सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै

जलसरोकार
शुक्रबार, भदौ १९, २०८३ | १०:५७:४४ बजे

 

म्याग्दी : बाढी र कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ ।

मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको पुलमा केही दिनअघि आएको बाढीले क्षति पुर्‍याएपछि पुल भासिने जोखिम बढेको हो । जोखिमलाई मध्यनजर गर्दै बढी तौलका सामान बोकेका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार सरकारी प्रक्रियाबाट काम गर्दा ढिलाइ हुने भएकाले म्याग्दी नदी बेसिनमा सञ्चालित जलविद्युत् आयोजनाले साझेदारी गरी रु ५० लाख लगानीमा पुल संरक्षणको काम सुरु गरेका छन् ।

पुलको जगमुनिबाट खोला बग्न थालेको तथा पहुँचमार्ग कटान भएर साँघुरिँदा यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका निर्माण सामग्री बोकेका ठूला ट्रकसमेत जोखिममा परेका छन् । पुलमा क्षति पुगेमा मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँगको प्रत्यक्ष यातायात सम्पर्क टुट्ने जोखिम छ ।

६५ मेगावाटको म्याग्दीखोला, ३७ मेगावाटको अपर म्याग्दी, ५३.५ मेगावाटको अपर म्याग्दी–१, २५ मेगावाटको दरवाङ म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र ६ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले पुल संरक्षणका लागि साझेदारी गर्ने सहमति जनाएका छन् ।

दुखुखोला पुलसँगै फापरखेतको पहिरोका कारण पनि जलविद्युत् आयोजनाका निर्माण सामग्री तथा उपकरण ढुवानीमा समस्या भइरहेको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालयले निर्माण गरेको २० मिटर लामो र ६ मिटर चौडा पुल रु दुई करोड छ लाख लागतमा २०७६ सालमा सम्पन्न भएको थियो ।

बाढीपछि पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरी खोला डाइभर्सन गर्नुका साथै पर्खाल निर्माण गरेर पुलको पिलर र पहुँचमार्गको अस्थायी संरक्षण गरेको छ । अब जलविद्युत् आयोजनाको सहयोगमा पुललाई थप सुरक्षित बनाउने काम अघि बढाइने भएको छ ।

प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०८३ | १०:५७:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको