जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
जलसरोकार
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना विकास गर्न लगानी, प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन तथा व्यापार प्रदर्शनी (ट्रेड सो) २०२६ मा सहभागी हुन क्यानडा पुगेका डाँगीले सम्मेलनलाई सम्बोधन गर्दै बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासमा क्यानडासँग रहेको अनुभव नेपालका लागि उपयोगी हुने बताए। उनले यी क्षेत्रमा नेपाल र क्यानडाबीच सहकार्यको सम्भावना रहेको उल्लेख गरे।
अध्यक्ष डाँगीले नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको उल्लेख गर्दै सुरक्षित, दिगो र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने जलविद्युत् आयोजना निर्माणमा नेपाल र क्यानडाबीच सहकार्यको ठूलो अवसर रहेको बताए। नेपालले पर्याप्त जलविद्युत् सम्भावना र विस्तार हुँदै गएको ऊर्जा बजार उपलब्ध गराउन सक्ने भएकाले दुवै देशका लागि दीर्घकालीन तथा पारस्परिक लाभदायक साझेदारीको अवसर रहेको उनको भनाइ थियो।
नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार गर्न, ठूला जलाशययुक्त आयोजना विकास गर्न, बाँध सुरक्षालाई प्रभावकारी बनाउन तथा आधुनिक प्रविधिको उपयोग बढाउन क्यानडाको अनुभव महत्त्वपूर्ण हुने उनले बताए।
सन् २००१ मा स्थापना भएको निजी ऊर्जा उत्पादकहरूको छाता संगठन इप्पानले नेपालको ऊर्जा क्षेत्रमा निजी लगानी प्रवर्द्धन र जलविद्युत् विकासका लागि निरन्तर काम गर्दै आएको अध्यक्ष डाँगीले बताए।
‘सन् १९९९ देखि जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएपछि नेपालको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भएको छ,’ उनले भने, ‘नेपालमा विद्युत् उत्पादनको कुल जडित क्षमता करिब ४.३ गिगावाट पुगेको छ, जसमध्ये ८० प्रतिशतभन्दा बढी क्षमता निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान छ।’
नेपालको जलविद्युत् सम्भावना विशाल रहेको उल्लेख गर्दै अध्यक्ष डाँगीले सन् २०१९ मा जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको आकलन तथा अन्य विभिन्न अध्ययनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना रहेको बताए। नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त तथा पम्प्ड स्टोरेज आयोजना विकासमार्फत नेपाल दक्षिण एसियाको स्वच्छ तथा हरित ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उनको भनाइ थियो।
नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको उल्लेख गर्दै डाँगीले यो लक्ष्य हासिल गर्न हालको क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता विकास गर्नुपर्ने बताए। यसका लागि निजी क्षेत्रको लगानी महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
यस लक्ष्यले नेपालको बढ्दो आन्तरिक विद्युत् माग पूरा गर्नुका साथै छिमेकी मुलुकमा विद्युत् निर्यात विस्तार गर्ने अवसरसमेत सिर्जना गर्ने उनले बताए। उत्पादन आयोजना, प्रसारण लाइन तथा अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधार विकाससँगै नेपालले छिमेकी देशहरूमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको जानकारी पनि उनले सम्मेलनमा गराए।
अध्यक्ष डाँगीले नेपालमा लगानी र अन्तर्राष्ट्रिय सहकार्यका लागि सम्भावना बोकेका प्रमुख आयोजनाहरूको चर्चा गर्दै तमोर जलाशय आयोजना (७६२ मेगावाट), दूधकोशी जलाशय आयोजना (६७० मेगावाट), बूढीगण्डकी जलाशय आयोजना (१,२०० मेगावाट) र माथिल्लो अरुण (१,०६० मेगावाट) लगायतका आयोजना महत्त्वपूर्ण रहेको बताए।
यी आयोजनासहित विकासका विभिन्न चरणमा रहेका अन्य आयोजनामा लगानी, आयोजना वित्त व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण तथा आधुनिक प्रविधिको प्रयोगका क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए।
नेपालको ९८ प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै अध्यक्ष डाँगीले जलविद्युत्ले आर्थिक वृद्धि, रोजगारी सिर्जना, जनजीवनको गुणस्तर सुधार र स्वच्छ ऊर्जा व्यापार विस्तारमा योगदान पुर्याइरहेको बताए। क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउन सके नेपाल दक्षिण एसियामा स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुन सक्नेमा उनले जोड दिए।
उनले जलविद्युत् आयोजना विकास, लगानी, अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणका क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, विकासकर्ता र प्राविधिक विज्ञलाई नेपालसँग सहकार्य गर्न आग्रह गरे।
क्यानडा ड्याम एसोसिएसनले ‘टाइड्स अफ चेन्ज’ अर्थात् ‘परिवर्तनका लहरहरू’ मूल विषयमा आयोजना गरेको सम्मेलनको प्रशंसा गर्दै अध्यक्ष डाँगीले यस्ता अन्तर्राष्ट्रिय मञ्चले ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। बाँध सुरक्षा, जलवायु उत्थानशीलता र दिगो जलविद्युत् विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको पनि उनले उल्लेख गरे।
कार्यक्रममा इप्पानको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, हालैको भोटेकोशी बाढीबाट प्राप्त महत्त्वपूर्ण पाठ तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो बन्ने
-
हिमाली विपद्को पूर्वसूचना र जलविद्युत् सुरक्षामा उपग्रह प्रविधि उपयोग गर्न ऊर्जामन्त्रीको जोड
-
सीमापार विद्युत् व्यापारमा निजी क्षेत्रलाई आशयपत्र, नयाँ अध्यायको सुरुवात
-
जलाशययुक्त आयोजनामा लगानी र प्रविधि सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पान अध्यक्ष डाँगीको आह्वान
-
नेपाल विद्युत् प्राधिकरणको खण्डीकरण होइन, सुदृढ पुनर्संरचना गरौँ
-
हिमाली विपद्को बदलिँदो स्वरूप : सौन्दर्यबाट रौद्रतातिर