सुपर घलेम्दी जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
जलसरोकार
म्याग्दी : सुपर घलेम्दी हाइड्रोपावर प्रालिले ९.१४ मेगावाट क्षमताको ‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका–४ मा निर्माण हुन लागेको उक्त
आयोजनाले नारच्याङस्थित घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा प्रस्तावित बाँधस्थल जोड्ने पहुँचमार्ग निर्माण थालेको हो।
आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईका अनुसार कुल ५.५ किलोमिटरमध्ये हालसम्म दुई किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भएको छ भने कर्मचारी आवासका लागि भवनसमेत तयार भइसकेको छ।
उनले विद्युत्गृह निर्माणस्थलसम्म सडक पुर्याएर जमिन सम्याउने तथा पहाड काट्ने काम सुरु गरिएको जानकारी दिँदै पहुँचमार्ग पूरा भएपछि बाँध, विद्युत्गृह, पेनस्टक पाइपलाइन र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाइने बताए ।
करीब रु १ अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट बाँधस्थलदेखि ४.२ किलोमिटर लामो पाइपलाइनमार्फत ल्याइएको पानीलाई ४२० मिटर उचाइबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने जनाइएको छ।
आयोजना निर्माणका लागि आवश्यक सम्पूर्ण जग्गा सार्वजनिक रहेको आयोजनाले जनाएको छ। निर्माण क्षेत्रमा पर्ने एक हजार ४०० रूखमध्ये ५४६ वटा रूख कटानको अनुमति प्राप्त भइसकेको छ भने बाँकी प्रक्रिया अगाडि बढाइएको छ।
वित्तीय व्यवस्थापनका लागि ग्लोबल आइएमई बैंक र माछापुच्छ्रे बैंकसँग प्रस्ताव गरिएको आयोजनाले जनाएको छ। कुल लगानीमध्ये ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी रहनेछ। साथै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको अवसर प्रदान गरिने भएको छ।
नारच्याङ क्षेत्रमा हाल १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन्। वडाअध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ र ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्।
त्यसैगरी, नारच्याङको सिमानाबाट बग्ने कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ भने कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १८४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारीमा रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य