भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
जलसरोकार
काठमाडौँ : भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यका तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताए । ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट भुक्तानी भएको शुल्कबाट समेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी आवश्यक निर्णय अघि बढाइएको उनले जानकारी दिए ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ । यससँगै क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगलगायतका ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिने भएको छ ।
मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसले बाढीबाट घर तथा व्यवसायमा क्षति व्यहोरेका ग्राहकलाई विद्युत् सेवा पुनः जोड्न लाग्ने तत्कालीन आर्थिक भार कम गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट उपलब्ध गराउने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ । बाढीबाट प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको क्रममा रहेकाले ती क्षेत्रका प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेस गर्न भनिएको हो ।
प्राधिकरणले उक्त अध्ययनका आधारमा यसै साता बाढी प्रभावित ग्राहकलाई विद्युत् महसुलमा दिइने थप सहुलियत तथा छुटको टुंगो लगाउने तयारी गरेको छ ।
भोटेकोशी बाढीले विद्युत् पूर्वाधारमा मात्रै नभई घर, उद्योग, व्यवसाय तथा अन्य संरचनामा समेत ठूलो क्षति पुर्याएको छ । यस्तो अवस्थामा विद्युत् सेवासँग सम्बन्धित तत्कालीन आर्थिक भारबाट समेत प्रभावित नागरिकलाई राहत दिलाउने उद्देश्यले सहजीकरण अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी
-
भोटेकोशी बाढीपीडितलाई विद्युत्मा राहत, भदौदेखि न्यूनतम बिल नलिइने
-
तीन दिनमा १०२ अंक बढेको नेप्सेमा बुधबार करेक्सन, कारोबार ५ अर्बमा झर्यो
-
राष्ट्र बैंक संशोधन विधेयकको प्रतिवेदन अर्थसमितिबाट सर्वसहमत पारित
-
माथिल्लो त्रिशूली-३ ‘बी’ : पावरहाउस क्षेत्रमा उत्खनन जारी, ट्रान्समिसन टावर र स्तम्भका अवशेष भेटिए