नेपालका विभिन्न स्थानहरुमा कति पानी पर्दछ भन्ने आधिकारिक तथ्यांक सम्बन्धित निकायले प्रकाशित गरेका दस्तावेजहरुमा पाइन्छ नै तर नेपालमा सालाखाला कति पानी पर्दछ भन्नेबारे विभिन्न श्रोत सामाग्रीहरुमा फरक–फरक आँकडा पाइने कुरा सार्वजनिक नै छ । धेरै त्यस्ता सामाग्रीहरुमा वार्षिक सालाखाला १,५०० मिलिमिटरको छेउछाउका संख्याहरु प्रशस्तै पाइन्छन् । त्यस्तै, नेपालमा सालाखाला वार्षिक २२५ अर्ब घनमिटर पानी उपलब्ध छ भन्ने लेखहरु पनि प्रशस्तै प्रकाशित भएका पाइन्छन् ।
वास्तवमा वर्षा मापन यन्त्रहरुले स्थान विशेष रुपमा वर्षाको मापन गरिरहेका हुन्छन् तर विभिन्न कारणले गर्दा प्रकाशित सामाग्रीहरुमा नेपालमा मापन गरिएका त्यस्ता तथ्यांकहरुको विश्लेषणबाट प्राप्त निष्कर्षहरुमा सामन्जस्यता नभएको पाइन्छ । त्यसैले यसरी मापन गरिएका तथ्यांकहरुमध्ये नेपालका नदीहरुमा मापन गरिएका नदीका बहावहरुको तथ्यांकका आधारमा गरिएको विष्लेषण र सोबाट निष्कर्ष निकाल्ने प्रयास यहाँ प्रस्तुत गरिएको छ ।
नेपालमा जम्मा चार प्रकारका पानीका श्रोतहरु छन – आकाशबाट परेको पानी, मूलहरुको पानी, हिउँ पग्लेर (हिमालबाट) आउने पानी र चीनबाट बगेर आउने पानी । चीनबाट बगेर आउने पानी सजिलैसँग मापन गर्न सकिन्छ अथवा यस प्रस्तुतिकर्ता समेतले गरेको अध्ययन तथा माथिल्लो अरुण जलविद्युत् आयोजनाले सार्वजनिक गरेका तथ्यांकहरु समेतको विश्लेषणबाट चीनाट नेपालमा बगेर आउने पानीको मात्रा बार्षिक सालाखाला ७.४९ अर्ब घनमिटर भएको अनुमान गरिएको छ ।
पानीका मूलहरुबाट निस्कने पानी जतिसुकै भए पनि नेपालका सबैजसो पानीका मूलहरु आकाशबाट वर्षातको समयमा पर्ने पानीबाट नै पुनर्भरण हुने भएकाले यस परिमाणको पानीलाई पनि आकाशबाट पर्ने पानी अन्तर्गत नै राख्न उचित देखिन्छ । हिउँ पग्लेर (हिमालबाट) आउने पानीमध्ये केही पानी हिमनदीहरुको बरफ पग्लेर आउने र केही पानी मौसमी हिउँ पग्लेर आउने हुनाले मौसमी हिउँ पग्लेर आउने पानीलाई मात्र आकाशबाट पर्ने पानीको श्रेणीमा राख्न उचित देखिन्छ । तर, हिमनदीहरुको बरफ पग्लेर आउने पानीको मात्रा केही हदसम्म अनुमान गर्न सकिए पनि मौसमी हिउँ पग्लेर आउने पानीको परिमाण अनुमान गर्न बिलकुलै सहज छैन । यसरी हिमनदीहरुको बरफ पग्लेर आउने पानीको सालबसाली परिमाण २.१२ अर्ब घनमिटर भएको अनुमान गरिएको छ ।
त्यसैले, नेपालका नदीहरुमा नदीहरुको प्रवाह मापन गर्न जडान गरिएका उपकरणहरुद्वारा मापन गरिएको परिमाण र नेपालको तराईमा सालबसाली रुपमा आकाशबाट पर्ने पानीको परिमाणमा माथि उल्लिखित पानीको परिमाण र नेपालभित्र वार्षिक रुपमा खर्च हुने पानीको परिमाणलाई जोड्दा नेपालभित्र पर्ने पानीको मोटामोटी परिमाणको अनुमानित हिसाब गर्न सकिन्छ । यस्ता पानी मापन गर्ने उपकरणहरु नेपालको तराई क्षेत्रमा अथवा नदीहरु पहाडबाट तराईक्षेत्रमा निस्कने स्थानमा जडान गरिएकाले सो उपकरणहरुमा मापन गरिएको पानीको परिमाणले उक्त मापन केन्द्रको जलग्रहण क्षेत्रको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ ।
यस आलेखकर्तासमेतले गरेको अध्ययनले नेपालका प्रमुख तीन नदीहरु तथा दोश्रो श्रेणीका नदीहरु जस्तै कन्काई, कमला, बागमती, पश्चिम राप्ती र बबईका कुल जलग्रहण क्षेत्र १११,९९५ वर्ग किलोमिटर तथा सो नदीहरुमा सालबसाली रुपमा बग्ने पानीको परिमाण १४१.३५ अर्ब घनमिटर भएको अनुमानित हिसाब गरिएको छ । माथि उल्लिखित जलग्रहण क्षेत्रमा महाकाली नदी, माथि उल्लेखित नदीहरुमा समाहित नहुने अन्य स–साना नदीहरु र तराईको जलग्रहण क्षेत्र गरी जम्मा ३५,४९३ बर्ग किलोमिटर नेपालको जमिन समावेश नभएकाले सो क्षेत्रको छुट्टै हिसाब गर्न जरुरी हुन्छ ।
महाकाली नदीको कुरा गर्दा यो नदी समुच्चै रुपमा नेपालको नदी भए पनि यस नदीको पश्चिमपट्टिको भूभाग भारतमा पर्दछ, त्यसैले यस नदीमा भारत तर्फबाट समाहित हुने नदीमा बग्ने पानीलाई महाकाली नदीमा सालबसाली रुपमा बग्ने पानीमा घटाएर अथवा महाकाली नदीमा बग्ने सम्पूर्ण पानीलाई जलग्रहण क्षेत्रको आधारमा समानुपातिक रुपमा भारत र नेपालका बीच भाग लगाई अनुमान गर्दा महाकाली नदीमा वार्षिक सालाखाला बग्ने २३.०२ अर्ब घनमिटर पानीलाई सो नदीको कुल जलग्रहण क्षेत्र १४,८७१ वर्ग किलोमिटर र नेपालभित्रको जलग्रहण क्षेत्र ६,४५६ वर्ग किलोमिटर भएका आधारमा गणना गर्दा नेपालका नदीहरुबाट महाकाली नदीमा समाहित हुने पानीको वार्षिक परिमाण ९.९९ अर्ब घनमिटर हुने देखिन्छ ।
नेपालको बाँकी क्षेत्रफल २९,०३७ वर्ग किलोमटरमध्ये २१,१०० बर्ग किलोमिटर नेपाल तराईको क्षेत्रफल र बांकी ७,९३७ वर्ग किलोमिटर क्षेत्र भित्र चुरे पहाड तथा महाभारत लेकका केही अंश पर्दछन् । यो क्षेत्रका विभिन्न स्थानहरुमा रहेका वर्षा मापन यंन्त्रहरुले औसत सालाखाला वार्षिक १,८९९.६० मिलिमिटर वर्षा मापन गरेका आधारमा यस २९,०३७ वर्ग किलोमिटर क्षेत्रमा वार्षिक औसत सालाखाला ५५.१६ अर्ब घनमिटर पानी वर्षाबाट प्राप्त हुने हिसाब निकालिएको छ । तर, यो परिमाणको पानीमध्ये अन्दाजी करिब ४० प्रतिशत पानी वाष्पीकरण र माटोको चिस्यान बढाउनेमा खर्च हुन्छ भने करिव ८.८६ अर्व घनमिटर पानी भूमिगत जलको पुनर्भरणमा खर्च हुन्छ । त्यसैले, माथि उल्लेखित तराइसहितको सो क्षेत्रमा करिब २४.३० अर्व घनमिटर पानी वार्षिक रुपमा जमिनको सतहमा बग्दछ । यो परिमाणको पानीमध्ये नेपालको तराईमा वार्षिक सालाखाला ६.२१ अर्ब घनमिटर जमिनको सतहको पानी र १.९४ अर्ब घनमिटर जमिनमुनिको पानी खर्च हुने हिसाब गर्दा जमिनको सतहबाट १८.०९ अर्ब घनमिटर पानी नेपालको सिमाना काटेर भारत प्रवेश गर्दछ ।
यसरी नेपालको जमिनबाट भारत प्रवेश गर्ने स्थानमा वार्षिक सालाखाला २०३.०१ अर्ब घनमिटर तथा ६.८७ अर्ब घनमिटर भूमिगत पानी गरी जम्मा २०९.८८ अर्ब घनमिटर पानी भारत प्रवेश गर्दछ । तर, वर्षातबाट प्राप्त हुने पानी जमिनमा खस्नेबित्तिकै यसको केही अंश बाष्पीकरण हुने, केही अंश जमिनको चिस्यान बढाउने कार्यमा खर्च हुने, केही अंश भूमिगत जलभण्डारको पुनर्भरणमा खर्च हुने तथा केही अंश सिचाई तथा अन्य कार्यमा खर्च हुने भएकाले सो सबै पानीलाई समावेश गरी हिसाब गरी पानीको उपलब्धताको हिसाब गर्न जरुरी हुन्छ ।
माथि उल्लेख गरिएझैं तराईको २१,१०० क्षेत्रफलमा वार्षिक सालाखाला १,८९९.६० मिलमिटर पानी पर्ने हिसाब गर्दा पूरै नेपालको औसत वार्षिक वर्षा २,२९५.९८ मिलिमिटर हुने देखिन्छ । यस हिसाबले नेपालमा वर्षाबाट प्राप्त हुने पानीको कूल परिमाण वार्षिक करिव ३३८.६१ अर्ब घनमिटर हुन्छ तथा नेपालमा वार्षिक रुपमा उपलब्ध पानीको परिमाण सालाखाला ३४८.२२ अर्ब घमिटर हुने देखिन्छ । साथै, नेपालमा वर्षातको समयमा तथा हिउदको समयमा क्रमशः १,८८१.५६ मिलिमिटर र ४१४.४२ मिलिमिटर पानी पर्ने देखिन्छ ।
जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा सहज हुने
हिउँदयामका लागि ६५४ मेगावाट बिजुली दिन भारत सहमत
जलवायु परिवर्तनको प्रभावबाट जोगिन सबै एकजुट हुनुपर्छ : ऊर्जामन्त्री खड्का
बालकुमारीमा विद्युत चुहावट भएर आगलागी
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का पानी पर्ने
चार महिनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात