सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-१ बाढीपीडितका परिवारलाई राहत प्याकेज घोषणा गर्दै तीन कम्पनी

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | ०७:४७:२५ बजे

काठमाडौं : गत भदौ १०  मा आएको अभूतपूर्व बाढीबाट प्रभावित २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत कामदार तथा कर्मचारीका परिवारका लागि राहत प्याकेज ल्याउने तयारी गरिएको छ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एनडब्लुईडीसी) ले आयोजनामा कार्यरत तीनवटै कम्पनीले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारका लागि जीवनयापनमा सहयोग पुग्ने राहत प्याकेज तयार गरिरहेको जनाएको छ। उक्त राहत प्याकेज यसै साता घोषणा गर्ने तयारी गरिएको कम्पनीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार बाढी आउँदा आयोजनास्थलका विभिन्न क्षेत्रमा करिब १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए। तीमध्ये शनिबारसम्म ८७६ जनाको उद्धार भएको छ भने ५५७ जना अझै सम्पर्कविहीन छन्।

आयोजनामा इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) ठेकेदार डुसान एनर्बिलिटी तथा दुई उपठेकेदार कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना र एन्ड्रिट्ज हाइड्रो प्रालिका कामदार तथा कर्मचारी कार्यरत रहेको एनडब्लुईडीसीले जनाएको छ।

उद्धार प्राथमिकतामा पर्दा राहत घोषणा ढिला

एनडब्लुईडीसीले प्रभावित परिवारका लागि तत्काल राहत घोषणा गर्न ढिलाइ हुनुको कारण खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राख्नु रहेको जनाएको छ।

बाढीपछि कम्पनीहरूले सुरक्षा निकायलाई जारी खोज तथा उद्धार कार्यमा प्राथमिकताका साथ सहयोग र समन्वय गर्दै आएकाले तत्काल राहत प्याकेजको तयारी तथा घोषणा केही ढिला भएको विज्ञप्तिमा उल्लेख छ।

शनिबार माथिल्लो त्रिशूली-१ आयोजनास्थलमध्ये एक स्थानबाट एक जना कामदारको उद्धार भएपछि कम्पनीले अझै भग्नावशेषमा फसेका हुन सक्ने व्यक्तिको उद्धारलाई लक्ष्य बनाएर सुरक्षा निकायलाई सहयोग थप तीव्र बनाएको जनाएको छ।

कम्पनीले बाढीका बेला आयोजनाका विभिन्न कार्यस्थलमा रहेका व्यक्तिको सूची तयार गरिसकेको र कामदार तथा कर्मचारीको अवस्थाबारे यकिन भएपछि सम्बन्धित परिवारलाई जानकारी गराउने जनाएको छ।

विभिन्न स्रोतबाट आएको सूचना पुष्टि भएपछि मात्र परिवारलाई जानकारी

एनडब्लुईडीसीले सरकार तथा अन्य विभिन्न स्रोतबाट कामदार र कर्मचारीको अवस्थासम्बन्धी सूचना प्राप्त भइरहेको जनाएको छ। तर प्राप्त सूचना पुष्टि भएपछि मात्र सम्बन्धित परिवारलाई जानकारी गराइने कम्पनीको भनाइ छ।

ईपीसी ठेकेदार डुसान एनर्बिलिटी तथा उपठेकेदार पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना र एन्ड्रिट्ज हाइड्रो प्रालिले पनि आफ्ना कामदार तथा कर्मचारीको अवस्था पत्ता लगाउन सक्दो प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार हाल पनि कामदार तथा कर्मचारीको अवस्थाबारे यकिन गर्नु नै सबैभन्दा पहिलो प्राथमिकता हो।

एनडब्लुईडीसीले जारी खोज तथा उद्धार प्रयासलाई सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै बाढीबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेको छ। कम्पनीले बाढीका पीडित परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ।

कम्पनीले माथिल्लो त्रिशूली-१ आयोजनामा कार्यरत आफ्ना कामदार तथा कर्मचारीको अवस्थाबारे निरन्तर निगरानी गर्ने र समय-समयमा अद्यावधिक जानकारी सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले आफ्ना कामदार तथा कर्मचारीको अवस्थासम्बन्धी नियमित अद्यावधिक आफ्नो आधिकारिक वेबसाइट मार्फत पनि उपलब्ध गराउने जनाएको छ।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | ०७:४७:२५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया