ऊर्जा मन्त्री भन्छन् : तीन डेस्क सक्रिय, त्रिशूली-३ 'बी' का परिवार भन्छन् : हामीलाई वक्तव्य होइन, परिणाम चाहियो
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चिलिमे, रसुवागढी तथा त्रिशूली-३ 'बी' क्षेत्रमा भइरहेको उद्धार कार्यलाई सहयोग पुर्याउन नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयबाट तीनवटा डेस्क टोली निरन्तर परिचालन भइरहेको बताएका छन्।
मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत वास्तविक समयको सूचना तथा अद्यावधिक विवरण संकलन र आदान-प्रदान, फिल्डमा आवश्यक समन्वय, उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा पठाउने काममा ती टोली सक्रिय रहेको बताएका हुन्। उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पूर्व कर्मचारी, सम्बन्धित आयोजनाका प्राविधिक तथा अन्य जनशक्तिसँग निरन्तर समन्वय गरी उद्धार कार्यलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्याइएको छ।

मन्त्रीले उद्धार प्रयासमा कार्यालयमै रहेर चौबीसै घण्टा सक्रिय रहेका डेस्क टोली, प्राविधिक कर्मचारी, विज्ञ, पूर्व कर्मचारी तथा आयोजनासँग सम्बन्धित जनशक्तिको योगदानप्रति धन्यवाद तथा सम्मान पनि व्यक्त गरेका छन्। तर मन्त्रीले उद्धारमा भइरहेको समन्वय र सहयोगबारे जानकारी सार्वजनिक गरिरहँदा अपर त्रिशूली-३ 'बी'मा अझै सम्पर्कविहीन रहेका व्यक्तिका परिवारले भने उद्धार कार्यको गति, प्राविधिक क्षमता र वास्तविक प्रगतिबारे गम्भीर प्रश्न उठाएका छन्।
‘हामी चमत्कार मागिरहेका छैनौं’
माथिललो त्रिशूली-३ 'बी'मा सम्पर्कविहीन रहेका व्यक्तिका परिवारको तर्फबाट सामाजिक सञ्जालमा गरिएको प्रतिक्रियामा भनिएको छ, ‘हामी चमत्कार मागिरहेका छैनौं। हामी तत्कालता, क्षमता र जवाफदेहिता मागिरहेका छौं।’
परिवारले समय बित्दै जाँदा आफ्ना लागि हरेक घण्टा जीवनभरजस्तै भइरहेको उल्लेख गर्दै सुरुङ उत्खनन गर्ने, भारी उपकरण चलाउने वा उद्धार टोली परिचालन गर्ने क्षमता परिवारसँग नभएको बताएका छन्। उद्धारको जिम्मेवारी राज्यको भएको उनीहरूको भनाइ छ।
उनीहरूले भूगोल अत्यन्त कठिन र उद्धार कार्य जोखिमपूर्ण रहेको स्वीकार गरेका छन्। तर कठिनाइलाई उद्धार कार्यको ढिलो प्रगतिको कारण मात्र बनाउन नहुने उनीहरूको तर्क छ।
‘हामी स्पष्ट, प्राविधिक रूपमा व्यवस्थित र निरन्तर तीव्र बनाइएको खोज तथा उद्धार अभियान हेर्न चाहन्छौं,’ परिवारको प्रतिक्रियामा भनिएको छ।
परिवारले त्रिशूली क्षेत्रका जलविद्युत् सुरुङबाट धेरै दिनपछि पनि मानिस जीवितै उद्धार भएका हालका घटनाले समय बित्दैमा आशा समाप्त गर्न नहुने देखाएको उल्लेख गरेका छन्।

परिवारका पाँच माग
सम्पर्कविहीन व्यक्तिका परिवारले सरकारसँग अपर त्रिशूली-३ 'बी' खोज तथा उद्धारका लागि छुट्टै र अधिकारसम्पन्न कमाण्ड स्थापना गर्न माग गरेका छन्।
उनीहरूले आवश्यक भारी उपकरण र सुरुङ उद्धारसम्बन्धी विशेषज्ञता ढिलाइ नगरी परिचालन गर्नुपर्ने बताएका छन्।
त्यस्तै, परिवारलाई उत्खनन तथा खोजीको वास्तविक प्रगतिबारे दैनिक पारदर्शी जानकारी दिनुपर्ने उनीहरूको माग छ।
परिवारले एउटै उपायमा सीमित नभई सुरुङभित्र पुग्न सकिने सबै प्राविधिक विकल्पको सम्भाव्यता परीक्षण गर्न पनि आग्रह गरेका छन्।
‘हाम्रा प्रियजन भेटिने सबै सम्भावना समाप्त नभएसम्म उद्धार कार्य निरन्तर हुनुपर्छ,’ परिवारले भनेका छन्।
‘आश्वासन होइन, मापन गर्न सकिने प्रगति चाहियो’
परिवारको प्रतिक्रियाको सबैभन्दा महत्वपूर्ण प्रश्न उद्धार संयन्त्रको गतिविधि र वास्तविक परिणामबीचको अन्तरसँग जोडिएको छ।
उनीहरूले प्रशासनिक प्रक्रिया, समन्वयको कमजोरी वा आवश्यक उपकरणको अभाव कुनै मानिसको जीवन गुम्ने कारण बन्न नहुने बताएका छन्।
‘हामी स्वयं उद्धार गर्न सक्दैनौं। कृपया हाम्रा प्रियजनको उद्धार गर्ने जिम्मेवारी पनि हामीमाथि नथोपर्नुहोस्,’ परिवारले सरकारसँग आग्रह गरेका छन्।
परिवारले अन्त्यमा स्पष्ट रूपमा भनेका छन्—
‘हामीलाई आश्वासन होइन, काम चाहिएको छ। हामीलाई वक्तव्य होइन, मापन गर्न सकिने प्रगति चाहिएको छ।’
मन्त्री श्रेष्ठले काठमाडौंस्थित प्रधान कार्यालयबाट तीनवटा डेस्क टोलीमार्फत चौबीसै घण्टा समन्वय र सहयोग भइरहेको बताएका छन्। तर अपर त्रिशूली-३ 'बी'मा आफ्ना परिवारका सदस्यको खोजी प्रतीक्षामा रहेका परिवारको प्रश्न भने फरक छ, काठमाडौंमा कति डेस्क सक्रिय छन् भन्नेभन्दा पनि, सुरुङभित्र खोजी कति अघि बढ्यो?
र, त्यो प्रश्नको उत्तर अब उद्धारसम्बन्धी वक्तव्यले होइन, मैदानमा देखिने वास्तविक प्रगतिले दिनुपर्ने माग परिवारको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो कारोबार दिन नेप्से १८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड
-
ब्रेक थ्रु नभएसम्म जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारको काम जारी राखिरहन्छौँ : नेपाली सेना
-
रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढ्यो
-
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
राष्ट्र बैंकले बजारबाट ३५ अर्ब निक्षेप खिच्दै
-
पहिरोले ३२ पाेल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध