भोटेकोशी बाढीका १४ दिन : सुरुङदेखि सडकसम्म खोजी र पुनर्स्थापनाको काम तीव्र
जलसरोकार
काठमाडौँ : रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५६ पुगेको छ । बाढीपछि ४ हजार ८९४ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले जनाएको छ ।
प्राधिकरणले साेमबार सार्वजनिक गरेको भदौ २२ गते साँझ ७ बजेसम्मको स्थिति प्रतिवेदनअनुसार बाढीमा परी ६ हजार ६७६ जना घाइते भएका छन् । तीमध्ये विभिन्न स्वास्थ्य संस्थामा ३२७ जनाको उपचार भएको छ ।
उपचार गराइएकामध्ये २४२ जना डिस्चार्ज भएका छन् भने ५१ जना उपचाररत छन् । ३० जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ । उपचारका क्रममा चार जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
१३ हजारभन्दा बढीको उद्धार
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
उद्धार तथा राहत कार्यका लागि १ हजार १५७ वटा हवाई उडान भएका छन् । निजी क्षेत्रबाट १२९ वटा उडान भएका छन् ।
रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२९ जना प्रभावितले आश्रय लिइरहेका छन् । तीमध्ये नुवाकोटका २५ केन्द्रमा २ हजार ६९९, रसुवाका १० केन्द्रमा ७३३ र धादिङका दुई केन्द्रमा १९७ जना छन् ।
होल्डिङ सेन्टरमा रहेका प्रभावितलाई अस्थायी आवासमा स्थानान्तरण गर्न ‘पुनर्स्थापना तथा आश्रयस्थल व्यवस्थापन कार्ययोजना, २०८३’ तयार गर्ने काम भइरहेको छ ।
सुरुङमा खोजी जारी
बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ । रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी गर्दा हालसम्म केही फेला नपरेको प्रतिवेदनमा उल्लेख छ ।
लाङटाङ आयोजनामा पनि खोजी जारी छ । चिलिमे आयोजनामा नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरुङभित्र करिब ११५ मिटर प्रवेश गरेको छ । चारवटा ६–६ मिटर लामो पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटो तयार पारिएको छ ।
माथिल्लो त्रिशूली–१ आयोजनामा नेपाली सेना र कोरियन विपद् उद्धार टोलीले मुख्य प्रवेश सुरुङमा करिब ४०० मिटर प्रवेश गरी खोजी गरेको छ । मैलुङ खोला आयोजनामा करिब एक किलोमिटर आसपास ड्रोनमार्फत रेकी गर्दा पनि केही फेला नपरेको प्रतिवेदनमा जनाइएको छ ।
त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ तथा पावर हाउस क्षेत्रमा खोजी जारी छ । माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना र संयुक्त अरब इमिरेट्सको खोज तथा उद्धार टोलीले ड्रोन तथा थर्मल उपकरण प्रयोग गरी रेकी गरेको छ ।
कृष्णभीरमा वैकल्पिक ट्र्याक
बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु खण्डअन्तर्गत कृष्णभीरमा पहाडतर्फ खनेर २५० मिटर वैकल्पिक ट्र्याक खोलिएको छ । उक्त ट्र्याक चौडा गर्ने काम भइरहेको छ ।
गल्छी–त्रिशूली सडक खण्डको देवीघाटस्थित तादी नदीमा बगेको पुलको स्थानमा ६० मिटर बेलीब्रिज जडानका लागि सामग्री ढुवानी भइरहेको छ । नेपाली सेनाले निर्माण कार्य सुरु गरेको छ ।
विदुर–बेत्रावती खण्डको १० किलोमिटरमध्ये ८.५ किलोमिटर सडक सञ्चालनयोग्य भए पनि बाँकी १.५ किलोमिटर पूर्ण रूपमा बगेकाले नयाँ ट्र्याक निर्माण भइरहेको छ ।
सञ्चार र खानेपानी पुनःस्थापनामा जोड
नेपाल टेलिकमका १२० मध्ये ११७ वटा बीटीएस टावर पुनःस्थापना तथा सञ्चालनमा आएका छन् । एनसेलका ७८ मध्ये ७६ वटा टावर सञ्चालनमा छन् ।
बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउन ६ हजार लिटर क्षमताका दुई र ९ हजार लिटर क्षमताको एक गरी तीनवटा ट्याङ्करबाट नियमित पानी वितरण भइरहेको छ । त्रिशूली नदीपारि रहेको सेरा खानेपानी आयोजना पुनःस्थापनाका लागि आवश्यक पाइप हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाइएको छ ।
४ हजार ७२२ भन्दा बढीको उपचार
विपद् प्रभावित क्षेत्रमा ३८ वटा आपत्कालीन स्वास्थ्य टोली परिचालन गरी ४ हजार ७२२ भन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिएको छ । शव व्यवस्थापन तथा पहिचानका लागि ३२ वटा फोरेन्सिक टोली परिचालन गरिएको छ ।
रसुवामा अज्ञात तथा बेपत्ता व्यक्तिको डीएनए नमुना संकलनको व्यवस्था मिलाइएको छ । विभिन्न होल्डिङ सेन्टरमा ४ हजार १११ भन्दा बढी व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ ।
सरकारद्वारा १३ करोड ५० लाख राहत
सरकारले रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड र धादिङका लागि ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ निकासा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
भदौ २२ गते प्रभावित जिल्लामा दुईवटा हेलिबाट खाद्यान्न तथा बन्दोबस्ती सामग्री र आठवटा मिनीट्रकमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री ढुवानी गरिएको छ । शनाखत भई बुझिलिएका शवको संख्या ९८ पुगेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
म्याग्दी नदी बेसिनको विद्युत् केन्द्रीय प्रणालीमा जोड्न डाडाखेतमा सबस्टेसन तयार
-
भोटेकोशी बाढी : पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन
-
सुन तोलामा ३५ सय र चाँदी सय रुपैयाँले बढ्यो
-
सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता ४५८ रुपैयाँ २६ पैसा कायम
-
भोटेकोशी बाढीका १४ दिन : सुरुङदेखि सडकसम्म खोजी र पुनर्स्थापनाको काम तीव्र
-
सुरुङदेखि भग्नावशेषसम्म : जलविद्युत् आयोजनाहरूमा सेनाको खोज तथा उद्धार