सेयर बजार ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राप्ती नदीमा १३३ घडियाल गोही छाडियो

जलसरोकार
बिहीबार, साउन १५, २०८२ | १२:३२:२८ बजे

 

चितवन:  चितवन राष्ट्रिय निकुञ्जले प्रजनन् केन्द्रमा हुर्काइएका १३३ वटा घडियाल गोहीलाई गत आर्थिक वर्षको विभिन्न समयमा राप्ती नदीमा छाडेको छ। तीमध्ये दुईवटा भाले र बाँकी सबै पोथी छन्। संरक्षण प्रयासस्वरूप गरिएको यो पुनःस्थापनसँगै राप्ती नदीमा हालसम्म १,३३५ वटा गोही छाडिएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

निकुञ्जका अनुसार हालसम्म देशभरका विभिन्न नदीहरूमा जम्मा २,०९० घडियाल गोही छाडिएका छन्। तीमध्ये नारायणीमा ४१९, सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पुनःस्थापन गरिएको छ।

तर गोही संरक्षण प्रयासको प्रभावकारिता भने अपेक्षित देखिएको छैन। गोही प्रजनन् र पुनःस्थापन कार्यक्रम सञ्चालन हुँदै आए पनि नदीहरूमा गणना गर्दा भेटिने संख्यामा उल्लेख्य वृद्धि भएको छैन। गत वर्ष पुषमा राप्ती र नारायणी नदीमा गरिएको गणनामा जम्मा ३५२ वटा गोही मात्र देखिएका थिए।

हाल कसरास्थित घडियाल प्रजनन् केन्द्रमा ७८२ वटा गोही छन्। तीमध्ये १८५ यो वर्ष कोरलिएका, १५३ अघिल्लो वर्षका र बाँकी अघिल्ला वर्षका हुन्। केन्द्रमा एक पुरानो भाले गोही छुट्टाइएको भए पनि अरूको लिङ्ग पहिचान गरिएको छैन।

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रजाति हो, जुन विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमारलगायतका देशहरूमा पाइने गरेको भए पनि हाल नेपाल र भारतमा मात्र सीमित बनेको छ। सन् १९४० को दशकमा विश्वभर १० हजारभन्दा बढी घडियाल रहेको अनुमान गरिएको थियो। तर सन् १९७० सम्म आइपुग्दा यसको संख्या झन्डै २ प्रतिशतमा घटेपछि नेपालले सन् १९७५ मा चितवनको कसरामा प्रजनन् केन्द्र स्थापना गर्दै संरक्षण थालनी गरेको हो।

नदीमा बढ्दो मानवीय हस्तक्षेप, माछाको अन्धाधुन्ध मार, नदीजन्य पदार्थको उत्खनन्, प्रदूषण र बाढीका कारण गोहीको बासस्थान असुरक्षित बन्दै गएको निकुञ्जले जनाएको छ। नदीमा हरेक वर्ष गोही छाडिने गरे पनि ती दीर्घकालीन रूपमा बाँचेको पुष्टि हुने तथ्य कम छन्।

संरक्षणकर्मीहरूका अनुसार अब गोही संख्या बढाउने भन्दा पनि बाँचेको सुनिश्चितता, सुरक्षित बासस्थान, अनुगमन र अध्ययनलाई प्राथमिकता दिनु आवश्यक छ। गोही संरक्षणको प्रयास सफल बनाउन जनचेतना, वैज्ञानिक अनुगमन र पारिस्थितिक सन्तुलनमा जोड दिनुपर्ने आवश्यकता बढ्दै गएको छ।

प्रकाशित मिति : बिहीबार, साउन १५, २०८२ | १२:३२:२८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया