सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढीको १३ दिन : जलविद्युत् आयोजनामा कार्यरत ९१९ जना अझै सम्पर्कविहीन

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | १०:११:४३ बजे

 

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको १३ दिन बितिसक्दा पनि बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत ९१९ जना अझै सम्पर्कविहीन छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले तयार पारेको विवरणअनुसार बाढीबाट ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

इप्पानका अनुसार प्रभावित आयोजनामध्ये आठ वटा सञ्चालनमा रहेका र चार वटा निर्माणाधीन छन् । बाढीले आयोजनाका विद्युत्गृह, हेडवर्क्स, सुरुङका प्रवेशमार्ग, पहुँच सडक, आवास तथा अन्य संरचनामा क्षति पुर्‍याएसँगै त्यहाँ कार्यरत ठूलो सङ्ख्यामा जनशक्ति बेपत्ता भएका हुन् ।

बाढीको १३ दिनसम्म पनि सयौँ मानिसको अवस्था अज्ञात रहनुले आयोजनास्थलमा मानवीय उद्धारको चुनौती कति गम्भीर छ भन्ने देखाएको छ । भौतिक संरचनाको क्षति यकिन हुन बाँकी रहेकै अवस्थामा आयोजनामा कार्यरत श्रमिक, कर्मचारी तथा विदेशी नागरिकको खोजी कार्य नै अझै मुख्य प्राथमिकतामा छ ।

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजना बाढीबाट सबैभन्दा ठूलो मानवीय जोखिममा परेको देखिन्छ । इप्पानका अनुसार बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८७८ जनाको उद्धार भए पनि ठूलो सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन छन् ।

आयोजनामा कार्यरतमध्ये कोरियन, चिनियाँ र भारतीय नागरिकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । बाढीपछि आयोजनाका डिसेन्डर बेसिन, हेडवर्क्स र सुरुङ क्षेत्रमा खोजी केन्द्रित गरिएको छ । नेपाल सेना, ड्रोन टोली, सर्चडग तथा अन्य उद्धारकर्मी परिचालन गरेर खोजी जारी राखिए पनि भौगोलिक कठिनाइ र ठूलो मात्रामा थुप्रिएको माटो तथा भग्नावशेषले उद्धार चुनौतीपूर्ण बनेको छ ।

आइतबार डिसेन्डर बेसिन क्षेत्रमा ड्रोनमार्फत खोजी गरिएको तथा यसअघि भेटिएका दुई शव उद्धार गरिएको इप्पानले जनाएको छ । अब अडिट सुरुङबाट माथिल्लो क्षेत्रमा खोजीलाई तीव्रता दिने तयारी छ ।

रसुवागढीमा ९३ जना अझै बेपत्ता

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना बाढीबाट गम्भीर रूपमा प्रभावित अर्को आयोजना हो । आयोजनामा कार्यरत कर्मचारी, निर्माण कम्पनीका कामदार तथा ज्यालादारी श्रमिकसहित ९३ जना सम्पर्कविहीन रहेको इप्पानको तथ्याङ्कमा उल्लेख छ ।

विद्युत्‌गृहभित्रै मानिस फसेको हुनसक्ने आशंकामा खोजी गरिए पनि अहिलेसम्म कोही फेला पर्न सकेका छैनन् । विद्युत्गृहका विभिन्न तह तथा कन्ट्रोल रुमसम्म बाढीको माटो, हिलो र लेदो भरिएकाले उद्धार टोलीलाई भित्र प्रवेश गरी खोजी गर्न कठिनाइ भइरहेको छ ।

आफन्तको आग्रहमा स्थानीय ट्रेकिङ गाइडसहितको टोलीले पनि घट्टेखोलादेखि टिमुरेसम्मको क्षेत्रमा छुट्टै खोजी गरिरहेको छ ।

लाङटाङ खोलामा शव भेटिए पनि ३९ जना अझै सम्पर्कविहीन

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना पनि बाढीको ठूलो चपेटामा परेको छ । आयोजनाको सुरुङभित्र प्रवेश गरी खोजी गर्दा दुई शव भेटिएका छन् । तर, शवको अवस्था क्षतविक्षत भएकाले पहिचान हुन सकेको छैन ।

इप्पानका अनुसार आयोजनाका ३९ जना अझै सम्पर्कविहीन छन् । सुरक्षित स्थानमा पुगेर १९ जनाको भने उद्धार भइसकेको छ । सुरुङभित्रको खोजी कार्य पूरा भएको र अब भेटिएका शवको डीएनए परीक्षणमार्फत पहिचान गर्ने तयारी गरिएको छ ।

त्रिशूली–३ ‘बी’मा पनि मानवीय क्षतिको जोखिम

३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना मा पनि ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन छन् । आयोजनामा कार्यरत निर्माण कम्पनी, प्रवर्द्धक कम्पनी, परामर्शदाता, सुरक्षा गार्ड तथा इन्टर्नसिपमा रहेका इन्जिनियरिङ विद्यार्थीसमेत गरी १७८ जना सम्पर्कविहीन रहेको इप्पानको तथ्याङ्कमा उल्लेख छ ।

यस आयोजनामा कार्यरत फेवा कन्स्ट्रक्सनका १३ जना पछिल्लो पटक सम्पर्कमा आएपछि उक्त कम्पनीबाट सम्पर्कविहीन हुनेको सङ्ख्या घटेको छ । आयोजनाको अडिट सुरुङ सफा गरी ठूला उपकरण लैजाने काम अघि बढाइएको र त्यसपछि खोजी कार्यलाई थप तीव्र बनाउने तयारी छ ।

भौतिक संरचनाभन्दा ठूलो प्रश्न मानवीय सुरक्षाको

भोटेकोशी बाढीले जलविद्युत् आयोजनाको जोखिम व्यवस्थापनमाथि पनि गम्भीर प्रश्न उठाएको छ । आयोजनास्थलमा ठूलो जनशक्ति परिचालन हुने भए पनि बाढी, पहिरो वा आकस्मिक प्राकृतिक विपत्तिको अवस्थामा श्रमिक तथा कर्मचारीको सुरक्षित स्थानान्तरण, सञ्चार प्रणाली र आपत्कालीन उद्धार संयन्त्र कति प्रभावकारी छन् भन्ने प्रश्न अहिले सतहमा आएको छ ।

इप्पानको तथ्याङ्कले बाढीबाट ६६९ मेगावाट क्षमताका आयोजना प्रभावित भएको देखाए पनि वास्तविक क्षतिको मूल्याङ्कन अझै हुन बाँकी छ । उत्पादन रोकिँदा हुने आम्दानीको क्षति, संरचना पुनर्निर्माणको लागत, आयोजना सम्पन्न हुन लाग्ने थप समय र वित्तीय दायित्वले यस क्षेत्रमाथि थप दबाब सिर्जना गर्ने देखिन्छ ।

विशेषगरी निर्माणाधीन आयोजनामा काम गर्ने ठूलो श्रमिक जनशक्ति एकै स्थानमा रहने भएकाले प्राकृतिक विपत्तिको पूर्वसूचना, सुरक्षित आश्रयस्थल, वैकल्पिक सम्पर्क प्रणाली र तत्काल उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था अनिवार्य देखिएको छ ।

आयोजनाक्षमताअवस्थासम्पर्कविहीन
माथिल्लो त्रिशूली–१२१६ मेगावाटनिर्माणाधीन५५५
रसुवागढी१११ मेगावाटसञ्चालन९३
रसुवा–भोटेकोशी१२० मेगावाटनिर्माणाधीन
लाङटाङ खोला२० मेगावाटपरीक्षण सञ्चालन३९
चिलिमे२२ मेगावाटसञ्चालन
मैलुङ खोला५ मेगावाटसञ्चालन
माथिल्लो त्रिशूली–३ ‘ए’६० मेगावाटसञ्चालन३९
माथिल्लो त्रिशूली–३ ‘बी’३७ मेगावाटनिर्माणाधीन१७८
त्रिशूली जलविद्युत् केन्द्र२४ मेगावाटसञ्चालन
देवीघाट जलविद्युत् केन्द्र१४.१ मेगावाटसञ्चालन
मिडिल त्रिशूली गङ्गा१५.६ मेगावाटनिर्माणाधीन
नुवाकोट सौर्य जलविद्युत् आयोजना२५ मेगावाटसञ्चालन

 

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | १०:११:४३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया