रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढ्यो
जलसरोकार
मुस्ताङ : उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाकामा पछिल्ला दिनमा व्यापारिक चाप बढेको छ। रसुवागढी र तातोपानी नाका बाढी तथा पहिरोका कारण बन्द भएपछि व्यवसायीहरूले विकल्पका रूपमा कोरला नाका प्रयोग गर्न थालेका हुन्।
भदौ १० गतेको बाढीले रसुवागढी भन्सार ध्वस्त पारेको र पहिरोको जोखिमका कारण तातोपानी नाका पनि बन्द भएपछि कोरला नाकातर्फ व्यापारिक गतिविधि बढेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
आगामी दसैँ र तिहारलाई लक्षित गरी सामान आयात गर्न अहिले दैनिक औसत ५० भन्दा बढी रित्ता कन्टेनर मुस्ताङ हुँदै कोरला नाकातर्फ गइरहेका छन्। रसुवागढी नाका ठप्प भएपछि व्यवसायीहरूको आकर्षण कोरलातर्फ बढेको भन्सार कार्यालयका अधिकारीहरूले बताएका छन्।
व्यापारिक चाप बढेसँगै भन्सार विभागले तीन अधिकृत र तीन नायब सुब्बासहित छ जना कर्मचारी काजमा खटाएको छ। फलफूल तथा खाद्यान्नको जाँचपासका लागि प्लान्ट क्वारेन्टाइनका कर्मचारीसमेत मुस्ताङ पुगिसकेका छन्।
मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी रहेकामा थप कर्मचारी खटाइएपछि हाल कर्मचारीको संख्या २४ पुगेको छ। यसले बढ्दो व्यापारिक चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गत आर्थिक वर्षमा कोरला नाकाबाट करिब सात अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको थियो। सोही अवधिमा नाकाबाट तीन हजारभन्दा बढी विद्युतीय सवारीसाधन (इभी) भित्रिएका थिए।
चालु आर्थिक वर्षको साउन महिनामा मात्रै कोरला नाकाबाट २९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। २०८२ भदौदेखि वैकल्पिक नाकाका रूपमा सञ्चालनमा आएको कोरला अहिले चीनसँगको व्यापारका लागि मुलुकको प्रमुख व्यापारिक मार्गका रूपमा स्थापित हुँदै गएको छ।
रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाकामाथि निर्भरता बढे पनि बढ्दो व्यापारिक चापसँगै भन्सार, सडक, यातायात तथा अन्य पूर्वाधारको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो कारोबार दिन नेप्से १८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड
-
ब्रेक थ्रु नभएसम्म जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारको काम जारी राखिरहन्छौँ : नेपाली सेना
-
रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढ्यो
-
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
राष्ट्र बैंकले बजारबाट ३५ अर्ब निक्षेप खिच्दै
-
पहिरोले ३२ पाेल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध