चिलिमे उद्धारसँगै छुट्टै ‘रेस्क्यु टनेल’ बनाउन सुझाव
जलसरोकार
काठमाडौं : चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा जारी उद्धार कार्य कठिन बन्दै गएपछि समानान्तर रूपमा छुट्टै उद्धार सुरुङ निर्माण गर्नुपर्ने सुझाव आएको छ।
चिलिमेमा उद्धार कार्य कठिन भए पनि उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको र सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा अन्ततः सफलता मिल्ने विश्वास व्यक्त गर्दै ऊर्जा क्षेत्रका प्राविधिक तथा चिलिमेका पूर्व सीइओ लीलानाथ भट्टराईले अहिलेको उद्धार कार्यलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
उनले जारी उद्धार अभियानसँगै समानान्तर रूपमा रेस्क्यु टनेल (उद्धार सुरुङ) निर्माणको काम पनि अघि बढाउन चिलिमे आयोजनाको व्यवस्थापनलाई सुझाव दिएका छन्।
भट्टराईका अनुसार अहिले उद्धारका लागि निर्माण गरिने छुट्टै सुरुङ भविष्यमा आयोजनाको सुरक्षाका लागि पनि उपयोगी बन्न सक्छ। उक्त सुरुङलाई पछि एस्केप टनेल (आपत्कालीन निस्कने सुरुङ) का रूपमा प्रयोग गर्न सकिने उनको सुझाव छ।
उनले भविष्यमा विद्युत्गृह सञ्चालन गर्ने कर्मचारी तथा प्राविधिकको सुरक्षाका दृष्टिले पनि यस्तो सुरुङ आवश्यक पर्ने बताएका छन्।
‘चिलिमेमा उद्धार कार्य निकै कठिन भएको बुझिन्छ। तर उद्धार टोलीले निरन्तर प्रयास गरिरहेको छ र अन्ततः सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा सफलता मिल्ने विश्वास छ। त्यसैले उद्धार कार्यलाई निरन्तरता दिनुपर्छ,’ भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्।
तर जारी उद्धार प्रयाससँगै कम्पनी व्यवस्थापनले छुट्टै उद्धार सुरुङ निर्माणको सम्भावना पनि अघि बढाउनुपर्ने उनको सुझाव छ।
भट्टराईका अनुसार अहिले निर्माण गरिने उद्धार सुरुङ भविष्यमा विद्युत्गृहका लागि आपत्कालीन निस्कने मार्गका रूपमा उपयोग गर्न सकिन्छ। विशेषगरी विद्युत्गृहको क्राउन क्षेत्रबाट बाहिर निस्कने सुरक्षित मार्ग निर्माण नभएसम्म भविष्यमा विद्युत्गृह सञ्चालनमा समेत कठिनाइ आउन सक्ने उनले औँल्याएका छन्।
उनले कम्पनी व्यवस्थापन यस विषयमा जानकार रहेको विश्वाससमेत व्यक्त गरेका छन्।
चिलिमेमा हाल जारी उद्धार कार्यको मुख्य चुनौती सुरुङसम्म पुग्ने पहुँच र सुरुङभित्र जमेको लेदो तथा अवरोध हटाउनु रहेको अवस्थामा आएको यो सुझावले तत्कालको उद्धारसँगै भविष्यको संरचनागत सुरक्षामाथि पनि बहस सुरु गरेको छ।
अहिलेको संकट समाधानका लागि बनाइने सुरुङलाई भविष्यको स्थायी सुरक्षा संरचनाका रूपमा समेत उपयोग गर्न सकिने भएकाले, उद्धार र आयोजनाको दीर्घकालीन सुरक्षालाई सँगसँगै हेर्नुपर्ने भट्टराईको सुझावको मूल आशय देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
म्याग्दी नदी बेसिनको विद्युत् केन्द्रीय प्रणालीमा जोड्न डाडाखेतमा सबस्टेसन तयार
-
भोटेकोशी बाढी : पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन
-
सुन तोलामा ३५ सय र चाँदी सय रुपैयाँले बढ्यो
-
सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता ४५८ रुपैयाँ २६ पैसा कायम
-
भोटेकोशी बाढीका १४ दिन : सुरुङदेखि सडकसम्म खोजी र पुनर्स्थापनाको काम तीव्र
-
सुरुङदेखि भग्नावशेषसम्म : जलविद्युत् आयोजनाहरूमा सेनाको खोज तथा उद्धार