मेरो विचारमा सप्तकोशी जलाधार-मूलाधार क्षेत्र


मेरो यो भन्दा अघिल्लो आलेखमा भनेजस्तै नेपाल बेथिति नै बेथितिले भरिएको देश भन्दा अतिशयोक्ति नहोला । यस आलेखमा म पहिले कोशी नदीको जलाधार क्षेत्र, सोको क्षेत्रफलका बारेमा केही उल्लेख गर्न चाहन्छु । कोशी नदीका तीन मुख्य सहायक नदीहरुमध्ये अरुण नदीको अधिकांश भाग चीनमा पर्दछ भने सुनकोशीको सहायक भनिएको (वास्तवमा हाइड्रोलोजिकल्ली सुनकोशी नदी भोटेकोशीको सहायक नदी हुनुपर्ने हो) भोटेकोशी नदीको केही भाग पनि चीनमा पर्दछ । अरुण र भोटेकोशी सप्तकोशीमा दुबै सहायक नदीहरु ट्रान्सहिमालयन तथा ट्रान्सबाउण्ड्री नदीहरु हुन् । तमोर नदी नेपालमा नै उद्गम भएर त्रिवेणीमा सप्तकोशीमा समाहित भई सप्तकोशीको सुरुवात हुन्छ ।
नदीहरुका जलग्रहण क्षेत्रको क्षेत्रफलमा तथ्यांकको एउटै श्रोत भए पनि विभिन्न श्रोत-सामाग्रीहरुमा भएका भिन्नताका कारण भएको बेथितिबारे अघिल्लो आलेखमा नै विवेचना गरेको हुनाले यहाँ सो बारेमा उल्लेख गर्न उचित देख्दिनँ । तर ती बेथितिहरुको सन्दर्भलाई कोट्याएर विश्लेषण गर्ने र बेथितिको सकेसम्म अन्त्य गर्ने प्रयास यहाँ गरेको छु । यसको सुरुवात अरुण नदीबाट गर्न चाहन्छु ।
अरुण नदी
अरुण नदी माथि उल्लेख गरिएझै चीनमा उदगमित र अधिकांश भाग चीनमा रहेको एउटा प्रमुख नदी हो । यस नदीको चीनमा रहेको जलग्रहण क्षेत्रफलबारे विभिन्न श्रोत-सामाग्रीमा भिन्न-भिन्न तथ्यांक उल्लेख गरिएको भए पनि नेपाल सरकारद्वारा प्रकाशित जलमापन यंन्त्रहरुको सूची (जसु) मा उल्लेख भएको क्षेत्रफल तथा नेपाल विध्युत प्राधिकरण अन्तर्गतको माथिल्लो अरुण जलविध्युत आयोजना (माअआ) को दस्तावेजमा उल्लेख गरिएका क्षेत्रफलहरुलाई आधिकारिक मानेर हिसाव गरेको छु ।
अरुण नदीको चीनतर्फको जलग्रहण क्षेत्रफल जसुमा उल्लेख नगरिएकाले माअआ देखाइएको २५,३०७ वर्ग किलोमिटर लाई यस नदीको चीनभित्रको जलग्रहणा क्षेत्रका रुपमा लिएको छु । त्रिवेणीदेखि केही माथिल्लो भाग (अपस्ट्रिम) मा रहेको सिम्लेको जलमापन केन्द्रमा जसुका अनुसार कुल जलग्रहण क्षेत्र ३०,३८० वर्ग किलोमिटर भनी उल्लेख भएको तथा माअआमा त्रिवेणीको जलग्रहण क्षेत्रफल ३०,४०० भनी उल्लेख भएको पाएकाले तथा यी दुवै तथ्यांकहरुले एक अर्कालाई समर्थन गरेको आधारमा त्रिवेणीमा अरुण नदीको जलाधार क्षेत्रको क्षेत्रफल ३०,४०० वर्ग किलोमिटर मान्दा अरुण नदीको नेपालभित्रको जलाधार क्षेत्र ५,०९३ वर्ग किलोमिटर हो भनी यकिन गरेको छु ।
सुनकोशी नदी
सुनकोशी नदीको जलाधार क्षेत्र भोटेकोशी नदीमा सुनकोशी नदी मिसिनु अगाडि बाह्रबिसे वजारमा रहेको नदी मापन केन्द्रमा जसु बमोजिम २,४१० वर्ग किलोमिटर रहेको छ । साथै, सोही नदीको अझ माथि माथिल्लो भोटेकोशी आयोजनाको बाँधस्थलमा उक्त आयोजनाको दस्तावेज अनुसार २,१३२ वर्ग किलोमिटर रहेको छ ।
अरुण भक्त श्रेष्ठ आदि (https://doi.org/10.1080/19475701003668968) का अनुसार चीनमा भोटेकोशी नदीको जलाधार क्षेत्र २,००७ वर्ग किलोमिटर छ भनी उल्लेख भएको छ । तर, नेपाल-चीन सिमाना नजिक रहेको माथिल्लो भोटेकोशी जलविध्युत आयोजनाको बाँधस्थलमा भोटेकोशी नदीको कुल जलाधार क्षेत्र २,१३२ वर्ग किलोमिटरसँग यो तथ्यांक त्यति मेल खाँदैन । यसो हुनुमा अरुणभक्त श्रेष्ठ आदिद्वारा उल्लेख गरिएको जलाधार क्षेत्र मितेरी पुलसम्मको भए दुबै तथ्यांकले एक अर्कालाई समर्थन गर्ने हुन्छ ।
भोटेकोशी नदीमा रहेको नेपाल-चीन सिमानाको कुरा गर्दा यो सिमाना माथिल्लो भोटेकोशी आयोजनाको बाँधस्थलबाट कारिव ५०० मिटर माथि (अपस्ट्रिम) पूर्वतिरबाट आउने सानु खोलासम्म नदीको दुबैतर्फ नेपाल र उक्त सानो खोला पनि नेपाल-चीन सिमाना भएकाले तत्पश्चात उक्त सानो खोला र भोटेकोशी नदीको मिलन विन्दुबाट मितेरी पुलसम्मको करिव ५ किलोमिटरमा भोटेकोशी नदीको पूर्वपट्टी चीन र पश्चिमपट्टी नेपाल रहेका छन् । यसै बमोजिमका जलाधार क्षेत्रका क्षेत्रफलहरु पनि केही चीनमा र केही नेपालमा पर्ने हुनाले तथा सो यकिन गर्ने कुनै श्रोत-सामाग्री नभएकाले गुगलम्यापका आधारमा अनुमान गरिएको छ । यसरी चीनभित्र पर्ने भोटेकोशी नदीको जलाधार क्षेत्र २,०५७ वर्ग किलोमिटर भएको अनुमान गरेको छु ।
यस परिमाणलाई जसुमा उल्लेख गरिएको सुनकोशी नदीको त्रिवेणीमा हुने जलग्रहण क्षेत्र १९,२३० वर्ग किलोमिटरमा घटाई सुनकोशी नदीको नेपालभित्रको जलग्रहण क्षेत्र को अनुमान गरेको छु । यसरी, सुनकोशी नदीको नेपालभित्रको जल ग्रहण क्षेत्र १७,१७३ वर्ग किलोमिटर भएको मेरो अनुमान छ ।
तमोर नदीको जलाधार क्षेत्र मैले साभार गरेका सवै सन्दर्भ सामाग्रीमा ५,९०० वर्ग किलोमिटर भएको पाएको छु । त्यसैले, नेपालको त्रिवेणीमा सप्तकोशी नदीको जलाधारको कूल क्षेत्रफल माथि उल्लेखित तीन वटै मुख्य सहायक नदीहरुको जलग्रहण क्षेत्रको क्षेत्रफल जोडदा ५५,५३० वर्ग किलोमिटर भएकाले यस अघि उल्लेख गरिएका सबै क्षेत्रफलहरुको सट्टा ५५,५३० वर्ग किलोमिटरलाई नै आधिकारिक मान्न उचित देखेको छु । साथै, कोशी नदीको चीनभित्रको कुल जलाधार क्षेत्र २७,३६४ वर्ग किलोमिटर र नेपालभित्रको कुल जलाधार क्षेत्र त्रिवेणीमा २८,१६६ वर्ग किलोमिटर भएको धारणा सार्वजनिक गरेको छु ।
कोशी नदीमा बग्ने पानीको परिमाण
कोशी नदीमा प्रवाहित हुने पानीको विषयमा विमर्ष गर्दा पहिले चीनबाट नेपालभित्र बगेर आउने पानी र नेपालभित्र नै उदगमित हुने पानीलाई छुट्याउन आवश्यक ठान्दछु । करिव ४९.२७ प्रतिशत जलाधार क्षेत्र चीनमा रहेको सप्तकोशी नदीमा सालबसाली रुपमा प्रवाहित हुने पानीको परिमाणको अनुमान मुख्यतया माथिल्लो अरुण जलविद्युत् आयोजनाले सार्वजनिक गरेका दस्तावेजका आधारमा गर्न तर्कयुक्त ठान्दछु । यसअनुसार माथिल्लो अरुण आयोजनाको बाँधस्थल नजिक रहेको चेपुवा गाउँमा रहेको वर्षामापन केन्द्रले सालाखाला वार्षिक वर्षा २,३७१ मिलिमिटर रहेको उल्लेख गरेको छ । साथै, उक्त आयोजनाको बाँधस्थलमा अरुण नदीको नेपालभित्रको जलग्रहण क्षेत्र ३९३ वर्ग किलोमिटर भएको पनि उक्त दस्तावेजमा दिइएका तथ्यांकहरु केलाउँदा आँउछ । यसका साथै, माथिल्लो अरुण आयोजनाको बाँधस्थलमा अरुण नदीको सालाखाला वार्षिक वहाव २०० क्यूमेक्स भएको पनि आयोजनाको दस्तावेजहरुमा उल्लेख गरिएको छ ।
माथिल्लो अरुण आयोजनाको बाँधस्थलमा अरुण नदीको नेपालभित्रको जलग्रहण क्षेत्र ३९३ वर्ग किलोमिटरको ८० प्रतिशत क्षेत्रमा चेपुवा केन्द्रले देखाएको जस्तो वार्षिक सालाखाला वर्षात् हुने र बाँकी रहेको २० प्रतिशत क्षेत्रमा चीनको जस्तो मौसमी अवस्था मानेर चीनबाट नेपालमा बगेर आउने पानीको अनुमान गरिएको छ । यसरी हिसाब गर्दा माथिल्लो अरुण आयोजनाको बाँधस्थलमा नापिएको नदीको सालाखाला प्रवाहमा नेपालभित्रबाटै उद्गमित वहावको परिमाण २३.६३ क्यूमेक्स निकालिएकाले चीनबाट नेपाल आउने पानीको वार्षिक सालाखाला वहाव १७६.३७ क्युमेक्स रहेको अनुमान गरिएको छ । यसकै आधारमा चीनबाट वार्षिक सालाखाला ५.५६ अर्ब घनमिटर पानी अरुण नदीमार्फत नेपाल प्रवेश गर्ने प्रष्ट हुन्छ ।
सुनकोसी र भोटेकोशी नदीहरुको संगमस्थलमा यी नदीहरुको जलाधार क्षेत्र ३,३९४ वर्ग किलोमिटर (अरुण भक्त श्रेष्ठ आदि) भएको तथा भोटेकोशीको जलाधार क्षेत्र बाह्रबिसेमा २,४१० वर्ग किलोमिटर भएबाट सुनकोशी नदीको जलग्रहण क्षेत्र यस नदीको भोटेकोशीसंगको संगम बाह्रबिसेमा ९८४ वर्ग किलोमिटर भएको हिसाब निकालिएको छ । संगमस्थलमा यसै हिसाबले नेपालभित्रको जलग्रहण क्षेत्र १३३७ वर्ग किलोमिटर भएको देखिन्छ । भोटेकोशी नदी नेपाल प्रवेश गर्ने ठाउँ कोदारीमा वा सो स्थानको आसपास सरकारी जलमापनस्थल नभएकाले भोटेकोशी नदीमार्फत चीनबाट नेपाल प्रवेश गर्ने पानीको वार्षिक सालाखाला परिमाण या त बाह्रबिसेस्थित मापन केन्द्रका आधारमा वा अन्य कुनै विश्वासिलो आधारमा गर्न आवश्यक हुन्छ । अरुण नदीको वहावका आधारमा हिसाब गर्न चीनमा यी नदीहरुको विशेषताहरु फरक भएकाले सर्वथा उचित हुँदैन ।
चीन सरकारद्वारा प्रकाशित तिब्बत क्षेत्रको औसत वार्षिक वर्षाको नक्शाका आधारमा सुनकोशी भोटेकोशी नदी क्षेत्रमा चीनमा वार्षिक सालाखाला ५०० देखि ६०० मिलिमिटर वार्षिक वर्षा हुने देखाईएको छ । सोही आधारमा तथा कुल वर्षाको करिव २० प्रतिशत पानी वाष्पीकरण लगायतका विभिन्न कार्यमा खर्च हुने हिसाबले वार्षिक सालाखाला ०.९१ अर्ब घनमिटर पानी चीनबाट नेपाल प्रवेश गरेको हिसाब आउँछ । तर यो संख्यालाई बाह्रबिसेमा मापन गरिएको कुल वार्षिक वहावसँग तुलना गरी यी दुवै संख्याका आधारमा यकीन गर्न उचित हुन्छ । तर, १० वर्षमा १० हजार मेगावाटको प्रतिवेदनमा उल्लेख गरिएको चीनबाट सप्तकोशीमार्फत नेपाल प्रवेश गर्ने पानीको वार्षिक औसत वहाव ७८८ क्यूमेक्स सर्वथा गलत छ । माथि उल्लेख गरिएको तथ्यांकलाई आधार मान्दा चीनबाट नेपाल प्रवेश गर्ने पानीको कुल औसत वार्षिक परिमाण ६.४७ अर्ब घनमिटर र औसत वार्षिक वहाव २०५.१६ क्युमेक्स हुन आउँछ ।
बरफ पग्लेर सप्तकोशी नदीमा वग्ने पानी
नेपालका नदीहरुमा बरफ पग्लेर आउने पानी (एब्लेशन) को परिमाण नदी हिमालबाट टाढा भएसँग कुल परिमाणमा केही फरक नभए पनि औसत परिमाणको हिसाब गर्दा घटेर जान्छ । यो परिमाण नेपालका सबै नदीहरुको हिसाब गर्दा वार्षिक सालाखाला २.१२ अर्ब घनमिटर भएको यो आलेखकर्ताको अनुमान छ । यसै आधारमा सप्तकोशी नदीको जलग्रहण क्षेत्रमा रहेको कूल बरफको परिमाण (आइस रिजर्भ) को आधारमा आइस रिजर्भको समानुपातिक परिमाणका रुपमा हिसाब गर्दा कोशी नदीमा एब्लेशनबाट प्राप्त पानीको वार्षिक सालाखाला परिमाण ०.६७ अर्ब घनमिटर हुने अनुमान गरेको छु ।
यसै हिसाबले, सप्तकोशी नदीको जलग्रहण क्षेत्रमा चीनबाट बगेर आउने र बरफ पग्लेर आउने कुल पानीको वार्षिक सालाखाला परिमाण ७.१४ अर्ब घनमिटर हुन आउँछ । सप्तकोशी नदीको जलमापन केन्द्र त्रिवेणीमा मापन गरिएको कुल पानीको वार्षिक वहावको परिमाणमा ७.१४ अर्ब घनमिटर घटाउँदा आउने पानीको परिमाण सप्तकोशी नदीमा वर्षातबाट प्राप्त भएको पानी नै हो । भूमिगत जलश्रोतबाट प्राप्त हुने सबै पानीको परिमाण वर्षातको समयमा परेको पानीबाट पुनर्भरण हुने तथा सोही पुनर्भरण भएको पानी हिउँदका महिनाहरुमा नदीहरु जीवन्त राख्ने कार्यमा खर्च हुने भएकाले यस आलेखमा भूमिगत जलभण्डारबारे थप केही पनि उल्लेख गरिएको छैन ।
सप्तकोशी नदीमा वर्षातबाट प्राप्त हुने पानी
सप्तकोशी नदीको वार्षिक सालाखाला वहावबारे बिभिन्न सन्दर्भ सामाग्रीहरुमा भिन्न-भिन्न तथ्यांक उपलब्ध छन् । तर ती सबै तथ्यांकहरु १,४०३ (इसिमोड, २००१) र १,६३८ (दीक्षित, २००८) क्यूमेक्सका बीचमा रहेको पाइन्छ । त्यसैले, १० वर्षमा १० हजार मेगावाटको प्रतिवेदनमा उल्लिखित १,४९८ क्युमेक्सलाई औसतका रुपमा लिएर बाँकी हिसाब त्यसै तथ्यांकका आधारमा गरेको छु ।
१,४९८ क्युमेक्स वार्षिक वहाव हुँदा वार्षिक सालाखाला ४७.२४ अर्ब घनमिटर पानी सप्तकोशी नदीको त्रिवेणीबाट बग्ने देखिन्छ । यसमा चीनबाट आउने तथा हिउँ पग्लेर प्राप्त हुने पानीको माथि उल्लिखित परिमाण घटाउँदा ४०.१० अर्ब घन मिटर नेपालभित्रै वर्षातबाट प्राप्त हुने पानी सालबसाली रुपमा त्रिवेणी बाट बग्ने देखिन्छ ।
यसबाहेक कोशी जलाधार क्षेत्रमा वार्षिक रुपमा घरायसी कार्यमा खर्च हुने अनुमानित पानीको परिमाण १.५३ अर्ब घनमिटरलाई समेत जोड्दा कोशी जलाधार-मूलाधार क्षेत्रको २८,१६६ बर्ग किलोमिटरमा वर्षातबाट वार्षिक सालाखाला ४१.६३ अर्ब घनमिटर मापन गरिएको पानीको परिमाण हुन आउँछ ।
तर वर्षातबाट प्राप्त हुने पानी सर्वप्रथम वाष्पिकरणमा केही खर्च हुन्छ भने थप केही पानी जमिनको माटो भिजाउने कार्यमा खर्च हुन्छ । यस बाहेक केही पानी भूमिगत जल भण्डारमा भण्डारण हुन्छ । यी तिनै प्रक्रिया फरक ठाँउका लागि, फरक मौसममा फरक हुन्छन । मेरो अनुमानमा यसरी प्राक्रितिक रुपमा खर्च हुने पानीको सालाखाला वार्षिक परिमाण सप्तकोशी नदीको जलग्रहण क्षेत्रका लागि कूल वर्षातको ३५ प्रतिशत हुने आधारमा हिसाब गर्दा वार्षिक सालाखाला २,२७३.८८ मिलिमिटर वर्षा हुने देखिन्छ । यो अनुमानित अंक हो र यस अंकको एक्युरेसीको सीमा माथि उल्लिखित शर्तहरुले निर्धारण गरे बमोजिम हुन्छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको विद्युत् प्रणालीमा निजी क्षेत्रको योगदान ५५ प्रतिशत
-
साताको पहिलो दिन सेयर बजार २७ अंकले घट्यो
-
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत् प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी
-
इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसमा काठमाडौँमा झन्डोत्तोलन
-
राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट खिच्दै
-
म्याग्दीका पाखापानी र पात्लेखेतमा केन्द्रीय विद्युत् विस्तार