नेपालमा केही समयदेखि अपरिपक्व निर्णयहरु क्रमिक रुपमा लाद्ने शृंखला चलिरहेको देख्न सकिन्छ । नेपाल सरकारका यस्ता अपरिपक्व निर्णयहरुमा नेपालको पानीमा भारतको एकाधिकार स्थापना गर्ने गराउने खालका निर्णयदेखि नेपालको अन्तर्राष्ट्रिय सिमानामा भएगरेका चलखेलहरु, मेलम्ची, भेरी बबई डाइभर्सन, सुनकोशी मारिन जस्ता अपरिपक्व सिचाई आयोजनाहरुको स्वीकृति र लागू गर्ने कार्यहरु, सार्वभौम संसदमा स्वीकृतिका लागि पेश भएका अपरिपक्व विधेयकहरु (खानेपानी, गाँजाखेती, विद्युत् आदि) पर्दछन् । अन्य मेरो नजरमा नपरेका कति होलान्, मलाई थाह छैन ।
यसै शृंखलाको एउटा अर्को कडी हो— नागमती उच्चबाँध । सवै अपरिपक्व निर्णयहरुका आआफ्नै परिणामहरु हुन्छन, तर नागमती उच्चबाँध नेपालको सांस्कृतिक धरोहरका रुपमा रहेको काठमाडौं उपत्यका, काठमाडौं सहर र यहाँको अद्वितीय सभ्यता मास्न तयार गरिएको संरचना जस्तो लाग्दछ । उक्त आयोजनाको कार्यकारी संस्था बागमती सुधार आयोजना (Bagmati Improvement Project) को वेवसाइटमा दिइएको आयोजनाको मुख्य विशेषताहरु (Salient Features) निम्न बमिजिम छनः
क्र.सं. | विशेषता | विवरण |
१ | बाँधको उचाइ | ९४.५ मिटर |
२ | बाँधको धुरीको एलिभेशन | १९११.५ मिटर |
३ | जलाशयको क्षेत्रफल | ४८.०४ हेक्टर |
४ | जलाशयको क्षमता | ८० लाख घनमिटर |
५ | डिजाइन डिस्चार्ज | ४५० लिटर प्रतिसेकेण्ड |
६ | आयोजनाको लागत | ९.४२ अर्ब (२०२१) अरु ठाउँमा २५ अर्ब भनिएको |
प्रस्तुत गरिएका विशेषताहरुमा जल तथा जलवायु विज्ञानसँग सम्बन्धित सूचांकहरु दिइएका छैनन् र आयोजनाको लागतबारे सामाजिक संजालमा देखापरेका रकमहरु र आयोजनाको विशेषताहरुमा दिइएका रकमहरुमा धेरै गुणा फरक देखिन्छन् ।
नेपालमा हालसम्म कुनै पनि नदीमा भरपर्दो गरी सेडिमेण्ट (गेग्य्रान) को तथ्यांक न संकलन गरिको छ न अध्ययन अनुसन्धान नै गरिएका छन । तर, कुलेखानी जलाशयलाई नेपालमा गेग्य्रानको प्रयोगशाला मान्न सकिन्छ किनभने यस जलाशयमा १९८१ मा पानी भरेपश्चात सन् १९९३ मा पहिलोपटक र त्यसपछि हरेक वर्ष गेग्य्रानको मापन गरिन्छ । कुलेखानी उच्चबाँध आयोजना १९६३–७३ का ११ बर्षमा मापन गरिएका गेग्य्रानको तथ्यांकका आधारमा डिजाइन गरिएको थियो ।
यो आंकडा १९९३ को जुलाईमा भएको हाँडीघोप्टे पानीका कारण आएको भीषण बाढीले गलत साबित गरिदियो । १९६३–७३ का ११ वर्षमा संकलित गेग्य्रानको नमूनाले कुलेखानी नदीको कुलेखानी भन्ने स्थानबाट वार्षिक सालाखाला ६५० घनमिटर प्रतिबर्ग किलोमिटर प्रतिवर्ष गेग्य्रान बग्ने देखिएको थियो तर जलाशयको निर्माणपश्चात गरिएका सर्भेहरुले यो परिमाण ६५० होइन २५६३.५१ घनमिटर प्रतिवर्ग किलोमिटर प्रतिवर्ष भएको नयाँ तथ्यांक आयोजना संचालन भएको ३६ वर्षको अनुसन्धानले देखाएको छ । प्रस्तावित नागमती उच्चबाँधको डिजाइनमा नयां आँकडा परेको हुने कुरामा विश्वास गर्ने कुनै आधार देखिदैन ।
कुलेखानी जलाशयमा संकलित तथ्यांक नै प्रस्तावित उच्चबाँधको डिजाइनमा प्रयोग हुनु पर्दछ भन्ने होइन । यी दुबै क्षेत्रहरु भौगर्भिक रुपमा भिन्न विशेषता भएका क्षेत्र भएकाले गेग्य्रानको आँकडा पनि भिन्न नै होला तर गेग्य्रानको विश्लेषण गर्दा उपलब्ध तथ्यांकको उचित प्रयोग हुनु पर्दछ भन्ने चाहिं पक्का नै हो । त्यसैले यो आयोजनाबाट निर्माण हुने भनिएको जलाशयको आयु तथा त्यसको क्षमता ठीक होला भनी विश्वास गर्ने आधार सार्वजनिक गरिएका दस्तावेजहरुमा देखिदैन । यसबाट प्रस्तावित आयोजनाले राखेका उद्देश्य पूर्ति हुने कुरामा शंका गर्न सकिन्छ ।
निर्माणस्थलको जमिनको अनुसन्धान
विभिन्न देशहरुमा उच्चबाँधको जमिनमुनिको अनुसन्धान गर्ने आफ्नै प्रकारका गुणस्तर छन । तर नेपालमा यस प्रकारको आफ्नो गुणस्तर छैन । त्यसैले, नेपालीहरु यस्ता कार्यका लागि नियुक्त गरिएका बिदेशी कन्सल्ट्यांण्टमा पूर्ण रुपेण निर्भर हुन्छन् । आयोजना संचालन गर्ने सरकारी निकायमा उच्चबाँधमा इन्भेस्टिगेशन गरेका अनुभवी व्यक्तिहरु रहँदा केही गुणस्तरीय नतिजाहरु आउने सम्भावना ज्यादा हुन्छ । तर प्रस्तावित आयोजना संचालन गर्ने सरकारी निकाय बागमती सुधार योजनामा त्यस्ता अनुभवी स्वदेशी व्यक्तित्वहरु भएको कुरा सामाजिक सञ्जालहरुमा देखिएको छैन ।
त्यसैले, डिजाइन प्यारामिटरहरु कम गुणस्तरीय हुने सम्भावना ज्यादा देख्छु । उच्चबाँध आयोजना डिजाइन तथा निर्माणमा जमिनमुनिको अनुसन्धानका विषयहरुमध्ये एक प्रमुख विषय कोर ड्रिलिङ्ग हो । कोर ड्रिलिङ्ग गर्दा गर्नुपर्ने अध्ययन अनुसन्धान त गरिएकै होलान् तर धेरै देशहरुमा कोर ड्रिलिङको गहिराई यस्ता आयोजनाहरुमा कम्तीमा उच्चबाँधको उचाई बराबर हुनुपर्छ भन्ने छ भने जापानमा त्यहाँको जटिल भौगर्भिक अवस्थाका कारण उच्चबाँधको उचाईको दुई गुणा ज्यादा हुनुपर्ने मानक छ । नेपालको भौगर्भिक अवस्था जापानसँग तुलना गर्न योग्य भएकाले नेपालमा उच्चबाँधको अनुसन्धान गर्दा बाँधको कुल उचाईको २ गुणा ज्यादा गहिराइसम्म गर्न आवश्यक हुन्छ । प्रस्तावित आयोजनामा यस्तो गहिराइ कति कायम गरिएको थियो, सामाजिक सञ्जालमा देखिदैन । प्रस्तावित आयोजना काठमाडौं सहरका लागि संवेदनशील स्थानमा अवस्थित भएका कारण यस आयोजनाको अनुसन्धान तथा डिजाइन र निर्माणमा केही कमजोरी वा हेलचेक्य्राईं सह्य हुदैन ।
पानीको उपलब्धता
बागमती नदी पूर्णतया पानीको मूल तथा वर्षातको पानीमा निर्भर छ । पानीका मूल पनि वर्षातको पानीबाट नै पुनर्भरण हुने भएकाले यस नदी र यसका शाखाहरुलाई वर्षातमा निर्भर नदीभन्दा अत्योक्ति हुने छैन । यस्ता संवेदनशील आयोजनाहरुको डिजाइन र निर्माण गर्नुपूर्व उच्चबाँधस्थल वरपर स्वचालित जलवायु विज्ञानसँग सम्बन्धित (हाइड्रो मेटेरोलोजिकल) उपकरणहरु स्थापना गरेर नदीको वहाबलगायत वर्षा तथा अन्य आवश्यक मौसमी डेटा संकलन गर्ने आवश्यकता तथा सोहीबमोजिमको परम्परा भएको भए पनि त्यस्तो विवरण सामाजिक सञ्जालमा उपलब्ध भएनन । तर, सुन्दरीजलमा नदीको बहाव नाप्ने उपकरणबाट संकलित तथ्यांकहरुको विश्लेषण गरेर नागमती नदीमा प्रस्ताबित उच्चबाँधस्थलका नदीको वहाबबारे आवश्यक डिजाइन डेटाहरु निकाल्न सकिन्छ ।
तर, यस आयोजनाको लागि पानीको उपलब्धताको हिसाब गर्दा यस वरिपरि वार्षिक कति पानी पर्दछ भन्ने कुराको हेक्का राख्नु जरुरी हुन्छ । २०१३ मा प्रकाशित यस आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव प्रतिवेदन (आईईई) अनुसार यस क्षेत्रमा २७२७ मिलिमिटर पानी पर्दछ तर यस आलेखकर्ताले ककनी, बूढानीलकण्ठ र नगरकोटमा गरिएका जलवायु मापन तथ्यांकका आधारमा गरेको अध्ययनले यस आयोजना क्षेत्र वरिपरि वार्षिक सालाखाला करिव २०९०.२५ मिलिमिटर मात्र पानी पर्ने निष्कर्ष निकालेको छ । यस आयोजनामा पानीको उपलब्धताको हिसाव गर्न आवश्यक रहेको प्रस्तावित बाँध क्षेत्रमा नागमती नदीको जलग्रहणक्षेत्र बारे कुनै पनि दस्तावेजमा उल्लेख गरेको पाइएन । तर, यदि यस बाँधको डिजाइन वार्षिक सालाखाला २७२७ मिलिमिटर वर्षाका आधारमा गरियो भने मेरो हिसाबमा यस आयोजनालाई समय–समयमा पानी अपुग हुने देखेको छु ।
प्रस्ताबित बाँध क्षेत्रमा २०९०.२५ मिलिमिटर बार्षिक वर्षाको आधारमा पानीको उपलब्ध परिमाणको हिसाब उल्टोतिरबाट वर्षातको (वर्षायामको) सबै पानी जलाशयमा संकलन हुने हिसाबले गर्दा जलाशयमा वार्षिक ८० लाख घनमिटर पानी संचित हुन कम्तीमा पनि वर्षातको ४ महिनामा १४५.४५ लाख घनमिटर पानी वर्षाबाट प्राप्त हुन जरुरी देखिन्छ । बाँकी रहेको परिमाणको पानी वाष्पीकरण, माटोको चिस्यान बढाउने कार्य तथा भूमिगत जल पुनर्भरणमा खर्च हुन्छ भने थप केही पानी जलाशयमा संकलित भइसकेपछि वाष्पीकरणमा खर्च हुन्छ ।
त्यस्तै, हिउँदका ८ महिनामा वार्षिक वर्षाको सालाखाला १८.०५ प्रतिशत पानी पर्ने हिसाबले करिव ३२.०४ लाख घनमिटर पानी पर्दछ । यो पानीमध्ये पनि माथि उल्लेख गरिएका वाष्पीकरण र माटो चिस्याउने कार्यमा कुल पानीको करिव ३५ प्रतिशत खर्च हुन्छ भने करिव ५–७ प्रतिशत पानी भूमिगत जलभण्डारबाट प्राप्त हुन्छ । यस हिसाबले हिउँदका महिनामा प्रस्तावित नागमती बाँध क्षेत्रमा बार्षिक सालाखाला २२.४२ लाख घनमिटर पानी उपलब्ध हुने देखिन्छ । हिउँदमा परेको पानीलाई बाँधमा संचित नगरी नै नियमन गर्न सकिन्छ भने वर्षातको ४ महिनामा पर्ने वार्षिक सालाखाला १ करोड ४५.४५ लाख घनमिटर बाढीको पानीमध्ये ८० लाख घनमिटर पानीलाई यस उच्चबाँधको सहायताले नियमन गर्नुपर्ने हुन्छ । तर, २०९०.२५ मिलिमिटर वार्षिक वर्षा हुने हिसाबले वार्षिक १७७.४९ लाख घनमिटर पानी जम्मा हुन जलग्रहण क्षेत्रको क्षेत्रफल ८.५० बर्ग किलोमिटर हुन जरुरी हुन्छ जुन यस प्रकारको आयोजनाको जलग्रहण क्षेत्रका लागि धेरै सानो जलग्रहण क्षेत्र ठहर्याइन्छ । यति सानो जलग्रहण क्षेत्रमा माथि हिसाब गरी प्रस्तुत गरिएको जस्तो पानीको उपलब्धता धेरै सानो जलग्रहण क्षेत्र भएका कारण नहुन सक्छ । त्यसैले, यस आयोजनाको उद्देश्य पूर्तिका लागि आवश्यक पानी प्रत्येक वर्ष पर्याप्त हुने देखिदैन । त्यसैले, यस आयोजनाले परिकल्पना गरेका उद्देश्य पूर्ति गर्न सम्भव देखिदैन ।
यदि यो आयोजनाले परिकल्पना गरेझै ८० लाख घनमिटर पानी बाँधको जलाशयमा उपलब्ध भई हिउँदका समयमा थप २२.४२ लाख घनमिटर पानी गरी जम्मा वार्षिक १ करोड २ लाख ४२ हजार घनमिटर पानी प्रस्तावित नागमती बाँधमा उपलब्ध भयो भने पनि यस आयोजनाबाट औसतमा ३२४.७७ लिटरप्रति सकेण्डको वहाब मात्र प्रवाहित गर्न सकिन्छ । यस्तो वहाब हिउँदका २६५ दिनमा मात्र प्रवाहित गर्ने हो भने ४४७ लिटर प्रतिसेकेण्डका दरले गर्न सकिन्छ । तर यसो गर्दा नागमती नदी बागमती नदीसँग नमिसिउञ्जेल करिब ३ किलोमिटर नदीमा वर्षातका १०० दिन सुख्खा नै हुन्छ । के यसो गर्न नेपालको वातावरण संरक्षण ऐनले केही बाधा पुर्याउँदैन ? कि यो पनि छुट छ यस आयोजनालाई?
उच्चबाँध को जोखिम
साधारणतया उच्चबाँधको डिजाइन तथा निर्माणमा अत्यधिक सतर्कता अपनाइएको हुन्छः यस आयोजनामा पनि ति सबै प्रकारका सतर्कता डिजाइनमा समावेश गरिएका होलान नै । यस आयोजनाका डिजाइनर कन्सल्टेन्ट पनि अनुभवी र योग्य होलान् । यस हिसाबले हेर्दा यो बाँध पक्कै पनि राम्रोसँग डिजाइन भएको होला । साथै यसको निर्माण पनि सुयोग्य ठेकेदारबाट नै गराईने होला । तर, नेपालको विद्यमान खरिद नियमाबलीले यस आयोजनालाई यस्तो गर्ने छुट दिएको छ त ? नत्र त जति कुरा गरे पनि उही ड्याङको मूला ! भने जस्तो मात्र होला नि ! अनि जोखिम कसरी न्यून गर्न सकिन्छ ?
अर्को कुरा के भने अमेरिकाको हुवर ड्याम के अयोग्य कन्सल्ट्यांटका कारण भत्किएको हो ? वा अरु के कस्ता कमजोरीहरुका कारण यो संचालन योग्य नभएको हो ? संसारमा यस्ता धेरै बाँध भत्किएका उदाहरणहरु छन् । जस्तै विकसित देशहरुमा मालपास्सेत बाँध, फ्रान्स, भाइओन्त ड्याम, इटाली, बाल्दविन हिल्स डिजास्टर, अमेरिका, टेटोन ड्याम, अमेरिका, भालदिस्ताभा बाँध, इटली आदि प्रमुख छन् भने भारत र चीनमा यस्ता प्रकोपहरुका उदाहरणहरु प्रशस्तै छन । भारतीय इञ्जिनियर र डिजाइनरहरु काबिल हुँदाहँुदै पनि मानिसको जीउधनको जोखिम लिएका कारणले नै उत्तराञ्चल, टिस्टा (सिक्किम, पश्चिम बंङ्गाल) तथा अरुणाञ्चल प्रदेशहरुमा ठूलो धनजनको क्षति भएका दृष्टान्तहरु छन् । यो भारतीय मानसिकताका कारण मात्र भएको होला जस्तो मलाई लाग्दैन । तर, विकसित देशहरुमा भएका यस्ता प्रकोपहरु सबैलाई डिजाइनरले गरेको हेलचेक्य्राई वा निर्माणकर्ताले गरेको बदमासी भन्न मिल्दैन होला । त्यसैले, यस्ता जोखिमपूर्ण संरचनाहरुको निर्माण गर्ने गरी गरिएका निर्णयहरु केवल अन्तिम अस्त्रका रुपमा मात्र गर्न उचित देखिन सक्छ तर यस्तो अवस्था नागमती बाँधमा विद्यमान छैन ।
बागमती नदीको पानी सफा गर्ने धेरै विकल्पहरु यस प्रस्तावित विकल्पभन्दा निकै जोखिमरहित छन् । त्यसैले, यो संरचना बनाउने निर्णय नितान्त गलत मात्र होइन जोखिमका हिसाबले गैरजिम्मेवार देखिन्छ । अर्को कुरा, यस्तो जोखिमपूर्ण संरचना यस्तो संवेदनशील स्थानमा निर्माण गर्दा अनिवार्य रुपमा हाइड्रोलिक मोडेल टेस्टिङ्ग गरिएको हुनु पर्दछ, तर आयोजनाले वेबसाइटमा उपलब्ध गराएका विवरणहरुमा हाइड्रोलिक मोडेल टेस्टिङ्गबारे केही उल्लेख गरिएको छैन । खासगरी तीनवटा अति संवेदनशील स्थानहरु जस्तै सुन्दरीजल बजारसहित विद्युत् गृह क्षेत्र, गोकर्णको गोर्जको माथिल्लो भागको क्षेत्र र गुहेश्वरीको गल्छिडो माथिका स्थलहरुमा कथंकदाचित् यो बाँध भत्केमा हुन सक्ने प्रभावहरु (ड्याम ब्रेक अनालिसिस) बारे विस्तृत अध्ययन अनुसन्धान गरी प्रभावित क्षेत्रमा पारदर्शी रुपमा सार्वजनिक सुनुवाईबाट आयोजना स्वीकृति भएमा मात्र यो योजना निर्माणको चरणमा जानु पर्दछ । यस आयोजनालाई भ्यूटावर बनाउने आयोजनासँग कदाचित् तुलना गर्न मिल्दैन ।
निष्कर्ष
माथि प्रस्तुत गरिएका बुँदाहरुका आधारमा प्रस्तावित नागमती बाँधबारे निम्न बमोजिमको निष्कर्ष निकाल्न सकिन्छः
१. आयोजनाको औचित्य कुनै कुराको आधारमा पनि पुष्टि गर्न सकिंदैन । जोखिमरहित विकल्पहरु विद्यमान हुँदाहुँदै सबैभन्दा जोखिमयुक्त विकल्पलाई प्राथमिकता दिनु या आत्महत्या हो अथवा आमहत्या हो ।
२. यो आयोजनाको मुख्य उद्देश्य भनिएको बागमती नदी सफा गर्ने भन्ने उद्देश्य प्रस्तावित आयोजनाबाट पूरा हुने देखिदैन ।
३. प्रस्तावित आयोजनाका लागि आवश्यक हुने पानी हरेक वर्ष उपलब्ध हुने कुरामा सानो जलग्रहण क्षेत्र भएका कारणले शंका गर्ने प्रसस्त ठांउहरु विद्यमान छन् ।
४. वर्षातको समयमा प्रशस्त पानी पर्ने काठमाडौं उपत्यकाका वरिपरी ससाना वा मध्यम उचाईका बाँधहरुको निर्माणबाट पुनर्भरण पोखरीहरुको दर्शनमा आधारित भई काठमाडौं वरिपरि तथा उपत्यकाभित्रका भूमिगत जलभण्डारहरुको पुनर्भरण गरेर बागमती नदी लगायत काठमाडौंका सहर वस्तीहरुमा विद्यमान पानीको समस्या समाधान गर्ने गराउने विकल्प प्रशंसनीय हुन सक्छ न कि बागमती सफा गर्ने निहुँमा नांगो तरबार काठमाडौंबासीको टाउको माथि झुण्ड्याउन ।
५. बागमतीको पानीको गुणस्तरको कुरा गर्दा सरकारी बजेटबाट बागमती नदीमा वा बागमती नदीका शाखा नदीहरुमा वरिपरीका वस्तीहरुबाट सिधै ट्वाइलेटको निकास निकाल्न बन्द नगरुञ्जेलसम्म जति भाषण गरे पनि बागमतीको पानीको गुणस्तरमा सुधार हुने कुरा गफ मात्र हुन् ।
६. समग्रमा हेर्दा यो आयोजना काठमाडौंको सभ्यता सिध्याउने खेल होइन भन्ने आधार देखिदैन । तर किन ?
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात