सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाढीको १२औँ दिन : जलविद्युत्‌ आयोजनामा उद्धार र खोजी कहाँ पुग्यो?

जलसरोकार
आइतबार, भदौ २१, २०८३ | २०:३२:५९ बजे

काठमाडौं : भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि प्रभावित जलविद्युत्‌ आयोजनामा खोजी तथा उद्धार कार्य १२औँ दिनसम्म पनि फरक-फरक चरणमा पुगेको छ। कतै सुरुङभित्रको खोजी सकिएर बाहिरी क्षेत्रमा खोजी विस्तार गरिएको छ भने कतै भारी उपकरण भित्र्याएर खोजी तीव्र बनाउने तयारी भइरहेको छ। केही आयोजनामा भने सुरुङभित्र खोजी गर्दा थप व्यक्ति नभेटिएपछि उद्धार कार्य बन्द गरिएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भदौ २१ गतेसम्मको विवरण समेटेर सार्वजनिक गरेको तथ्यपत्रमा भोटेकोशी-त्रिशूली बाढीबाट सञ्चालनमा रहेका ८ र निर्माणाधीन ४ गरी १२ वटा जलविद्युत्‌ आयोजना प्रभावित भएको उल्लेख छ। ती आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट रहेको छ।

तर बाढीको सुरुआती दिनमा मुख्य चुनौती मानिसको उद्धार थियो भने १२औँ दिनसम्म आइपुग्दा विभिन्न आयोजनामा खोजीको प्रकृति नै फरक हुन थालेको छ।

माथिल्लो त्रिशूली-१ : सुरुङ र हेडवर्क्स क्षेत्रमा खोजी

२१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली-१ आयोजनामा सुरुङ तथा हेडवर्क्स क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी जारी छ।

इप्पानको विवरणअनुसार आइतबार आयोजनाको तीनवटा डि–सेन्डर बेसिन सफा गरिएको थियो। शनिबार भेटिएका दुई शव नेपाली सेनाले बेसिनको तल्लो भागबाट निकालेको थियो। मानिसलाई प्रत्यक्ष रूपमा भित्र पठाउन कठिन तथा जोखिमपूर्ण भएकाले डि-सेन्डर बेसिनभित्र इन्फ्रारेड (आईआर) क्यामेरा जडित ड्रोन पठाएर भित्रको अवस्था निरीक्षण तथा सम्भावित व्यक्तिको खोजी गरिएको थियो। नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली तथा अन्य प्राविधिक टोली खोजीमा सहभागी रहेको उल्लेख छ।

कम्पनीले सोमबारबाट अडिट नम्बर ३ सुरुङमार्फत खोजी कार्यलाई थप तीव्र बनाउने जनाएको छ। बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत रहेको र हालसम्म ८७८ जनाको उद्धार गरिएको इप्पानको तथ्यपत्रमा उल्लेख छ।

रसुवागढी : विद्युत्‌गृहभित्र खोजी सकिएपछि बाहिरी क्षेत्रमा

१११ मेगावाटको रसुवागढी जलविद्युत्‌ आयोजनामा विद्युत्‌गृहभित्र कर्मचारी फसेको हुन सक्ने आशंकामा गरिएको खोजीबाट कसैलाई जीवित अवस्थामा फेला पार्न नसकिएपछि खोजी कार्य बाहिरी क्षेत्रमा विस्तार गरिएको छ।

इप्पानका अनुसार आइतबार विद्युत्‌गृहको संरचना, आवास क्षेत्र र कार्यालय रहेका स्थानमा स्थलगत खोजी जारी राखिएको थियो। कम्पनीका कार्यकारी निर्देशक पुष्कर अमात्यका अनुसार हराइरहेका व्यक्तिका आफन्तको अनुरोधमा ट्रेकिङ गाइडहरूको समूहले घट्टे खोलादेखि टिमुरेसम्मको क्षेत्रमा पनि खोजी गरिरहेको छ।

रसुवागढीबाट जलविद्युत्‌ केन्द्रका कर्मचारी, निर्माण कम्पनीका कामदार तथा कर्मचारी र ज्यालादारी कामदारसहित ९३ जना अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। विद्युत्‌गृहभित्र चार तल्लासम्म बाढीको माटो, हिलो र लेदो भरिएको पाइएको थियो।

रसुवा-भोटेकोशी : एक जनाको शव भेटियो, तीन अझै अज्ञात

१२० मेगावाटको निर्माणाधीन रसुवा-भोटेकोशी जलविद्युत्‌ आयोजनामा हराइरहेका व्यक्तिमध्ये एक जनाको शव भेटिएको छ।

इप्पानका अनुसार आयोजनामा कार्यरत चालकको शव फेला परेको हो। आयोजनाबाट हराइरहेका दुई चिनियाँ नागरिकसहित तीन जनाको अवस्था अझै अज्ञात छ। पाँच जना भने सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका थिए।

लाङटाङ खोला : सुरुङभित्र दुई शव भेटिएपछि खोजी बन्द

२० मेगावाटको लाङटाङ खोला जलविद्युत्‌ आयोजनामा भने सुरुङभित्र खोजी गर्दा दुई जनाको शव भेटिए पनि अन्य व्यक्ति नभेटिएपछि खोजी कार्य बन्द गरिएको छ।

इप्पानका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आयोजनाको पेनस्टक पाइप काटेर सुरुङभित्र प्रवेश गरी खोजी गरेको थियो। भेटिएका दुवै शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन। डीएनए परीक्षणमार्फत पहिचान गरी परिवारलाई हस्तान्तरण गर्ने तयारी रहेको उल्लेख छ।

आयोजनामा कार्यरत ३९ जना अझै हराइरहेको र उनीहरू बाढीमा बगेको हुन सक्ने आशंका गरिएको छ। सुरक्षित स्थानमा पुगेर ज्यान जोगाएका १९ जनाको भने यसअघि नै उद्धार गरिएको थियो।

त्रिशूली थ्री बी : अडिट सुरुङ सफा गरेर भारी उपकरण लैजाने तयारी

३७ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली थ्री बी आयोजनामा पनि हराइरहेका व्यक्तिको खोजीलाई थप तीव्र बनाउने तयारी भइरहेको छ।

निर्माण कम्पनी फेवा कन्स्ट्रक्सनका थप १३ जना सम्पर्कमा आएपछि कम्पनीबाट हराइरहेका व्यक्तिको संख्या १४१ बाट १२८ मा झरेको इप्पानले जनाएको छ।

तर प्रवर्द्धक त्रिशूली जलविद्युत्‌ कम्पनीका कर्मचारी, कर्मचारीका परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षागार्ड तथा काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि गएका इन्जिनियरिङ विद्यार्थीसमेत गरी १७८ जना अझै हराइरहेको तथ्यपत्रमा उल्लेख छ।

आइतबार अडिट सुरुङ सफा गरी ठूला मेसिनरी उपकरण भित्र्याउने काम साँझसम्म सकिएमा सोमबारदेखि खोजी कार्यलाई थप तीव्र बनाउने तयारी गरिएको थियो।

अन्य आयोजनामा पनि खोजी जारी

इप्पानको तथ्यपत्रअनुसार नेपाल विद्युत्‌ प्राधिकरणका माथिल्लो त्रिशूली-३ ‘ए’ आयोजनाबाट ३९ जना हराइरहेका छन् र त्यहाँ खोजी कार्य जारी छ। त्रिशूली जलविद्युत्‌ केन्द्रबाट तीन तथा देवीघाट जलविद्युत्‌ केन्द्रबाट एक जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। निर्माणाधीन मैलुङ त्रिशूली गंगा आयोजनाबाट पनि दुई जना सम्पर्कविहीन छन्।

एउटै बाढी, तर उद्धारको अवस्था फरक-फरक

बाढीको १२औँ दिनसम्म आइपुग्दा प्रभावित जलविद्युत्‌ आयोजनामा खोजीको अवस्था एउटै छैन। माथिल्लो त्रिशूली-१ मा सुरुङ र हेडवर्क्सभित्र प्राविधिक खोजी जारी छ। रसुवागढीमा विद्युत्‌गृहभित्रको खोजीपछि बाहिरी क्षेत्रमा खोजी विस्तार गरिएको छ। त्रिशूली थ्री बीमा ठूला उपकरण भित्र्याएर खोजीलाई तीव्र बनाउने तयारी भइरहेको छ।

अर्कोतर्फ लाङटाङ खोलामा सुरुङभित्र खोजी सकिएपछि उद्धार टोली फिर्ता भइसकेको छ।

यसरी बाढीको १२औँ दिनमा आइपुग्दा प्रश्न अब केवल कति जना सम्पर्कविहीन छन् भन्ने मात्र होइन। प्रभावित प्रत्येक आयोजनामा फरक-फरक अवस्थामा पुगेको खोजीलाई कसरी अघि बढाइन्छ र अझै अज्ञात रहेका व्यक्तिसम्म पुग्न कुन प्राविधिक विकल्प प्रयोग गरिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ।

प्रकाशित मिति : आइतबार, भदौ २१, २०८३ | २०:३२:५९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया