माथिल्लो त्रिशूली–३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?
जलसरोकार
माथिल्लो त्रिशूली-३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?
काठमाडौं । भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा सम्पर्कविहीन रहेका दुई कर्मचारी सञ्जय साह र कबीर महर्जन सकुशल भेटिएका छन्। उद्धार गरिएका सञ्जय र कबीर को हुन् भन्ने चासो अहिले बढेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दिएको जानकारीअनुसार सञ्जय साह ३० वर्षीय मेकानिकल फोरमेन हुन्। उनी माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए। उनको स्थायी ठेगाना सप्तरीको कोइलाडी-८ रहेको छ।
त्यस्तै ४५ वर्षीय कबीर महर्जन मेकानिकल सुपरभाइजर हुन्। उनी हाइड्रोपावर अटोमेसन प्रोजेक्टमा कार्यरत रहेको मन्त्रालयले जनाएको छ। उनको स्थायी ठेगाना काठमाडौंको बालकुमारी-३ रहेको विवरणमा उल्लेख छ।
बाढीपछि सम्पर्कविहीन थिए दुवै
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली-३ ‘ए’ आयोजनाको भूमिगत संरचनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका थिए। मन्त्रालय तथा सम्बन्धित निकायले तयार पारेको विवरणमा सञ्जय साह र कबीर महर्जनको नाम पनि सम्पर्कविहीन व्यक्तिको सूचीमा थियो।
बाढीका कारण आयोजनाको भूमिगत संरचनाको प्रवेश क्षेत्रमा ठूलो परिमाणमा माटो, लेदो, ढुंगा तथा अन्य अवरोध थुप्रिएका थिए। उद्धार टोलीले लामो प्रयासपछि ती अवरोध हटाउँदै भूमिगत संरचनातर्फ पहुँच बनाएको थियो।
उद्धारका क्रममा सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएपछि उद्धार अभियानमा नयाँ आशा पलाएको थियो। उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भनेपछि उताबाट “हुन्छ” भन्ने प्रतिक्रिया आएको जानकारी यसअघि सार्वजनिक भएको थियो।
त्यसपछि सुरुङभित्र जीवित व्यक्ति रहेको सूचना प्राप्त हुँदै गएको थियो। अन्ततः सञ्जय साह र कबीर महर्जनलाई सकुशल बाहिर निकालिएको ऊर्जा मन्त्रालयले जनाएको छ।
अन्यको उद्धारका लागि पनि प्रयास जारी
दुई कर्मचारी सकुशल भेटिएपछि माथिल्लो त्रिशूली-३ ‘ए’को भूमिगत संरचनामा सम्पर्कविहीन रहेका अन्य व्यक्तिको उद्धारमा समेत आशा बढेको छ।
उद्धार टोलीले सुरुङभित्र रहेका सम्भावित व्यक्तिको खोजीलाई निरन्तरता दिइरहेको छ। कठिन भौगोलिक अवस्था र सुरुङमा थुप्रिएको ठूलो परिमाणको माटो, लेदो तथा ढुंगाका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि जीवित व्यक्तिहरू भेटिन थालेपछि अभियान थप उत्साहका साथ अघि बढाइएको छ।
सञ्जय र कबीरको सकुशल उद्धारले लामो समयदेखि आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित रहेका परिवारमा भने ठूलो राहत दिएको छ। अब उद्धार टोलीको ध्यान भूमिगत संरचनामा रहेका अन्य सम्भावित व्यक्तिलाई पनि सकुशल बाहिर निकाल्नेतर्फ केन्द्रित भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै
-
माथिल्लो त्रिशूली–३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?
-
३१ वर्षदेखि अलपत्र सिँचाइ ब्यारेज, नहरको अभावमा किसानलाई सास्ती
-
लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानीमैत्री वातावरण निर्माण गर्न इप्पानको माग
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा ठूलो सफलता : दुईजनाको सकुशल उद्धार, अन्यलाई निकाल्ने क्रम जारी
-
चिलिमे उद्धारमा पूर्वसीईओ भट्टराईको नयाँ पहल : भूमिगत संरचनाको नक्सा सार्वजनिक गर्दै विश्वका विज्ञसँग उपाय माग