सिरहामा आधाभन्दा बढी डिप बोरिङ अझै सञ्चालनमा आएनन्
जलसरोकार
मधेश: सिरहामा सिँचाइका लागि जडान गरिएका डिप बोरिङमध्ये आधाभन्दा बढी हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा रहेका ४३३ वटा डिप बोरिङमध्ये करिब ६० प्रतिशत अझै प्रयोगमा आउन नसकेका हुन ।
केन्द्र प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार प्राविधिक संरचना अभाव, विद्युत् ट्रान्सफर्मर जडान नहुनु, पाइपलाइन विस्तारमा ढिलाइ र स्थानीय समिति गठनमा चासो नहुनुजस्ता कारणले धेरै बोरिङ निष्क्रिय अवस्थामा रहेका छन् ।
उनका अनुसार गोलबजार नगरपालिकामा जडान गरिएका ५४ मध्ये ३२, धनगढीमाई नगरपालिकामा २४ मध्ये १७, भगवानपुर र नवराजपुर गाउँपालिकामा सात–सात बोरिङमध्ये पाँच–पाँच, कर्जन्हा नगरपालिकामा २८ मध्ये १६, विष्णुपुर गाउँपालिकामा पाँचमध्ये तीन र सखुवानन्कारकटी गाउँपालिकामा १० मध्ये एक पनि सञ्चालनमा छैन ।
यस्तै, बरियारपट्टी गाउँपालिकामा १७ मध्ये १०, मिर्चैया नगरपालिकामा ३३ मध्ये २४, अर्नमा गाउँपालिकामा १५ मध्ये १४, सिराहा नगरपालिकामा २६ मध्ये १५, कल्याणपुरमा एक, लक्ष्मीपुर पतारीमा २१ मध्ये सबै, सुखीपुरमा १० र नरहा गाउँपालिकामा ४१ मध्ये ३२ वटा सञ्चालनमा आउन सकेका छैनन् । लहान नगरपालिकामा पनि १६ मध्ये १३ वटा निष्क्रिय अवस्थामा छन् ।
“कतिपय ठाउँमा डिप बोरिङ जडान भएको ३० वर्ष नाघिसक्दा पनि विद्युतीकरण, पाइपलाइन विस्तार र समिति गठन नभएकै कारण सञ्चालन हुन सकेको छैन,” केन्द्र प्रमुख महासेठले बताए ।
सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै दीर्घकालीन समाधानस्वरूप पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा गरेको छ । तर सिरहामा अहिलेसम्म जडान भएका बोरिङमध्ये अधिकांश निष्क्रिय रहँदा किसानहरू निराश बनेका छन् ।
स्थानीय किसान तथा सरोकारवालाहरूले करोडौँ खर्चेर जडान गरिएका बोरिङ तत्काल सञ्चालनमा ल्याउन र सरकारले वाचा गरेअनुसार नयाँ बोरिङ आवश्यक स्थानमा स्थापना गर्न जोड दिनुपर्ने बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको भाउ नयाँ रेकर्डमा, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा साढे तीन खर्बभन्दा बढीको आयात, १७ प्रतिशतले वृद्धि
-
किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत
-
बूढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजना निर्माणको तयारी
-
कोशीका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान
-
सुनकोशी-मरिण आयोजनाका ठेकेदार पटेल-रमण जेभीको करिब १ करोड बढी विद्युत् महसुल बक्यौता तिर्न बाँकी, काटियो लाइन