सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बाढीले बदल्यो त्रिशूली बेसिनको भूगोल, अब नयाँ ढंगले पुनर्निर्माण गर्नुपर्छ : कुलमान घिसिङ

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | ०७:५७:४० बजे
फाइल तस्वीर

काठमाडौं : रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले त्रिशूली नदी बेसिनको भूगोल र प्राकृतिक स्वरूप नै परिवर्तन गरेको भन्दै पूर्वाधार पुनर्निर्माणलाई पुरानै अवस्थामा फर्काउने काममा मात्र सीमित गर्न नहुने धारणा व्यक्त गरिएको छ।

ऊर्जा क्षेत्रका जानकार तथा पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले बाढीको १२औँ दिन सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै जलविद्युत् आयोजना, सडक, पुल, प्रसारणलाइनलगायत महत्त्वपूर्ण पूर्वाधारको दीर्घकालीन रूपान्तरण आवश्यक रहेको बताएका छन्।

उनले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणलाई तत्काल अघि बढाउनुपर्ने उल्लेख गर्दै सुरक्षित एकीकृत बस्ती, सडक तथा पुल, ऊर्जा पूर्वाधार, नदी नियन्त्रण तथा तटीय संरचनालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

घिसिङले विपद्ले भत्काएको त्रिशूलीलाई केवल पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने होइन, बरु अझ सुरक्षित, व्यवस्थित र दिगो त्रिशूलीका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

‘पुरानै अवस्थामा फर्काउने कि नयाँ ढंगले निर्माण गर्ने?’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसमेत रहिसकेका घिसिङको भनाइले अहिलेको पुनर्निर्माण बहसमा एउटा महत्वपूर्ण प्रश्न उठाएको छ– बाढीले व्यापक क्षति पुर्‍याएका पूर्वाधारलाई पहिलेको जस्तै स्वरूपमा पुनर्निर्माण गर्ने कि बदलिएको नदी प्रणाली र भूगोललाई ध्यानमा राखेर नयाँ ढंगले निर्माण गर्ने?

भोटेकोशी र त्रिशूली नदी आसपासका जलविद्युत् आयोजना, सडक, पुल तथा प्रसारण संरचनामा बाढीले क्षति पुर्‍याएपछि पुनर्निर्माणको चुनौती केवल भत्किएका संरचना निर्माण गर्नु मात्र नभएको उनको भनाइबाट बुझिन्छ।

घिसिङले बाढीमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। खोज, उद्धार, राहत वितरण तथा पुनर्निर्माण कार्यमा संलग्न सबैलाई पनि उनले धन्यवाद दिएका छन्।

उनले बाढीमा परेका तथा बेपत्ता भएकाको अवस्थाबारे खोजी, उद्धार तथा राहत वितरण कार्यलाई अझ तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग आग्रह गरेका छन्।

पुनर्निर्माणलाई विपद्पछिको अवसरका रूपमा हेर्ने संकेत

घिसिङको पोस्टले तत्कालको उद्धार र राहतसँगै अब त्रिशूली बेसिनको दीर्घकालीन पुनर्निर्माणको बहस सुरु गर्नुपर्ने संकेत दिएको छ।

उनका अनुसार, बाढीले त्रिशूली नदी बेसिनको भूगोल र प्राकृतिक स्वरूपमा परिवर्तन ल्याएको अवस्थामा जलविद्युत् आयोजना, सडक, पुल र प्रसारणलाइनलगायतका पूर्वाधारलाई दीर्घकालीन दृष्टिकोणसहित पुनःनिर्माण तथा रूपान्तरण गर्नुपर्नेछ।

उनले आवश्यक छलफल, पुनर्निर्माण र पुनरुत्थानको अभियानमा आफ्नो विचार, अनुभव र क्षमताले भ्याएसम्म साथ, सहयोग र योगदान गर्न पनि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | ०७:५७:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया