो । अनि यसको अध्यक्ष ऊर्जा सचिव हुने । लाइसेन्स दिने पनि ऊर्जा सचिव नै हुने । सरकारबाट लाइसेन्स लियो अनि विदेशीलाई बेच्यो । अनि यसरी किनबेच हुँदा त्यसको एजेन्ट प्रधानमन्त्रीका नाता हुने । यसरी संगठित, व्यवस्थित रुपमा आकर्षक आयोजनाहरु विदेशीको हातमा पार्ने उद्देश्यले गठन गरेको भीउसीएलसित न आयोजना बनाउने पैसा छ, न अनुभव नै । अहिले भारतलाई कन्यादन गरेकोसहित भीउसीएलले किमाथान्का अरुण (४५४ मेगावाट), मुकु कर्णली (१९०२ मेगावाट), जगदुल्ला (१०६ मेगावाट) र नलगाड स्टोरेज (४१७ मेगावाट) आयोजनाहरु लिएर ओथारो बसेको छ । यी आगामी दिनमा तत्कालीन एनसीसीएनले जसरी बिना प्रतिस्प्र्धा निजी क्षेत्रलाई सडकका ठेक्का दिन्थ्यो, त्यही शैलीमा विदेशीलाई दिइँदै जाने लक्षण फुकोट कर्णालीले देखाइसकेको छ ।
जलविद्युतको क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण एउटा विश्वविद्यालय नै हो । सरकारले न प्राधिकरणको समानान्तर संस्था गठन गर्न सक्छ, न प्राधिकरणको विकल्पमा निजी क्षेत्र आउन सक्छ । तर नेपालका राजनीतिक दलका मान्छेहरुको नियत भने प्राधिकरण र निजी क्षेत्र दुबैलाई सिध्याउने छ । प्राधिकरणबाट बूढीगण्डकी खोसेर दसतिर नचाए । प्राधिकरणसँगै रहेको भए विदेशी लगानी आउँथ्यो । यसरी नचाउनुको मुख्य ध्येय थियो आफ्ना कार्यकर्तालाई जागिर खुवाउने । भीउसीएलमा पनि कार्यकर्ताहरुले जागिर खाइरहेका छन् । कम्पनी गठन नै गरिसकेपछि नेपाल सरकारका सहसचिवहरुलाई सीइओ बनाउनु नि । कार्यकर्ता पोस्ने र सरकारी आयोजना बेचबिखन गर्ने दुई प्रमुख उद्देश्यका साथ यस्ता संस्था गठन भएर जनताले तिरेको करको दुरुपयोग मात्र भइरहेको छ ।
एमालेको त्यो सोचमा मोज भने माओवादीले निकै गर्यो । गठबन्धन भएकाले कांग्रेसको भागमा पनि प्रधानमन्त्री भएका बखत फुकोट कर्णालीको कन्यादान गरियो । एजेन्टले प्रस्ताव ल्याउने । प्रधानमन्त्रीले निर्देशन दिने । बेचबिखन हुने । एमओयू भएको देखाउने । कमीसन चाहिं प्रधानमन्त्रीकै नातेदाररुपी एजेन्टले हात पार्ने ।
यो सन्दर्भ यहाँ किन उल्लेख गरिएको हो भने सरकारले अहिले ल्याएको विद्युत् विधेयक यही प्रयोजनका लागि ल्याएकोमा नगरे हुन्छ आशंका । निजी क्षेत्रका करिब २० हजार लाइसेन्स खोसेर यस्तै भीउसीएललाई दिने । विधेयकमा सरकारी कम्पनीलाई लाइसेन्स दिन प्रतिस्पर्धा गर्नु नपर्ने प्रावधान यस्तै भीउसीएल र विदेशी कम्पनीका लागि हो । नेपालीलाई भने लाइसेन्स लिन प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान राखिएको छ । अनि तोकिएको अवधिभित्र विद्युत् खरिद सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापन गर्न नसकेमा लाइसेन्स खारेज हुने प्रावधान राखिएको छ । सरकार आफैले पीपीए गर्दैन । अनि तेरो लाइसेन्स खारेजीमा पर्यो भन्दै धमाधम विदेशीलाई वा नेताका एजेन्टलाई दिने ध्येय विधेयकमा देखिन्छ ।
निजी क्षेत्रको कत्रो रीस ?
अहिले करिब २९ सय मेगावाटमा ६५ प्रतिशत बिजुली निजी क्षेत्रको छ । ३४ सय मेगावाट निर्माणाधीन छन् भने अर्काे ३६ सय मेगावाट पीपीए भएर निर्माणका विभिन्न चरणमा छन् । १२ हजार मेगावाट पीपीएका लागि निवेदन दिएर बसेका छन् । २०७५ सालदेखि पीपीए खुलेको छैन । बीचमा १५ सय मेगावाट खुल्यो । यी सबै गरेर नेपालको निजी क्षेत्रले करिब २० हजार मेगावाटका लाइसेन्स लिएर विभिन्न चरणमा पुर्याएका छन् । कसैको अध्ययन भइरहेका छन् । कुनै अध्ययनमै छन् । कोही सरकारी स्वीकृतिका प्रक्रियामा छन् । एकै शब्दमा भन्ने हो भने हालसम्म नेपालको जलविद्युत्मा १३ खर्र्ब रुपैयाँ लगानी भइसकेको छ ।
सरकारले लगानी गर्न नसक्ने गरी थला परेको छ । सात खर्ब रुपैयाँ सार्वजनिक ऋण थियो, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा । उनी प्रधानमन्त्रीबाट निस्कँदा त्यो ऋण १९ खर्ब रुपैयाँ पुग्यो । बूढीगण्डकी, तमोर जस्ता राष्ट्रलाई अति खाँचो परेका जलाशयुक्त आयोजना बनाउनेतिर ओलीको ध्यान गएन । न त उनका मन्त्रीहरुकै गए । ओलीको साढे तीन वर्षको शासनकालभरि देश भ्यूटावरमय भए । उनले आफ्नो गृह जिल्ला झापा मात्रै ४ अर्ब रुपैयाँको भ्यू टावर ठड्याए । ओलीको सिको अरु प्रदेश र स्थानीय सरकारले पनि सिके ।
पहिलेको जस्तो सानातिना आयोजनालाई पनि विदेशी ऋण र अनुदान आउने जमाना गइसकेको छ । सानामा मात्र होइन, ठूला आयोजनामा पनि विदेशी ऋण लिन हम्मे छ । २०५२ सालमा अरुण तेस्रोबाट बिच्केको विश्व बैंक शंकरप्रसाद कोइराला जलस्रोत सचिव हुँदा (२०६५) आउँछु भन्यो । त्यतिबेला उसले माथिल्लो अरुणमा चासो देखाएको थियो । अहिले पनि माथिल्लो अरुणमा विश्व बैंक आउने ‘कुरा भइरहेको’ छ । आइसकेको छैन । कालीगण्डकीपछि एसियाली विकास बैंक नेपालको जलविद्युत्मा आएको छैन । दूधकोशीमा आउने ‘कुरा भइरहेको’ छ । तर उसका शर्तहरु यति जटिल छन् कि ‘बरु तेरो पैसो चाहिंदैन, हामी आयोजना बनाउँदैनौं’ भन्नुपर्ने स्थिति छ । जलविद्युत्मा विदेशी अनुदान पाउने जमाना गयो । ऋणै पाउन मुश्किल भइसकेको छ । भ्रष्टाचारको ग्राफ बढेका कारण । एउटा आयोजनामा बहुपक्षीय वा द्विपक्षीय ऋण लिने वर्षाैं लाग्छ । विश्व बैंक र एडीबीका ऋणले अब आयोजना बनाउन सुरु गरेर त्यसबाट बिजुली उत्पादन गर्ने बेलासम्म नेपालका कतिपय नेताहरुले पिण्डो खाइसकेको हुनेछन् ।
विदेशी लगानी नेपालमा आउँदैन । खिम्ती र भोटेकोसी अनि चीनले बनाएको मस्र्याङ्दीको जस्तो पीपीए पाए नेपालमा अहिले पनि वैदेशिक लगानी आउँछन् । अन्य सामान्य अवस्थामा आउँदैनन् । आउन नदिने गरी नीति नियमहरु बनाइएको छ । अनि लगानी भित्र्याउन घूस खुवाउनुपर्छ । सरकारी कर्मचारीहरु बाटोबाटोमा तगारा लिएर बसेका छन् । वन मन्त्रालयले भनेबमोजिम हाम्रा सांसदहरुले ऐन कानुन बनाइ दिएका छन् । वनभित्र कोही छिर्नै पाउँदैन । ७५ रोपनीको हदबन्दी भूमिसुधार मन्त्रालयले लगाइदिएको छ । अर्थात् हरेक मन्त्रालय आफ्नो क्षेत्राधिकारभित्र ‘राजा’ ।
सरकारले उठाएको राजस्वले यिनका तलब भत्ता खान पुग्दैन । विकास निर्माणमा सिन्को भाँचिदैन । तर संघीयता धान्न हरेक वर्ष ३ खर्ब रुपैयाँ ऋण लिएर तलब भत्ता खुवाउनु परेको छ । यसपालि त नेता, मन्त्री, कर्मचारीका तलब पनि खुवाउन नपुग्ने राजस्व उठेको छ । अनि सरकारले कुन पैसाले विकास निर्माण गर्छ । त्यसकारण संघीयता दिन प्रतिदिन घाँडो भइरहेको छ ।
सरकारसँग पैसो छैन । विदेशी ऋण आउँदैन । विदेशी लगानीकर्ता पनि आउँदैनन् । जलविद्युत् आयोजना निजी क्षेत्रले नबनाई सुखै छैन । तर सरकार, राजनीतिक दलका नेताहरुको रीस यही निजी क्षेत्रमाथि ज्यादा देखिन्छ । हरेक ऊर्जा मन्त्री कसरी हुन्छ निजी क्षेत्रको घाँटी ङ्याँक्न सकिन्छ भनेर कार्यविधि, नियमावली, नीति ल्याउँछन् । अब सिंगो विद्युत् विधेयक ल्याएर निजी क्षेत्रलाई समाप्त पारिंदैछ ।
यो निजी क्षेत्र नहुने हो भने यतिखेर हिउँदयाममा लोडसेडिङ नगरी सुखै हुने थिएन । किनभने अहिले पनि भारतले चाहेजति बिजुली दिइरहेको छैन— विशेष गरी विहार र उत्तर प्रदेशबाट । नेपाललाई दिएर पाउने दरभन्दा उसको आन्तरिक दर नै बढी पाएका कारण नेपाललाई बिजुली नदिएको हो । हिजो लोडसेडिङका बेला अथवा लोडसेडिङ न्यूनीकरण कार्ययोजना, २०७२ नै लागू गराएर सरकारले निजी क्षेत्रको पाउ नै परेको थियो— विभिन्न सहुलियत दिएर । अहिले १२ हजार मेगावाटले पीपीएका लागि निवेदन दिएर बसेका छन् । सरकारले २०७५ सालदेखि पीपीए खुलाएको छैन ।
खिम्तीको घाटा १७५.३९ प्रतिशतले बढ्यो, घाटा रकम ११ करोड ३९ लाख रुपैयाँ
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
कुलमानले बुझाए ऊर्जा मन्त्रालयलाई आफ्नो स्पष्टीकरण
घट्यो सेयर बजार, नेप्से परिसूचक २५.४१ अङ्कले घटेर २ हजार ६७ बिन्दुमा कायम
जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर श्रेष्ठविरुद्ध पौने ५ करोड भ्रष्टाचार अभियोगमा मुद्दा दायर
संयुक्त व्यापार मञ्च बैठक : जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्ने सहमति