सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सरकारसँग 'स्पिड' र 'स्प्रिट' मिलाउन इप्पान महासचिवमा युवा इन्जिनियर मिथुन पौडेलको उम्मेदवारी घोषणा

जलसरोकार
सोमबार, वैशाख २८, २०८३ | १३:०९:५१ बजे

काठमाडौं :

मुख्य एजेन्डाहरू

  • उद्यमीका पीडालाई प्रेरणामा र संघर्षलाई सम्भावनामा बदल्ने प्रतिबद्धता
  • चुनौतीसँग जुध्न सक्ने रणनीतिक सोच
  • इप्पानको पुनर्संरचना र संगठन विस्तार
  • इप्पानमार्फत व्यक्तिगत पहुँच होइन, संस्थागत सम्बन्ध विकास
  • ऊर्जालाई अर्थतन्त्रको ‘ड्राइभिङ सेक्टर’ बनाउन नीतिगत पहल
  • १७ वर्षको ऊर्जा इन्जिनियरिङ अनुभवसँगै युवा उद्यमी
  • अनुसन्धान र रणनीतिक नेतृत्व प्रदान गर्ने योजना
  • निजी क्षेत्रसँगको समन्वयमा जोड
  • शैक्षिक यात्रा र पूर्वाधार क्षेत्रको विज्ञता

नेपालमा ऊर्जा क्षेत्रका महत्वपूर्ण नेतृत्वदायी निकायहरू — ऊर्जा सचिव, विद्युत् नियमन आयोगका अध्यक्ष, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक लगायत — प्रायः इन्जिनियरिङ क्षेत्रबाटै आउने व्यवस्था छ। अपवादबाहेक यी निकायहरूको नेतृत्वमा सधैं इन्जिनियर नै नियुक्त हुँदै आएका छन्। हाल ४ हजार ३०० मेगावाट विद्युत् उत्पादन क्षमता पुग्दा त्यसको ८० प्रतिशतभन्दा बढी विद्युत् उत्पादन गर्ने निजी क्षेत्रको छाता संस्था इप्पानको नेतृत्वमा भने निकै कम इन्जिनियरहरू पुगेका छन्।

इप्पानको मौजुदा विधानअनुसार आगामी जेठ २९ गते परिवर्तन हुने कार्यसमितिको पदाधिकारी (महासचिव) पदमा उम्मेदवारी दिन लागेका युवा तथा अनुभवी इन्जिनियर मिथुन पौडेल एक मात्र प्राविधिक व्यक्ति हुन्। सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नै युवा इन्जिनियर भएको र अधिकांश मन्त्रालयको नेतृत्व पनि युवा इन्जिनियरहरूले गरिरहेको वर्तमान अवस्थामा ऊर्जा उद्यमीहरूको नेतृत्व पनि इन्जिनियरिङ क्षेत्रबाट हुनुपर्ने उनको धारणा छ। यसले सरकारसँग प्राविधिक विषयमा समन्वय र सहकार्य गर्न सहज हुने दाबी गर्दै युवा इन्जिनियर मिथुन पौडेलले इप्पानको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

इन्जिनियरिङ दक्षता, नीतिगत स्पष्टता र संस्थागत नेतृत्वको सुमधुर संयोजनबाट मात्रै ऊर्जा क्षेत्रका समस्या समाधान गर्न सकिने भन्दै उनले आफ्नो योग्यता, विगतका योगदान र ऊर्जा क्षेत्रमा बनाएको पहिचानका आधारमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।

शैक्षिक यात्रा र पूर्वाधार क्षेत्रको विज्ञता

नेपालको ऊर्जा, पूर्वाधार र वित्तीय क्षेत्रको जटिल संरचनाबीच सक्रिय अनुभवी युवा इन्जिनियर मिथुन पौडेल वि.सं. २०४२ असारमा स्याङ्जामा जन्मिएका हुन्। पौडेलले धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रथम श्रेणीसहित स्नातक उत्तीर्ण गरेका छन् भने पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पूर्वाधार योजना तथा निर्माण व्यवस्थापन विषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर गरेका छन्।

उनले स्नातकोत्तर तहमा ‘Intercity Transport Investment Decision in Developing Countries: A Case of Kathmandu-Terai Linkage in Nepal’ विषयमा गहन शोधसमेत पूरा गरी पूर्वाधार विकास क्षेत्रमा विज्ञको पहिचान बनाएका छन्।

१७ वर्षको इन्जिनियरिङ अनुभवसँगै युवा उद्यमी

इन्जिनियरिङ अध्ययन सम्पन्न गरी २०६६ सालमा गुल्मीस्थित ५ मेगावाट क्षमताको रुरु जलविद्युत् आयोजनामा साइट इन्जिनियरका रूपमा ऊर्जा क्षेत्रमा प्रवेश गरेका पौडेलले भोजपुरस्थित ६ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजनामा आवासीय इन्जिनियर तथा ललितपुरस्थित सिप्याड कन्सल्टेन्सीमा डिजाइन इन्जिनियरको भूमिका निर्वाह गरेका थिए।

करिब एक दशक लामो इन्जिनियरिङ अनुभवलाई उद्यमशीलतामा रूपान्तरण गर्ने सोचका साथ २०७१ सालमा ९९० किलोवाट क्षमताको सेलाङ खोला जलविद्युत् आयोजनाको म्यानेजर बनेका पौडेल २०७३ सालदेखि प्रबन्ध निर्देशक र २०७७ सालदेखि उक्त आयोजनाको अध्यक्ष बने। २०८१ सालबाट उक्त आयोजनाले व्यापारिक विद्युत् उत्पादन सुरु गरिसकेको छ।

यसका साथै उनले २०७४ सालदेखि जेन्युइन कन्सल्टेन्ट्स प्रा.लि.मार्फत देशभर सञ्चालनमा रहेका दर्जनौँ जलविद्युत् आयोजनाको पहिचान, सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन, निर्माण अनुगमन, Due Diligence, बिल प्रमाणीकरण तथा वित्तीय व्यवस्थापनसम्बन्धी कार्यमा नेतृत्व गर्दै आएका छन्। हाल उनी ३.५ मेगावाट क्षमताको देबढुंगा जलविद्युत् आयोजना अगाडि बढाइरहेका छन्।

संस्थागत योगदान र नेतृत्व

२०८० जेठमा सम्पन्न निर्वाचनबाट इप्पानको सातौँ कार्यसमिति सदस्यमा निर्वाचित पौडेलले तीन वर्षे कार्यकालमा नीतिगत सुधारको वकालत, विपद् व्यवस्थापन समन्वय, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण तथा वैदेशिक लगानी आकर्षणमा उल्लेखनीय योगदान पुर्‍याएको दाबी गरेका छन्।

उनले इप्पानको ‘इनर्जी बुलेटिन’ प्रकाशन समितिको संयोजकका रूपमा समेत काम गरेका छन्। काठमाडौँ विश्वविद्यालयको ग्रिन हाइड्रोजन प्रयोगशालासँग इप्पानको तर्फबाट समन्वय तथा सहजीकरण गर्दै नवीन प्रविधि र वैकल्पिक ऊर्जाको प्रवर्द्धनमा भूमिका निर्वाह गरेका छन्। साथै, विपद् पूर्वतयारी तथा व्यवस्थापन समितिमा आबद्ध भई ऊर्जा क्षेत्रको जोखिम न्यूनीकरणमा सक्रिय सहभागिता जनाएका छन्।

नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्ष

नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ताप्राप्त इन्जिनियर पौडेल नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल भ्यालुअर्स एसोसिएसन तथा म्यानेजमेन्ट एसोसिएसन नेपालसँग आबद्ध छन्। उनी बीमा सर्वेक्षकका रूपमा पनि कार्यरत छन्।

ऊर्जा आयोजना र ग्रामीण पर्यटनलाई जोड्ने नयाँ अवधारणामा पनि उनले अध्ययन गरिरहेका छन्। वि.सं. २०७८ मा स्थापित गैरनाफामूलक संस्था नेपाल हाइड्रोपावर एकेडेमीका २०८२ सालदेखि अध्यक्ष रहेका पौडेल नीति सल्लाहकार, प्रशिक्षक तथा अनुसन्धानकर्ताका रूपमा समेत परिचित छन्।

चुनौतीसँग जुध्न सक्ने रणनीतिक सोच

अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकसम्बद्ध निकाय, काठमाडौँ विश्वविद्यालय, प्राविधिक शिक्षा परिषद्, नेपाल उद्योग परिसंघ, प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय योजना आयोगजस्ता संस्थाहरूमा आफ्नो अनुभव र ज्ञान साटेका पौडेल व्यक्तिगत जीवनमा सरल, इमानदार र अनुशासित व्यक्तित्वका रूपमा परिचित छन्। पेसागत रूपमा भने जटिल परियोजना र नीतिगत चुनौतीसँग जुध्न सक्ने रणनीतिक सोच भएका व्यक्तिका रूपमा चिनिन्छन्।

सरकारको स्पिड तथा स्प्रिटसँग मिल्ने नेतृत्व

इप्पानको महासचिव पदका प्रत्याशीका रूपमा उनले आफ्नो ज्ञान र अनुभवलाई कार्यान्वयन तहसम्म पुर्‍याउन युवा तथा इन्जिनियर बाहुल्य रहेको वर्तमान सरकारसँग सहकार्य गरी ऊर्जा क्षेत्रलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारको स्पिड तथा स्प्रिटसँग मिल्ने इप्पान नेतृत्वका लागि आफू एक मात्र इन्जिनियर उम्मेदवार रहेको उनको दाबी छ।

ऊर्जा अर्थतन्त्रको ‘ड्राइभिङ सेक्टर’

नेपालको ऊर्जा क्षेत्रलाई केवल विद्युत् उत्पादनमा सीमित नराखी राष्ट्रिय अर्थतन्त्रको ‘ड्राइभिङ सेक्टर’ का रूपमा विकास गर्न सकिने पौडेलको भनाइ छ।

उनका अनुसार जलविद्युत् तथा सौर्य ऊर्जा उत्पादनसँग सम्बन्धित अन्य क्षेत्रहरूलाई पनि समानान्तर रूपमा विकास गर्दै ऊर्जा क्षेत्रलाई कृषि, पर्यटन, हाइड्रोजन विकास, माइनिङ, डाटा सेन्टरलगायत क्षेत्रसँग जोडेर समग्र आर्थिक विस्तारको आधार बनाउन सकिन्छ।

इप्पानको पुनर्संरचना र संगठन विस्तार

महासचिवका रूपमा उनको प्राथमिक एजेन्डामध्ये एक इप्पानको संगठन विस्तार र पुनर्संरचना हो। उनका अनुसार अझै धेरै ऊर्जा उत्पादक कम्पनीहरू इप्पानको सदस्य बन्न सकेका छैनन्।

नदी बेसिन तथा प्रसारण करिडोरअनुसार उपसमिति गठन गरी विपद् व्यवस्थापन, सडक, प्रसारण लाइन, विद्युत् खपत तथा निकासी र आयोजना निर्माणमा सहकार्यको प्रणाली विकास गर्नुपर्ने उनको प्रस्ताव छ।

विशेषगरी बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोपका समयमा ऊर्जा आयोजनाहरू सबैभन्दा बढी प्रभावित हुने भएकाले ‘पूर्वचेतावनी प्रणाली’ निर्माणमा इप्पानले भूमिका खेल्न सक्ने उनको धारणा छ।

इप्पानमार्फत संस्थागत सम्बन्ध विकास

पौडेल ऊर्जा क्षेत्रमा अझै पनि धेरै काम व्यक्तिगत पहुँचका आधारमा हुने गरेको बताउँदै त्यसलाई संस्थागत ढाँचामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँछन्।

उनका अनुसार इप्पानले सरकारसमक्ष राख्ने मागहरू स्पष्ट र प्राथमिकतायुक्त हुनुपर्छ। “अनुसन्धान, योजना र तथ्यमा आधारित संस्थागत माग तथा सुझावको प्राथमिकिकरण आवश्यक छ,” उनले भने।

उनले इप्पान सचिवालयलाई विभागीय संरचनामा लैजानुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। निर्माणाधीन आयोजना, सञ्चालनमा रहेका आयोजना, विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण, भूमि व्यवस्थापन, कर प्रणाली, उद्योग मन्त्रालय, कानुन मन्त्रालय तथा आयोजनाको सुरक्षासम्बन्धी छुट्टाछुट्टै डेस्क स्थापना गर्ने योजना उनले अघि सारेका छन्।

निजी क्षेत्रसँगको समन्वयमा जोड

पौडेलले जलविद्युत् विकासलाई ऊर्जा उत्पादन विविधीकरण तथा ऊर्जा खपत विस्तारसँग जोड्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार निजी क्षेत्रलाई ऊर्जा व्यापारका अन्य आयाममा पनि सहभागी गराउनुपर्छ।

उनले ROR आयोजनासँगै PROR, सोलार पावर, जलाशययुक्त तथा भण्डारण (पम्प, हाइड्रोजन) र बायोमास ऊर्जा आयोजनालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

ऊर्जा खपतको विविधीकरणका लागि यातायात (पोड वे, रोप वे, EV, केबलकार, हाइड्रोजन कार), घरायसी प्रयोग तथा विद्युतीय ऊर्जा–आधारित उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएका छन्।

अनुसन्धान र रणनीतिक नेतृत्व प्रदान गर्ने योजना

पूर्वाधार अर्थशास्त्रमा विशिष्ट श्रेणीमा स्नातकोत्तर शोध गरेका पौडेल ऊर्जा पूर्वाधारलाई केवल परियोजना निर्माणको दृष्टिले मात्र नभई आर्थिक तथा सामाजिक परिवर्तनको माध्यमका रूपमा बुझ्नुपर्ने बताउँछन्।

उनका अनुसार ऊर्जा क्षेत्रका नीति, नियमन तथा संस्थागत सुधारका लागि इप्पानभित्रै अनुसन्धान तथा तथ्याङ्क संकलनको संयन्त्र आवश्यक छ। “तथ्य र तथ्याङ्कको विश्लेषणपछि मात्रै नीतिगत बहसमा जानुपर्छ,” उनी भन्छन्।

ऊर्जा क्षेत्रलाई दीर्घकालीन राष्ट्रिय अर्थतन्त्र विकासको आधार बनाउने उनको दूरदृष्टिले इप्पानलाई केवल विकासकर्ताहरूको संगठनमा सीमित नराखी अनुसन्धान र रणनीतिक नेतृत्व प्रदान गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।

उद्यमीका पीडालाई प्रेरणामा बदल्ने प्रतिबद्धता

ऊर्जा क्षेत्रको नीतिगत बहसमा इप्पानको प्रभाव अपेक्षाकृत रूपमा बलियो हुन नसकेको स्वीकार गर्दै पौडेलले संस्थालाई अनुभव र क्षमता आदान–प्रदान गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

“ऊर्जा उत्पादकहरूको पीडालाई प्रेरणामा र संघर्षलाई सम्भावनामा बदल्न सक्ने नेतृत्व आवश्यक छ,” उनको भनाइ छ।

उनका अनुसार इप्पानलाई केवल सरोकारवाला संस्था नभई सरकारको साझेदार संस्थाका रूपमा स्थापित गर्नुपर्छ। ऊर्जा नीति निर्माण, कानुन संशोधन, नियामक संरचना तथा सुशासनका विषयमा तथ्यमा आधारित अध्ययनमार्फत संस्थागत धारणा निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

 

प्रकाशित मिति : सोमबार, वैशाख २८, २०८३ | १३:०९:५१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया