सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्र बैंकले बजारबाट ३५ अर्ब निक्षेप खिच्दै

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | ११:०५:५८ बजे

 

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६० दिनका लागि उक्त रकम संकलन गर्न सोमबार बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि ब्याजदर नियन्त्रण तथा तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत प्रणालीबाट रकम खिच्दै आएको छ।

सोमबार अनलाइन खरिद प्रणालीमार्फत हुने बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकम बाँडफाँट गर्दा काउन्टर पार्टीहरूले बोल गरेको ब्याजदरमध्ये सबैभन्दा कम दरलाई प्राथमिकता दिइनेछ। यसरी कम ब्याजदर बोल गर्ने रकमलाई क्रमशः बाँडफाँट गर्दै कुल आह्वान रकम ३५ अर्ब रुपैयाँसम्म पुर्‍याइनेछ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ हुनेछ। त्यसपछि १० करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

सोमबार संकलन गरिने निक्षेपको साँवा तथा ब्याज २०८३ कात्तिक २० गते भुक्तानी हुनेछ। राष्ट्र बैंकका अनुसार यस्तो निक्षेप संकलन उपकरण बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा समेत प्रयोग गर्न सक्नेछन्।

केन्द्रीय बैंकले बजारमा उपलब्ध अधिक तरलता सोस्दै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। पछिल्लो समय वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेकाले राष्ट्र बैंकले निक्षेप संकलनमार्फत रकम तानिरहेको हो।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | ११:०५:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया