३१ वर्षदेखि अलपत्र सिँचाइ ब्यारेज, नहरको अभावमा किसानलाई सास्ती
जलसरोकार
सर्लाही : सर्लाहीको बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सीमाना सुदामामा निर्माण गरिएको सिँचाइ ब्यारेज तीन दशकभन्दा बढी समयदेखि सञ्चालनमा आउन सकेको छैन । ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज व्यवस्थित नहरको अभावमा अलपत्र पर्दा आसपासका किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।
बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा निर्माण गरिएको ब्यारेजबाट सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा र रामनगर बहुअर्वालगायत साविकका दर्जनभन्दा बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्य थियो । रु छ करोड लागतमा निर्माण भएको ब्यारेजबाट ठूलो भूभागमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिए पनि नहर निर्माण र व्यवस्थापनको काम पूरा नहुँदा त्यसको उद्देश्य पूरा हुन सकेको छैन ।
नहर नहुँदा पम्पसेटको भरमा खेती
कृषिको उर्वर भूमिका रूपमा रहेको यस क्षेत्रमा भरपर्दो सिँचाइ सुविधा नहुँदा किसान वर्षाको पानीको भरमा खेती गर्न बाध्य छन् । बलरा नगरपालिका–५ मिर्जापुरका किसान शङ्कर साहका अनुसार सयौँ बिघा खेतीयोग्य जमिन वर्षायाममा जलमग्न हुने र हिउँदमा सिँचाइ अभावमा बाँझो रहने गरेको छ ।
“ब्यारेजसँग जोडिएको एउटा नहर छ, त्यो पनि अव्यवस्थित छ,” उनले भने, “नहरबाट आएको पानी वर्षायाममा अनियन्त्रित भई ब्यारेज नजिकका केही किसानको खेतसम्म पुग्छ । बाँकी क्षेत्रका किसानले पम्पसेट र विद्युत् मोटरको भरमा जेनतेन खेती गरिरहेका छन् ।”
उनका अनुसार यसरी गरिएको खेती मौसम प्रतिकूल हुँदा खेर जाने गरेको छ । खेत नजिकै बाह्रै महिना खोला बग्ने भए पनि सिँचाइका लागि महँगोमा डिजेल मोटर प्रयोग गर्नुपर्ने बाध्यता रहेको किसान गगनदेव सिंहले बताए ।
रामनगरतर्फ पानी पुर्याउन नसकिएको गुनासो
ब्यारेज निर्माण भएको स्थान जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्छ । उत्तरी क्षेत्र रामनगर गाउँपालिकाका भूभागमा भने ब्यारेजको पानी पुर्याउन नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।
रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले भूभागको भौगोलिक अवस्थाका कारण ब्यारेजबाट रामनगरतर्फ पानी आउन नसकेको बताए ।
“यहाँको भूभाग कोल्टे पर्छ । सुरुमा हालको रामनगर र बलराका लागि भनेर ब्यारेज निर्माण भएको देखिन्छ,” उनले भने, “गलत ठाउँ परेकाले रामनगरका किसानका लागि त्यो उपयुक्त भएन । ब्यारेजबाट पानी उत्तरतर्फ आउँदैन । त्यसैले सोही खोलाको माथिल्लो स्थानमा बाँध निर्माण गरेर सिँचाइ सुविधा पुर्याइरहेका छौँ ।”
नहर निर्माण भए ठूलो भूभागमा सिँचाइ हुने
बलरा नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले ब्यारेजसँग व्यवस्थित नहर निर्माण गर्न सके नगरपालिकाका सम्पूर्ण खेतीयोग्य भूभागमा सिँचाइ सुविधा पुर्याउन सकिने बताए ।
उनका अनुसार ब्यारेजको संरक्षण र व्यवस्थापनको स्वामित्व स्पष्ट नहुँदा संरचना जीर्ण बन्दै गएको हो । आफू नगरप्रमुख भएर आएपछि नगरपालिकाले बजेट विनियोजन गरी ब्यारेजको सामान्य मर्मतसम्भार गरेको उनले जानकारी दिए ।
नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा ब्यारेज मर्मत तथा सौन्दर्यकरणका लागि बजेट विनियोजन गरेको थियो । ब्यारेज र त्यस आसपासको क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नीति पनि लिइएको नगरप्रमुख कुशवाहाले बताए ।
बजेट आए पनि काम हुन सकेन
नगरप्रमुख कुशवाहाका अनुसार ब्यारेज व्यवस्थापनसँगै नहर निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग योजना पेस गरिएको थियो । गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारले ब्यारेजका लागि रु पाँच करोड बजेट उपलब्ध गराए पनि समयमा काम हुन नसक्दा उक्त बजेट फिर्ता भएको उनले बताए ।
यस वर्ष रु दुई करोड बजेटबाट नहर निर्माणको काम अघि बढाउने तयारी गरिएको उहाँको भनाइ छ । ब्यारेज व्यवस्थापनका लागि प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गरे पनि हालसम्म ठोस प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए ।
पार्कभन्दा सिँचाइलाई प्राथमिकता दिनुपर्ने किसानको माग
स्थानीय किसानहरूले ब्यारेज मर्मत गरी पक्की नहर निर्माण गरेर खेतसम्म पानी पुर्याउन माग गरेका छन् । किसानको सुविधाका लागि आएको बजेट काम नै नगरी फिर्ता भएको आरोप लगाउँदै उनीहरूले सिँचाइलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
किसान सिंहले पालिकाले सिँचाइ ब्यारेज व्यवस्थित गरी खेतसम्म पानी पुर्याउनुको साटो पार्क निर्माणमा खर्च गरेको आरोप लगाए । उनले भने, “खेत नजिकै खोला बग्छ, तर हामीले महँगोमा डिजेल मोटर प्रयोग गर्नुपर्छ ।”
स्थानीय किसानका अनुसार ब्यारेज प्रयोगमा ल्याउन सके ठूलो भूभागमा सिँचाइ सुविधा पुग्नेछ । उनीहरूले किसानले सुविधा पनि नपाउने र राज्यको ठूलो लगानी पनि खेर जाने अवस्था अन्त्य गर्न माग गरेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिँदै
-
माथिल्लो त्रिशूली–३ ‘ए’बाट सकुशल भेटिएका सञ्जय र कबीर को हुन् ?
-
३१ वर्षदेखि अलपत्र सिँचाइ ब्यारेज, नहरको अभावमा किसानलाई सास्ती
-
लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानीमैत्री वातावरण निर्माण गर्न इप्पानको माग
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा ठूलो सफलता : दुईजनाको सकुशल उद्धार, अन्यलाई निकाल्ने क्रम जारी
-
चिलिमे उद्धारमा पूर्वसीईओ भट्टराईको नयाँ पहल : भूमिगत संरचनाको नक्सा सार्वजनिक गर्दै विश्वका विज्ञसँग उपाय माग