सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कृष्णभीर पहिरो छल्न भित्रपट्टि नयाँ ट्र्याक, दुवैतर्फबाट २५२ मिटर खनियो

जलसरोकार
आइतबार, भदौ २१, २०८३ | १७:२९:१४ बजे

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोबाट सिर्जित समस्या समाधान गर्न पहिरो प्रभावित क्षेत्रको भित्रपट्टि नयाँ ट्र्याक निर्माण गर्ने काम अघि बढाइएको छ। सडक विभागका महानिर्देशकको सचिवालयका अनुसार दुवैतर्फबाट खनिएको करिब २५२ मिटर प्रारम्भिक ट्र्याक अहिले जोडिएको छ।

सचिवालयले अद्यावधिक विवरण सार्वजनिक गर्दै हाल जोडिएको ट्र्याकबाट तत्काल सर्वसाधारण सवारी सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पारेको छ। अहिले बनेको बाटो एक्स्काभेटर आवतजावत गर्न मिल्ने प्रारम्भिक ट्र्याक मात्र भएको सचिवालयले जनाएको छ।

कृष्णभीरमा गएको पहिरोले पुरानो सडक क्षेत्र र आसपासको भू-भागलाई प्रभावित बनाएपछि पहिरो भएको क्षेत्रको भित्रपट्टि वैकल्पिक पहुँचमार्ग निर्माण गर्ने काम सुरु गरिएको हो।

सडक विभागले सार्वजनिक गरेको प्राविधिक नक्सामा पहिरो प्रभावित भू-भागलाई ‘स्लाइड एरिया’ का रूपमा छुट्टै देखाइएको छ। सो क्षेत्रको भित्रपट्टि हुँदै नयाँ ट्र्याक निर्माण गर्ने डिजाइन तयार गरिएको देखिन्छ।

नक्साअनुसार पहिरो प्रभावित ढलानको माथिल्लो भागमा हालको सडक रहेको छ भने तलतर्फ पहिरोको क्षेत्र फैलिएको छ। अहिलेको काम पहिरो प्रभावित भागलाई पूर्ण रूपमा हटाएर पुरानै सडक सञ्चालन गर्नेभन्दा पनि उक्त जोखिमयुक्त क्षेत्रलाई ध्यानमा राख्दै भित्रपट्टिको भू-भाग हुँदै पहुँचमार्ग निर्माण गर्ने दिशामा केन्द्रित देखिन्छ।

भिरालो भू-भाग, कमजोर ढलान र पहिरोको जोखिमका कारण ट्र्याक निर्माणको काम प्राविधिक डिजाइनअनुसार सावधानीपूर्वक अघि बढाइएको सडक विभागले जनाएको छ।

‘डिजाइनबमोजिम सावधानीपूर्वक काम भइरहेको छ,’ सचिवालयले आफ्नो अद्यावधिक विवरणमा भनेको छ।

दुवैतर्फबाट ट्र्याक खन्दै लगेपछि जोडिएको २५२ मिटरको प्रारम्भिक मार्गले अब निर्माण उपकरणलाई पहिरो प्रभावित क्षेत्रभित्र तथा आसपासका आवश्यक स्थानमा आवतजावत गर्न सहज बनाउने अपेक्षा गरिएको छ। तर यो ट्र्याकलाई सवारीसाधन सञ्चालनयोग्य सडकका रूपमा विकास गर्न अझै थप काम आवश्यक पर्ने देखिन्छ।

सडक विभागले हालसम्म एक्स्काभेटर आवतजावत गर्न मिल्ने प्रारम्भिक ट्र्याक मात्र जोडिएको जनाएको छ। सर्वसाधारण सवारीसाधन कहिलेदेखि सञ्चालन गर्न सकिन्छ भन्नेबारे भने सचिवालयको पछिल्लो अद्यावधिक विवरणमा उल्लेख गरिएको छैन।

कृष्णभीरमा सडक सञ्चालनका लागि भइरहेको पछिल्लो प्रयासले तत्काल पहिरो हटाउने कामसँगै, पहिरो प्रभावित क्षेत्रलाई कसरी सुरक्षित रूपमा पार गर्ने भन्ने चुनौतीलाई पनि सम्बोधन गर्न खोजिएको देखिन्छ।

प्रकाशित मिति : आइतबार, भदौ २१, २०८३ | १७:२९:१४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया