मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
सबस्टेसन सञ्चालनका लागि कात्तिक १४ र १५ गते बिहान ४ देखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने
विकास थापा
काठमाडौं : मोरङको कानेपोखरी गाउँपालिका-२ मा निर्माण गरिएको केरौन १३२/३३ केभी सबस्टेसनको निर्माण सम्पन्न भएको छ। सबस्टेसन सञ्चालनमा ल्याउन आवश्यक उपकरण परीक्षण तथा प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले कात्तिक १४ गते शनिवार र १५ गते आइतबार विद्युत् आपूर्ति बन्द गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरण, केरौन १३२/३३ केभी सबस्टेसन आयोजनाले जारी गरेको सूचनाअनुसार दुवै दिन बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म दुहबी-दमक १३२ केभी प्रसारण लाइन बन्द गरिनेछ। यसबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण भाग तथा मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ।
केरौन सबस्टेसनका उपकरण परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि दुहबी-दमक १३२ केभी प्रसारण लाइनमा केरौनस्थित टावर नं. ६८ र ६९ बीचको भागमा लुप-इन लुप-आउट (लिलो) गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ। काम निर्धारित समयभन्दा अगाडि सम्पन्न भए विद्युत् सेवा समयअगावै सुचारु गरिने सूचनामा उल्लेख छ।
सबस्टेसनमा १३२/३३ केभीका ६३ एमभीएका दुईवटा र ३३/११ केभीको २२.५ एमभीएको एउटा ट्रान्सफर्मर जडान गरिएको छ। यसअनुसार सबस्टेसनको कुल ट्रान्सफर्मर क्षमता १४८.५ एमभीए रहेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने र प्राविधिक चुहावट घटाउन सहयोग पुग्नेछ। हाल दुहबी-रानी-रंगेली ३३ केभी लाइनबाट करिब ५० किलोमिटर दूरीमा विद्युत् आपूर्ति गर्नुपर्ने अवस्था छ। केरौन सबस्टेसन सञ्चालनमा आएपछि ३३ केभी लाइनको दूरी घट्ने, भोल्टेजमा सुधार आउने तथा लाइन ट्रिप हुने समस्या र प्राविधिक चुहावट कम हुने अपेक्षा गरिएको छ।
सबस्टेसनबाट विद्युत् वितरणका लागि पाँचवटा ११ केभी फिडरको व्यवस्था गरिएको छ। साथै, केरौन-रंगेली र केरौन-विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ। सबस्टेसन सञ्चालनमा आएपछि यी संरचनाबाट विद्युत् आपूर्ति गरिने आयोजना प्रमुख दर्शन राय यादवले बताएका छन्।
सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। करिब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो।
सबस्टेसन सञ्चालनमा आएपछि मोरङसहित पूर्वी नेपालका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ