अर्थात्, प्राधिकरणले सन् २०१९/२० का लागि उच्चतम माग २२२५.७ मेगावाटको प्रक्षेपण गरेको थियो । त्यो अनुमानित आँकडामा करिब आधा मात्र उच्च माग रह्यो । अर्थात् खपतको ढाँचामा आएको व्यापक परिवर्तनले लोड बढाउन सकेन ।
हिजो इनक्यान्डिसेन्ट चिमवाला बत्ती बालिन्थ्यो । त्यसको ठाउँ एलइडी बत्तीले लिएको छ । तीन वाटको बत्तीले एउटा कोठामा पर्याप्त उज्यालो पर्छ भने हिजो त्यति नै उज्यालोका लागि ६० वाटको तात्ने चिम बालिन्थ्यो । त्यही भएर अनुमानित मागभन्दा धेरै कम बिजुली उपभोग हुँदै आएको छ ।
लोडसेडिङका बेला प्राधिकरणले सबैले सीएफएल चिम प्रयोग गरिदिन आम उपभोक्ताहरुलाई हारगुहार गर्थ्यो । उत्पादन थप नभएको अवस्थामा लोडसेडिङ कम गराउन माग व्यवस्थापन (डिमान्ड साइड म्यानेजमेन्ट) एकमात्र भरपर्दो आधार थियो । प्रविधिमा आएको परिवर्तन र उपभोक्ताको सोचमा भएको विकासका कारण देशभर एलइडी बत्ती बाल्ने चलन बढ्दै गएको छ । यद्यपि उच्च चुहावट हुने र देहाती इलाकामा अझै पनि परम्परागत बत्ती नबालेका होइनन् । त्यसमा पनि कुनै दिन परिवर्तन आउनेछ ।
हिजो आपूर्ति पक्ष कमजोर रहेका बेला सबैले कम खपत गरिदिए हुन्थ्यो भन्ने अवस्थाबाट अहिले कसरी बढी खपत गराउने भन्ने पिरलो आइपरेको छ । हिजो यही अँध्यारोमा व्यापार चम्काउनेहरु पनि उत्तिकै थिए । प्राधिकरणले संस्थागत रुपमा उद्योगहरुलाई एकलौटी विद्युत् आपूर्ति गराएर उपभोक्तालाई अन्धकारमा राखेका थिए । आज स्थिति ठीक उल्टो छ । अब माथिल्लो तामाकोसीलगायतका आयोजना सम्पन्न भइसकेपछि बिजुली कसरी खपत गराउने भन्ने चिन्ता प्राधिकरणलाई छ ।
यो खपतमा पिरलोका धेरै अन्तर्यहरु छन् । पहिलो त, देशभर प्रसारण लाइन सुदृढ छैन । वर्षौंदेखि थालिएका प्रसारण लाइन आयोजना पूरा भएका छैनन् । उदाहरणका लागि हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनलाई लिन सकिन्छ । १२ वर्षअघि सुरु भएको यो आयोजनामा ६ वटा टावर ठड्याउन नपाएका कारण गत असोजमा करिब १५० मेगावाट बिजुली खेर फाल्नुपरेको थियो । हेटौंडाबाट पूर्वतर्फ जाने पुरानो १३२ केभीको प्रसारण लाइनले नधान्ने निश्चित थियो । त्यही भएर विश्व बैंकको ऋणमा यो लाइन बनाउन थालियो । तर प्रदेश ५ सरकारले आवश्यक समन्वय नगरिदिंदा ६ वटा टावर गाड्न पाइएन । यो लाइन अधूरो भएका कारण कालीगण्डकी ‘ए’ (१४४ मेगावाट) को बिजुली पूर्व जाँदैन ।
त्यसैगरी हेटौंडा-इनरुवा ४०० केभी प्रसारण लाइनमा पनि विभिन्न राजनीतिक दलका नेताहरुबाटै अवरोध छ । कोशी कोरिडर, सोलु कोरिडर, काबेली, मस्र्याङ्दी कोरिडरलगायत अधिकांश आयोजनाहरु समस्याग्रस्त छन् । यी प्रसारण लाइन निर्माण नभएसम्म निजी क्षेत्रले उत्पादन गर्ने बिजुली पनि खेरै जान्छ भने प्राधिकरणको प्रणालीमा आबद्ध हुन आएका बिजुलीलाई पनि वारपार गराउन सकिंदैन, जसले गर्दा मुलुकको विद्युत् प्रणाली दीगो र भरपर्दो हुन सकिरहेको छैन ।
प्रसारण लाइन बनाउने जिम्मा प्राधिकरणको मात्र हो भन्ने सोच सबै सरकारी निकायमा व्याप्त छ । एउटा रुख काट्न संघीय मन्त्रिपरिषद्सम्म पुग्नुपर्छ । अझ मन्त्रिपरिषद्बाट निर्णय भए पनि जिल्ला वन अधिकृत (डीएफओ) ले रुख काट्न इजाजत दिँदैन । उसलाई अनेक अनौपचारिक तवरले मनाउनु र रिझाउनुपर्छ ।
राज्यकै निकायले गरेको काममा राज्यकै अर्काे निकायले भाँजो हाल्ने प्रवृत्ति व्यापक छ । त्यसमाथि आफ्नो जग्गामा प्रसारण लाइनका टावर गाड्न अधिकांश व्यक्तिले दिंदैनन् । तिनै व्यक्तिहरुलाई विभिन्न राजनीतिक दलका भुरेटाकुरे नेताहरुले उचालिदिन्छन् । र, यो समस्या मुलुकको एउटा दीर्घ रोग सावित भएको छ । प्रसारण लाइन मुनि परेका जग्गाको उचित मुआब्जा दिने बन्दोबस्ती र नीतिगत प्रावधान छैन ।
मन्त्रिपरिषद्बाट निर्णय भए पनि जिल्ला वन अधिकृत (डीएफओ) ले रुख काट्न इजाजत दिँदैन । उसलाई अनेक अनौपचारिक तवरले मनाउनु र रिझाउनुपर्छ ।
सबै हजारौं किलोमिटर यस्ता लाइनमुनिका जग्गालाई मुआब्जा दिएर साध्य पनि चल्दैन । दिने हो भने प्रसारण लाइन बनाउनै सकिंदैन । कहाँसम्म भने कोसी कोरिडरको प्रसारण लाइन सप्तकोसी नदीनेर प्राधिकरणले टावर बनाउन खोज्दा सरिता गिरीले व्यक्तिको जग्गामा टावर राख्न पाइँदैन भनी टाङ अड्याइन् । यी केही उदाहरण मात्र हुन् । चाहे त्यो उपत्यका होस् वा सिमेन्ट उद्योगसम्म लैजाने प्रसारण लाइन, सबैमा उही समस्या व्याप्त छ । यसलाई राज्यले उचित तवरले निकास नदिएसम्म बिजुलीको दीगो र भरपर्दो आपूर्ति हुन सक्दैन ।
गत साता ढल्केबर-मुजफ्फपुर ४०० केभी नेपाल भारत अन्तर्देशीय प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आयो । यो लाइनबाट बिजुली ल्याए पनि नल्याए पनि प्राधिकरणले वर्षको एक अर्ब ९ करोड रुपैयाँ प्रसारण शुल्क (व्हिलिङ चार्ज) बापत भारतलाई तिर्नुपर्छ । २५ वर्षसम्म अनवरत रुपमा यस्तो शुल्क तिर्न प्राधिकरण बाध्य छ ।
भारतबाट आउने बिजुली र त्यसको महसुल पूर्वनिर्धारित छ । तर नेपालबाट जाने बिजुलीको कुनै अत्तोपत्तो छैन । सम्झौता नै त्यसरी गरिएको छ । हामीकहाँ बढी भएको बिजुली भारतले किन्ने कुनै प्रावधान छैन । नेपाल र भारतबीच सन् २०१४ मा भएको ऊर्जा व्यापार सम्झौताले बन्दोबस्त गरेका प्रावधानहरु लागू हुँदैनन् । व्यापार सम्झौता गर्ने तर सीमापार बिजुली निकासीसम्बन्धी निर्देशिका जारी गरेर व्यापारलाई झन्डै पूर्ण प्रतिबन्ध लगाउने भारतको नियत देखियो । अझ पनि उक्त निर्देशिकामा सुधार गरे पनि मुद्दा ज्यूँका त्यूँ छ ।
नेपाल र भारतबीच विद्युत्को व्यापारमा केही अवरोधहरु छन् । पहिलो, नेपालमा बिजुलीको मौसमी बचत (वर्षायाम) छ । हिउँदयाममा फेरि भारतसितै किन्नुपर्ने बाध्यता छ । माथि उल्लिखित प्रसारण लाइनको समस्याका कारण लक्ष्मीपूजाका दिनमा पनि केही घण्टालाई भारतबाट एक सय ५० मेगावाट बिजुली आयात गर्नुपर्यो । हिउँदयाममा पनि जगेडा हुने अवस्था छैन ।
दोस्रो, देशभित्र प्रसारण लाइनको सञ्जाल विस्तार र विकास हुन सकेको छैन । प्रसारण लाइन निर्माणमा पनि नेताहरुको लघुसोच, नियत र राजनीतिका कारण स्थानीय तहमा निकै बाधा व्यवधान छ । खिम्ती ढल्केबर २२० केभीको प्रसारण लाइनको सिन्धुली खण्डमा माओवादीका एकजना नेताले टाङ अड्याइदिए, जसले गर्दा त्यो खण्डको निकास पाउन चार वर्ष लाग्यो ।
आन्तरिक प्रसारण लाइनको बन्दोबस्ती नभएकै कारण एक ठाउँबाट उत्पादित बिजुलीलाई अर्को ठाउँमा प्रसार गर्न सकिएन, जसले गर्दा बिजुलीको सुनिश्चितता भएन । तेस्रो, भारतको राजनीतिक तहमा उचित संवाद भएन । दुई देशका नेताहरुबीच सहमति भए पनि भारतीय ब्यूरोक्रेसीले नेपालमा केही गर्नै दिंदैन । महाकाली सन्धि भएर पनि कार्यान्वयन नहुनुमा भारतीय ब्यूरोक्रेसी जिम्मेवार भएजस्तै ।
हाम्रा नेता र मन्त्रीहरुले कहिले पनि भारतमा नेपालको बिजुलीको व्यापारमा के कस्ता समस्या छन् भन्ने कुरामा कहिले पनि गम्भीर भएनन् । चौथो, नेपालमा उत्पादित बिजुली अत्यन्त महँगो छ । तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताबिना कुनै पनि वस्तु निकासी हुन सक्दैन ।
नेपालको जलविद्युत् कमिसन र माफियाकरणले ग्रस्त छ । चाहे निजी क्षेत्रले बनाएको होस् वा सार्वजनिक (प्राधिकरण) क्षेत्रले, यो र त्यो अनेक बहाना गरी आयोजनाको लागत अत्यधिक उच्च तुल्याउने गरिन्छ ।
नेपालको बिजुली प्रतियुनिट भारतको भन्दा एक पैसा भए पनि सस्तो हुनैपर्छ अनि मात्र त्यो निकासीयोग्य हुन्छ । नेपालमा अपार सम्भावना भएर पनि भारतले नवीकरणीय ऊर्जाका रुपमा सौर्य ऊर्जालाई बढी जोड दिएको एउटा कारणमध्ये यो पनि हो ।
पाँचौ, नेपालसँग बिजुली खरिद नै नगर्ने भारतको अघोषित नीति ।
नेपालको जलविद्युत् कमिसन र माफियाकरणले ग्रस्त छ । चाहे निजी क्षेत्रले बनाएको होस् वा सार्वजनिक (प्राधिकरण) क्षेत्रले, यो र त्यो अनेक बहाना गरी आयोजनाको लागत अत्यधिक उच्च तुल्याउने गरिन्छ ।
नेपाल र भारतबीच बिजुली व्यापारको गाँठो फुक्यो भने नेपालको विकास तीव्र गतिमा हुन्छ, जुन आन्तरिक र भित्री नियतका हिसाबले भारत यहाँ विकास होस् भन्ने चाहँदैन । भरतमोहन अधिकारीले आफ्नो पुस्तकमा वीपी राजमार्ग किन दुई लेनको मात्र बन्यो भन्ने उल्लेख गरेका छन् । भारतको भित्री नियत उक्त पुस्तकले दृष्टान्त दिएको एउटा प्रकरणले छर्लङ हुन्छ ।
यस्तो जटिल रुपमा जेलिएको यो मुद्दालाई सहज रुपमा अवतरण गराउन सक्ने खुबी नेपालको न नेताहरुमा छ, न त कर्मचारीतन्त्रमै । नेता त्यो हो जसले राज्यको आवश्यकता सम्बोधन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरी आफू इमानदारिताका साथ लागिरहन्छ ।
हिजो टनकपुरमा गिरिजाप्रसाद कोइरालाई सही गराएदेखि संसदबाट महाकाली सन्धि पारित नगराएसम्म भारतका कुनै दलका नेताहरु चैनले बसेनन् । सन्धि गराएरै छाडे । उनीहरुको कोणबाट हेर्दा उनीहरु आफ्नो देशका लागि गरे । हाम्रा नेता (एमाले, कांग्रेस र राप्रपाहरु) ले आफ्नो देशका लागि गरेनन्, आफू र आफ्नो परिवारका लागि गरे । कुर्सीका लागि गरे, पैसाका लागि गरे र राष्ट्र हित विपरित निर्णय लिए ।
नाेट : पत्रकार विकास थापा द्वारा लिखित विचारहरूकाे संग्रह
मंसिर ३, २०७७ बुधवार ९:८ बजे
हावाहुरीसहित भारी वर्षाको सम्भावना
जनताको कामलाई छिटोछरितो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
माथिल्लो त्रिशुली थ्री बीको लट २ को प्रतिस्पर्धाबाट एण्ड्रिज हाइड्रो बाहिरियो, लट १ को ठेक्का फेवा कन्स्ट्रक्सनलाई
स्थानीय तहमा आएको बजेटलाई पूर्ण कार्यान्वयन गर्न मन्त्री खड्काको आग्रह
आज तीन प्रदेशमा भारी वर्षा हुने
वर्षायाममा प्रतिस्पर्धी ठेकेदार कम्पनीका इन्जिनियरले भौगोलिक विकटता स्थलगत रुपमा परख गर्न नपाएपछि जगदुल्ला हाइड्रोपावरको म्याद थप