ब्रेक थ्रु नभएसम्म जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारको काम जारी राखिरहन्छौँ : नेपाली सेना
जलसरोकार
काठमाडौं : नेपाली सेनाले बाढीले क्षति भएका जलविद्युत आयोजनाका सुरुङमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारको काम नरोकिने जनाएको छ। रसुवा बाढीमा विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र करिब १२१ जना फसेको अनुमान गर्दै सेनाले खोजी कार्य तीव्र बनाएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक सबै सुरुङमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार जारी रहने बताएका छन् ।
“१२१ जनामात्रै टनेलभित्र पसेको तथ्य देखिन्छ,” उनले भने, “जबसम्म सबै टनेल ब्रेक थ्रु हुँदैन, त्यसबेलासम्म हामी खोजी तथा उद्धारको काम जारी राखिरहन्छौँ।”
सहायक रथी थापाका अनुसार जलविद्युत आयोजनामा कार्यरत अन्य व्यक्तिहरू सुरुङको बाहिरी भागमा परेको हुन सक्ने अनुमानसमेत छ। सुरुङभित्र फसेका व्यक्तिको संख्या र अवस्थाबारे यकिन गर्न सबै सुरुङमा खोजी तथा उद्धारको काम पूरा गर्न आवश्यक रहेको उनले बताए ।
विभिन्न आयोजनामा खोजी तीव्र
सेनाका अनुसार रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गरिरहेको छ।
त्यस्तै, त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस तथा सुरुङमा सेनाको टोली उद्धार उपकरणसहित निरन्तर खोजीमा खटिएको छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा अडिट–२ बाट फौज प्रवेश गरी अडिट–१ बाट बाहिरिएको छ। अडिट–२ को सुरुङबाट एक्साभेटरसहितका उपकरण लैजान सक्ने गरी बाटो बनाउने कामसमेत भइरहेको सहायक रथी थापाले जानकारी दिए ।
चिलिमे हाइड्रोमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो हटाउने काम गरिरहेको छ। माथिल्लो त्रिशूली–१ आयोजनामा पनि विदेशी प्राविधिकसहितको टोलीले थप खोजी गरिरहेको उनले बताए ।
बाढी र लेदोको गति १८० किलोमिटर प्रतिघण्टा रहेको अनुमान
सहायक रथी थापाले जलविद्युत आयोजनाका सुरुङमा भएको क्षतिको प्रारम्भिक आकलन गर्दा बाढी तथा लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए।
उनका अनुसार सुरुङको अवस्था, क्षतिको प्रकृति र सम्भावित जोखिमका आधारमा खोज तथा उद्धारको काम अघि बढाइएको छ। सेनाले सुरुङभित्र फसेका व्यक्तिको खोजीका लागि उपलब्ध जनशक्ति र उपकरण परिचालन गरिरहेको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो कारोबार दिन नेप्से १८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड
-
ब्रेक थ्रु नभएसम्म जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारको काम जारी राखिरहन्छौँ : नेपाली सेना
-
रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढ्यो
-
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
राष्ट्र बैंकले बजारबाट ३५ अर्ब निक्षेप खिच्दै
-
पहिरोले ३२ पाेल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध