असार लाग्दा पनि परेन पानी, बारीमै सुक्न थाले मकै
जलसरोकार
गलेश्वर— असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन्। मकै लगाउने समय (फागुन–चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन्।
‘बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ,’ मालिका गाउँपालिका–४ का हिमबहादुर विकले बताए। हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका–२ का किसान टेकबहादुर विकले बताए। ‘मकै बारीमै सुक्न थालेका छन्, खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेँलिँदै गएको छ, खडेरीका कारण किरा र कमिलाले बीउ खाएर नास गर्न थालेका छन्,’ विकले भने।
उनका अनुसार वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन भएन। ‘अहिले खडेरी परेको छ, बारीमा छरेको मकै बारीमा सुक्न थाल्यो, यस्तै भयो भने भोकमरी हुने भयो,’ मङ्गला गाउँपालिका–२ की किसान राधिका पौडेलले गुनासो गरिन्।
लामो समयदेखि पानी परेको छैन। मौसम तातिरहेको र गर्मीले अलासतलास बनाइरहेकाले जनजीवन प्रभावित बनेको यहाँका किसानको भनाइ रहेको छ। ‘विपत्ति सुरु भएको छ, पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन, बारीमा छरेको मकै बारीमा नै सुकेको छ, रोपाइँ गर्न नपाएर किसान चिन्तित छन्, तरकारी र फलफूलका बिरुवा मर्न थाले, वनजङ्गल डढेलोले ध्वस्त भएका छन्, खानेपानीका मुहान सुकिराखेका छन,’ मालिका–६ का प्रेम सिउथानीले बताए।
हिउँदमा हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर जस्ता देखिएका छन्। यस वर्ष कम हिमपात हुँदा हिमालको हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएको छ। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयको भनाइ छ। ‘मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ, बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा छन्,’ दरबाङ बजारका होटल व्यवसायी अमृत सापकोटाले भने।
वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन्।
व्यावसायिक तरकारीखेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन्। लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताए।
कृषि ज्ञान केन्द्रका अनुसार विशेषगरी हिउँदे बालीमा खडेरीले असर पुर्याएको छ। सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बाँस्तोलाले बताए।
म्याग्दीमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारीखेती गर्नेहरुले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ। तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिक बताउँछन्। त्यसैगरी, लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन्।
बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि धमाधम रोपाइँ हुनुपर्ने लेकाली क्षेत्रमा रोपाइँ हुन सकेको छैन।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १.७५ प्रतिशतले घट्दा साताभरि कुल कारोबार २९ अर्ब रुपैयाँभन्दा बढी
-
सिक्टा सिँचाइ आयोजनाकाे चालु वर्षको चैत मसान्तसम्म ७८.३ प्रतिशत मात्रै भौतिक प्रगति
-
उत्पादन, प्रसारण र वितरणसँगै ऊर्जा व्यापारमा समेत निजी क्षेत्रको सहभागिता विस्तार गर्ने नीति ल्याउछौं : ऊर्जामन्त्री श्रेष्ठ
-
पेट्रोल–डिजेलकाे मूल्य घट्दा खाना पकाउने ग्यास १५० रुपैयाँले महँगियो
-
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
सरकारले घटायो, विद्युत् प्राधिकरणले घटाएन इन्धन सुविधा