सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा ठूलो सफलता : दुईजनाको सकुशल उद्धार, अन्यलाई निकाल्ने क्रम जारी

जलसरोकार
शुक्रबार, भदौ १९, २०८३ | ०९:३०:१५ बजे
तस्वीर सौजन्य : मदन तिम्सिना, उपकार्यकारी निर्देशक, विद्युत् प्राधिकरण

काठमाडौं । बाढीपछि माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा फसेका व्यक्तिको उद्धारमा ठूलो सफलता हात परेको छ। उद्धार टोलीले सञ्जय साह र कबीर महर्जनलाई सकुशल बाहिर निकाल्न सफल भएको छ।

नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सीनाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार आयोजनाका मेकानिकल फोरमेन सञ्जय साह र सुपरभाइजर कबीर महर्जनको सकुशल उद्धार भएको हो। तिम्सीनाले पछिल्लो सूचनामा कबीर महर्जन पनि सकुशल निस्किएको बताएका छन्।

उद्धार अभियानमा सक्रिय श्रीराम न्यौपानेले यसअघि “अर्को एकजना पनि जीवित रहेको सूचना प्राप्त भयो” भन्दै जानकारी दिएका थिए। त्यसअघि उनले उद्धार टोलीले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको र भित्र रहेका व्यक्तिसँग संवादसमेत भएको जानकारी दिएका थिए।

उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूलाई “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भनेपछि भित्रबाट “हुन्छ” भन्ने प्रतिक्रिया आएको थियो। त्यसपछि उद्धार टोलीले आवाज आएको स्थानतर्फ पहुँच बनाउँदै उद्धार प्रयास अघि बढाएको थियो।

द्धार गरेर हेलिकप्टरमा राखिंदै । तस्वीर : ई. श्रीराम न्यौपाने

 

कठिन अवरोध पार गर्दै सुरुङभित्र प्रवेश

बाढीका कारण आयोजनाको भूमिगत संरचनाको प्रवेश क्षेत्रमा ठूलो परिमाणमा माटो, लेदो, बालुवा, ढुंगा तथा कंक्रिटका अवशेष थुप्रिएका थिए। विशेषगरी करिब १६० मिटर लामो केबल डक्ट सुरुङको प्रवेश क्षेत्र ठूला ढुंगासहितका अवरोधले बन्द भएको थियो।

उद्धारका क्रममा दुईवटा एक्स्काभेटर प्रयोग गरी ठूलो परिमाणमा थुप्रिएको सामग्री हटाइएको थियो। दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गरी हटाइएको र सुरुङको प्रवेश क्षेत्र क्रमशः खुलाउँदै उद्धार टोली भित्रतर्फ अघि बढेको थियो।

त्यस क्रममा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत सुरुङभित्र प्रवेश गरेर विस्फोटबाट फुटाइएका ढुंगा तथा अन्य अवरोध हटाउँदै अगाडि बढेको थियो। सुरुङको माथिल्लो भागतर्फ करिब १० मिटर प्रवेश गरेपछि उद्धार टोली सुरुङको भुइँ तहसम्म पुग्ने अवस्थामा पुगेको जानकारी यसअघि सार्वजनिक भएको थियो।

उद्धारका क्रममा सुरुङबाट पानी पनि बाहिर बगिरहेको पाइएको थियो। पानीको बहावमा ठूलो दबाब नरहेको अवस्थाले उद्धार टोलीलाई थप भित्रतर्फ अघि बढ्न सहज बनाएको थियो।

आवाजपछि जीवितै भेटिन थाले

लामो समयदेखि भूमिगत संरचनामा फसेका व्यक्तिको अवस्थाबारे अनिश्चितता रहेकै बेला सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु उद्धार अभियानको महत्वपूर्ण मोड बनेको थियो। त्यसपछि उद्धार टोलीले उनीहरूसँग संवाद गर्न सफल भएको थियो।

त्यसपछि जीवित रहेको सूचना प्राप्त हुनु र सञ्जय साह तथा कबीर महर्जनलाई सकुशल बाहिर निकालिनु उद्धार अभियानका लागि अहिलेसम्मकै महत्वपूर्ण उपलब्धिमध्ये एक बनेको छ।

मदन तिम्सीनाले अन्य व्यक्तिलाई पनि क्रमशः बाहिर निकाल्ने काम भइरहेको बताएका छन्।

यसले सुरुङभित्र अझै रहेका सम्भावित व्यक्तिको उद्धारप्रति आशा थप बलियो बनाएको छ। अब उद्धार टोलीको प्राथमिकता बाँकी व्यक्तिहरूको अवस्था पत्ता लगाउँदै उनीहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकाल्नु रहेको छ।

बाढीपछि चरम कठिन परिस्थितिमा सुरु भएको माथिल्लो त्रिशूली-३ ‘ए’को उद्धार अभियानमा आवाज सुनिएको अवस्थाबाट जीवित व्यक्ति भेटिने र त्यसपछि क्रमशः सकुशल बाहिर निकाल्ने चरणमा पुग्नुले उद्धार प्रयासलाई नयाँ आशा दिएको छ।

तस्वीर : ई. श्रीराम न्यौपाने

 

प्रकाशित मिति : शुक्रबार, भदौ १९, २०८३ | ०९:३०:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको