सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

म्याग्दी नदी बेसिनको विद्युत् केन्द्रीय प्रणालीमा जोड्न डाडाखेतमा सबस्टेसन तयार

जलसरोकार
मंगलबार, भदौ २३, २०८३ | १६:१९:१९ बजे

 

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराउन सबस्टेसन निर्माण गरेको हो ।

एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए क्षमताका एआइएस प्रविधिका उपकरण जडान भइसकेका छन् । डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले सबस्टेसनको भौतिक पूर्वाधार निर्माण र जडान भएका उपकरणको परीक्षण सम्पन्न भएको बताए ।

“डाडाखेत सबस्टेसनको भौतिक पूर्वाधार निर्माण र जडान भएका उपकरणको परीक्षण भएको छ,” उनले भने, “डाडाखेतदेखि राहुघाट जोड्ने २५ किलोमिटर प्रसारण लाइन र राहुघाट सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ ।”

डाडाखेतमा विसं २०७५ देखि सबस्टेसनका लागि जग्गा व्यवस्थापन, घेराबार र आवास भवन निर्माण थालिएको थियो । प्रसारण लाइन तथा दुवै स्थानमा सबस्टेसन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा रु तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टुब्रो (एलएनटी) लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।

पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ मा सकिएपछि तेस्रो पटक सन् २०२६ अगस्ट १६ सम्मका लागि म्याद थपिएको थियो । ठेकेदार कम्पनी एलएनटीका आयोजना व्यवस्थापक शुभासचन्द्र शर्माले आगामी डिसेम्बरसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए  ।

उनका अनुसार प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त हुन ढिलाइ, राहुघाट सबस्टेसन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायसँगको विवादका कारण निर्माण अवधि लम्बिएको हो ।

एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनका ८२ वटा टावरमध्ये ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन् । करिब १५ किलोमिटर प्रसारण लाइनमा तार तान्ने काम सकिएको छ ।

राहुघाटमा २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताका उपकरण जडान हुने जिआइएस प्रविधिको सबस्टेसन निर्माण भइरहेको छ । त्यहाँ उपकरण राख्ने र कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

कुल रु चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि रु एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र रु तीन अर्ब ८२ करोड एसियाली विकास बैङ्कको ऋण लगानी छ । एसियाली विकास बैङ्कसँग भएको २७ मिलियन अमेरिकी डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ ।

एसियाली विकास बैङ्कले विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट–डाडाखेत प्रसारण लाइन निर्माणमा ऋण लगानी गरेको हो ।

म्याग्दी नदीमा १७२ दशमलव ८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । राहुघाट क्षेत्रमा ३५ दशमलव ५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१ दशमलव ३ मेगावाटको ठुलोखोला र २३ दशमलव ५ मेगावाटको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।

चालिस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठुलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति गराएका तुदी पावरका आयोजना प्रमुख इन्द्र ढकालले बताए ।

 

 

प्रकाशित मिति : मंगलबार, भदौ २३, २०८३ | १६:१९:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया