पहिरोले ३२ पाेल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध
जलसरोकार
बाजुरा : अविरल वर्षासँगै गएको पहिरोले बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–८ स्थित सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा पहिरोले ३२ वटा खम्बा ढालेपछि आइतबार रातिदेखि जिल्लाभर विद्युत् आपूर्ति बन्द भएको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बाजुराका निमित्त प्रमुख लोकराज जोशीका अनुसार सुवाकाँधमा सडकमाथिबाट आएको पहिरोले सात र वीरेखोला क्षेत्रमा २५ वटा खम्बा ढालेको छ । विद्युत् सेवा गएराति करिब ९ बजेदेखि अवरुद्ध भएको उनले जानकारी दिए ।
अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि प्राविधिक टोली आज दिनभर परिचालन भए पनि वर्षा सुरु भएपछि कार्यक्षेत्रबाट फर्किएको जोशीले बताए । लगातारको वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले मर्मत तथा पुनःस्थापनाको काम प्रभावित भएको छ ।
बाजुरामा अछामको साँफेदेखि सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । शनिबारदेखि लगातार परेको वर्षाका कारण साँफे–मार्तडी सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा विद्युत्का खम्बा तथा प्रसारण लाइनमा क्षति पुगेको हो ।
विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकाम मार्तडीसहित जिल्लाका विभिन्न क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन् । विद्युत्बाट सञ्चालन हुने उद्योग, व्यवसाय, सञ्चार तथा अन्य दैनिक कामकाजसमेत प्रभावित भएका छन् ।
यसैबीच, अविरल वर्षाका कारण साँफे–मार्तडी सडकखण्डसमेत ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याए पनि पुनः भारी वर्षा हुँदा समस्या दोहोरिने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
लगातारको वर्षा, पहिरो र सडक अवरोधका कारण विद्युत् पुनःस्थापनाका लागि आवश्यक उपकरण तथा प्राविधिक टोलीलाई क्षतिग्रस्त क्षेत्रमा पुर्याउनसमेत चुनौती देखिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो कारोबार दिन नेप्से १८ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ८३ करोड
-
ब्रेक थ्रु नभएसम्म जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारको काम जारी राखिरहन्छौँ : नेपाली सेना
-
रसुवागढी र तातोपानी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप बढ्यो
-
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
राष्ट्र बैंकले बजारबाट ३५ अर्ब निक्षेप खिच्दै
-
पहिरोले ३२ पाेल ढालेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध