सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली थ्री 'ए': उद्धार निर्णायक मोडमा पुग्दा श्रीराम न्यौपानेलाई फर्काइयो, सुरुङको जिम्मेवारी सेना-सशस्त्रलाई

जलसरोकार
शुक्रबार, भदौ १९, २०८३ | ०७:५२:४९ बजे

काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र सम्पर्कविहीन रहेका व्यक्तिसँग उद्धार टोलीले संवाद गर्न सफल भएको खबरले उद्धार अभियानमा अहिलेसम्मकै ठूलो आशा जगाएको छ। तर यही निर्णायक घडीमा उद्धार अभियानमा दैनिक १८ घण्टासम्म खटिएका सुरुङविज्ञ श्रीराम न्यौपानेले साइट छाडेर काठमाडौं फर्कने निर्णय गरेका छन्।

न्यौपानेका अनुसार हिजो साँझदेखि सुरुङभित्रको उद्धार तथा कामको जिम्मेवारी नेपाली सेना र सशस्त्र प्रहरीले म्यानुअल रूपमा सम्हाल्ने प्रकृतिको बनेपछि आफूले आज रातभर आराम गरी भोलि बिहान पैदलमार्फत काठमाडौं फर्कने निर्णय गरेका हुन्।

“दैनिक १८ घण्टासम्म निरन्तर खटिँदै आएकोमा हिजो साँझदेखि सुरुङभित्रको उद्धार तथा कामको जिम्मेवारी पूर्ण रूपमा नेपाली सेना र सशस्त्र प्रहरीले म्यानुअली सम्हाल्ने प्रकृतिको भएकोले आज रातभर आराम गरी भोलि बिहान पैदल यात्रा गर्दै काठमाडौं फर्कने निर्णय गरेको छु,” न्यौपानेले भनेका छन्।

तर न्यौपाने साइटबाट फर्कने तयारीमा रहँदा उद्धार अभियान भने निर्णायक बिन्दुमा पुगेको छ। यसअघि उद्धार टोलीले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनेको पुष्टि गरेको थियो। उद्धार टोलीले “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भनेपछि भित्रबाट “हुन्छ” भन्ने जवाफ आएको थियो।

सत्तारुढ रास्वपाका सांसदसमेत रहेका न्यौपानले जनताको मन जित्ने गरी आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्यमा संलग्न रही सफलता चुम्ने देखेपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र अर्थ मन्त्री स्वर्णिम वाग्लेलाई मन परेकाे थिएन। ऊर्जा मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणमा भर्ती गरेका सञ्चालक समितिका सदस्य अम्शुकिरण शाहीलाई ‘सुरुङ विशेषज्ञ माननीयज्यू फर्कनुस्’ भन्दै फेसबुकमा पोष्ट गरेका थिए। 

यता न्यौपानेको टीमले काम गरेर सफलता नजिक पुग्न लागेपछि अर्थमन्त्री वाग्लेलाई पनि मन नपरेको अर्को घटनाले देखाएको छ। ऊर्जा  मन्त्रीलाई नक्कली उजुरी हाल्न लगाएर अर्थमन्त्रीका प्रेस सल्लाहकार नवीन ढुंगानाले आफ्नो अनलाइन सीधकुरा डट कममा न्यौपानेविरुद्ध अनर्गल प्रचार गर्न लगाएका थिए।

पाँच दिनमा २० हजार घनमिटर अवरोध हटाइयो

बाढीपछि त्रिशूली-३ ‘ए’को भूमिगत संरचनामा फसेका व्यक्तिसम्म पुग्न उद्धार टोलीले सुरुङको मुखसम्म पुग्नै ठूलो संघर्ष गर्नुपरेको थियो। करिब १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेश क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गरेर हटाइएका थिए।

दुईवटा एक्स्काभेटरले पाँच दिनसम्म लगातार काम गर्दा करिब २० हजार घनमिटर माटो, लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बिम, पिलर तथा घरजत्रा ठूला ढुंगा हटाइएको थियो। सुरुङको प्रवेश क्षेत्रतर्फ करिब ५० मिटर भाग सफा गरिसकेपछि उद्धार टोली क्रमशः सुरुङभित्र प्रवेश गर्ने अवस्थामा पुगेको थियो।

त्यसक्रममा सुरुङभित्र पानीको अवस्था पनि अध्ययन गरिएको थियो। सुरुङबाट करिब २ लिटर प्रतिसेकेन्ड पानी बाहिर आइरहेको र ठूलो दबाब नदेखिएको प्रारम्भिक निरीक्षणले सुरुङभित्र ठूलो मात्रामा पानी जमेको नहुन सक्ने आशा बढाएको थियो।

त्यसअघि उद्धार टोलीले सुरुङभित्र हावा पुर्‍याउन पाँचवटा प्वालसमेत बनाएको थियो। सुरुङको मुख पत्ता लगाउन तथा भित्रको अवस्था बुझ्न श्रीराम न्यौपानेसहितको टोली निरन्तर सक्रिय थियो।

अनि आयो सबैभन्दा ठूलो खबर

यही निरन्तर प्रयासको परिणामस्वरूप नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सफल भयो। त्यसपछि आएको “भित्रबाट आवाज आयो” भन्ने खबरले अहिलेसम्मको सम्पूर्ण उद्धार प्रयासलाई नयाँ अर्थ दिएको छ।

अझ महत्वपूर्ण कुरा, यो केवल आवाज सुनिएको मात्र रहेन। उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई आफूहरू उद्धारका लागि आएको जानकारी दिँदा “हुन्छ” भन्ने प्रतिक्रिया प्राप्त भएको बताइएको छ।

अर्थात्, लामो समयसम्म अनुमान र आशामा सीमित रहेको “भित्र मानिस जीवित हुन सक्छन्” भन्ने सम्भावना प्रत्यक्ष आवाज र संवादको तहमा पुगेको छ।

यही बेला प्राधिकरणको स्रोत-साधन व्यवस्थापन सूचना

यसैबीच नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयले बाढी आएको आठ दिनपछि माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारका लागि आवश्यक स्रोत-साधन व्यवस्थापनसम्बन्धी सूचना जारी गरेको छ। सूचनामा उद्धारका लागि तीनवटा टोली गठन गरिएको र आवश्यक सामग्री व्यवस्थापनका लागि सम्बन्धित टोलीबीच समन्वय गर्ने व्यवस्था गरिएको उल्लेख छ। जबकि न्यौपानेकोको टोलीले भदौ १३ (बाढी आएको पर्सिपल्टै) देखि दैनिक १८ घण्टा काम गर्दै आएको थियो।

सूचनाअनुसार शक्तिबजार, रसुवा (माथिल्लो त्रिशूली-३ ‘ए’ पावर हाउस नजिक), बट्टार-त्रिशूली र प्रधान कार्यालय काठमाडौंमा छुट्टाछुट्टै टोली बनाइएको छ। उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी, विज्ञ तथा प्राविधिकले मागेका सामग्री उपलब्ध गराउने र मौज्दात नभए प्रधान कार्यालयलाई जानकारी गराउने व्यवस्था गरिएको छ।

यसले उद्धार अभियानलाई संस्थागत रूपमा अघि बढाउने प्रयास भइरहेको देखाउँछ। तर एउटा प्रश्न भने स्वाभाविक रूपमा उठ्छ— उद्धार अभियानले सबैभन्दा निर्णायक सफलता हासिल गरेको यही समयमा, अहिलेसम्म स्थलमै बसेर प्राविधिक रूपमा नेतृत्व र समन्वय गरिरहेका जनशक्तिको भूमिकालाई कसरी निरन्तरता दिइँदैछ?

यो प्रश्नको उत्तर सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।

अब सबैभन्दा महत्वपूर्ण केही घण्टा

श्रीराम न्यौपानेले साइट छाडे पनि उद्धार अभियान रोकिएको छैन। बरु सुरुङभित्रबाट आएको आवाजपछि अब उद्धारको प्राथमिकता अवरोध हटाउनेभन्दा आवाज सुनिएको स्थानसम्म पुग्ने र त्यहाँ रहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने बनेको छ।

यसअघि सुरुङको मुख खोज्नु, ठूला ढुंगा विस्फोट गर्नु, हजारौँ घनमिटर माटो-लेदो हटाउनु, पानीको अवस्था बुझ्नु, हावा पुर्‍याउन प्वाल बनाउनु र उद्धार टोलीलाई सुरुङभित्र प्रवेश गराउनुजस्ता कठिन चरण पार भइसकेका छन्।

अब भने सुरुङभित्रबाट आएको “हुन्छ” भन्ने आवाज नै सम्पूर्ण उद्धार अभियानको केन्द्रमा छ।

यति लामो प्रयासपछि प्राप्त भएको यो प्रत्यक्ष सम्पर्कलाई सुरक्षित उद्धारमा परिणत गर्नु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो। आशा अब अनुमानमा छैन—सुरुङभित्रबाट आएको आवाजले त्यसलाई वास्तविक सम्भावनाको ढोकासम्म पुर्‍याएको छ।

प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०८३ | ०७:५२:४९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको