सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा अहिलेसम्मकै ठूलो आशा : सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

जलसरोकार
शुक्रबार, भदौ १९, २०८३ | ०७:२६:४८ बजे
तस्वीर : ई. श्रीराम न्यौपाने

काठमाडौं : लामो समयदेखि सम्पर्कविहीन रहेका माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदारको खोजीमा अहिलेसम्मकै सबैभन्दा ठूलो आशा पलाएको छ। उद्धार टोलीले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनेको र उनीहरूसँग संवादसमेत भएको पुष्टि भएको छ।

उद्धार अभियानमा गत भदौ १३ गते संलग्न हुँदै आएका सुरुङविद्  श्रीराम न्यौपानेका अनुसार उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भनेपछि भित्रबाट “हुन्छ” भन्ने प्रतिक्रिया आएको हो।

न्यौपानेले पछिल्लो जानकारीमा भनेका छन्, “उद्धार कार्य अझै जारी रहेको छ। भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया प्राप्त भएको छ।”

यो खबरले बाढीपछि लामो समयदेखि अनिश्चिततामा रहेको उद्धार अभियानलाई नयाँ मोडमा पुर्‍याएको छ। अब उद्धार टोलीको मुख्य लक्ष्य आवाज सुनिएको स्थानसम्म सुरक्षित रूपमा पुग्नु र भित्र रहेका व्यक्तिहरूलाई बाहिर निकाल्नु बनेको छ।

ढुंगा-माटो हटाउँदै सुरुङसम्म पुग्ने बाटो खुल्यो

आवाज सुनिनुअघि उद्धार टोलीले अत्यन्त कठिन भौतिक अवरोध पार गर्दै आएको थियो। सुरुङको प्रवेश क्षेत्रमा ठूला ढुंगा तथा बाढीले ल्याएका विभिन्न अवरोध हटाउन लगातार उत्खनन र विस्फोटको काम गरिएको थियो।

करिब १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेश क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गरेर हटाइएको थियो। दुईवटा एक्स्काभेटरले करिब पाँच दिन लगातार काम गर्दा माटो, लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बिम, पिलर तथा घरजत्रा ठूला ढुंगासहित करिब २० हजार घनमिटर सामग्री हटाइएको थियो।

त्यसपछि उद्धार टोली सुरुङको माथिल्लो भागतर्फ क्रमशः अघि बढेको थियो। पछिल्लो चरणमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङभित्र करिब १० मिटर प्रवेश गर्न सफल भएको थियो भने एक्स्काभेटरले विस्फोट गरिएका ढुंगा तथा अन्य अवरोध हटाउने काम जारी राखेको थियो।

यसबीच सुरुङबाट पानी बाहिर निकाल्ने काम पनि गरिएको थियो। प्रारम्भिक निरीक्षणमा सुरुङबाट करिब २ लिटर प्रतिसेकेन्डको दरमा पानी बाहिर आइरहेको र त्यसमा ठूलो दबाब नदेखिएको जानकारीले पनि उद्धार टोलीलाई थप आशा दिएको थियो।

अब उद्धारको निर्णायक चरण

सुरुङभित्रबाट आवाज सुनिएपछि यसअघि गरिएका सबै प्रयासको महत्व झन् बढेको छ। अहिलेसम्मको अभियान केवल अवरोध हटाउने र सुरुङसम्म पहुँच बनाउने चरणमा केन्द्रित थियो। अब भने उद्धार टोलीले आफूहरूभन्दा केही अगाडि रहेका सम्भावित जीवित व्यक्तिसम्म पुग्ने निर्णायक प्रयास गर्नुपर्ने अवस्था आएको छ।

उद्धार टोलीले आवाजको स्रोत पहिचान गर्दै सुरक्षित रूपमा बाटो खोल्ने कामलाई निरन्तरता दिएको छ। सुरुङभित्रको वास्तविक अवस्था, आवाज दिने व्यक्तिहरूको संख्या र उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण भने अहिले स्पष्ट भइसकेको छैन।

तर लामो समयदेखि कुनै प्रत्यक्ष सम्पर्क हुन नसकेको अवस्थामा “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भन्ने सन्देशको जवाफमा सुरुङभित्रबाट आएको “हुन्छ” भन्ने आवाज उद्धार अभियानका लागि असाधारण उपलब्धि बनेको छ।

बाढीपछि सुरुङभित्र कति मानिस सुरक्षित अवस्थामा छन् भन्नेबारे विभिन्न अनुमान भइरहेका बेला आएको यो प्रत्यक्ष संवादले उद्धारको आशालाई अनुमानबाट वास्तविक सम्भावनातर्फ अघि बढाएको छ।

अब उद्धार टोलीको अगाडि एउटै लक्ष्य छ– आवाज सुनिएको ठाउँसम्म पुग्ने र भित्र रहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने।

प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०८३ | ०७:२६:४८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको