सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे उद्धारकै बीच अर्नोल्ड डिक्स भन्छन् : ‘नेपालमा यस्तो चुनौती कहिल्यै सामना गरेको थिइनँ’

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | २०:०३:०२ बजे

काठमाडौं : चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका हुन सक्ने मानिससम्म पुग्न नेपाली र भारतीय उद्धार टोलीसँगै प्राविधिक रणनीति बनाइरहेका अन्तर्राष्ट्रिय सुरुङ उद्धार विज्ञ अर्नोल्ड डिक्सले नेपालमा अहिले आफूले यसअघि कहिल्यै सामना नगरेको चुनौती सामना गरिरहेको बताएका छन्।

चिलिमेमा सुरुङभित्रको उद्धार प्रयास जारी रहेकै बेला डिक्सले नेपालमा अहिले एउटा मात्र होइन, फरक–फरक स्थानमा फरक जोखिम र अनिश्चितताबीच एकैपटक धेरै सम्भावित उद्धार अभियान चलिरहेको बताएका हुन्। डिक्स हाल चिलिमे सुरुङको अवस्थाको मूल्याङ्कन गर्दै नेपाली तथा भारतीय विज्ञसँग मिलेर भूमिगत संरचनासम्म पुग्ने रणनीतिमा काम गरिरहेका छन्।

‘अहिले नेपालमा हामीले यस्तो अवस्थाको सामना गरिरहेका छौँ, जुन मैले यसअघि कहिल्यै सामना गरेको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

उनका अनुसार अहिलेको चुनौती एउटै उद्धार अभियानमा सीमित छैन। फरक–फरक स्थानमा एकैपटक सम्भावित उद्धारका प्रयास भइरहेका छन्, जहाँ फरक जोखिम र अनिश्चितताबीच अझै मानिसको जीवन बचाउन सकिने सम्भावना छ।

नेपालको अहिलेको अवस्थाले उनलाई सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङ उद्धारको सम्झना गराएको उनले बताएका छन्। त्यसबेला सुरुङभित्र फसेका ४१ जना कामदारलाई जीवितै बाहिर निकाल्ने चुनौती उद्धार टोलीसामु थियो र अन्ततः सबैलाई उद्धार गरिएको थियो।

सिल्क्यारा उद्धारबाट आफूले असम्भाव्य देखिनु र असम्भव हुनु एउटै कुरा नभएको पाठ सिकेको डिक्सले बताएका छन्।

नेपालले भने आफूलाई अर्को पाठ सिकाइरहेको उनको भनाइ छ—एकैपटक धेरै मानिसको जीवन उद्धार प्रयासमा निर्भर हुँदा आशा केवल भावना भएर नपुग्ने र त्यसलाई अनुशासनमा बदल्नुपर्ने हुन्छ।

उनका अनुसार यस्तो अवस्थामा करुणा कार्यमा बदलिनुपर्छ र कर्तव्य सफलताको निश्चिततामा निर्भर हुनु हुँदैन।

पूर्व र पश्चिमको दर्शन फरक भए पनि उद्धारको मूल सिद्धान्त एउटै रहेको उनको भनाइ छ। सफलता निश्चित नभए पनि सही काम गरिरहनु नै कर्तव्य र धर्मको मूल भाव भएको उनले उल्लेख गरेका छन्।

डिक्सले आफ्नो सन्देशको अन्त्यमा उद्धार अभियानमा संलग्न सबैका लागि गम्भीर सन्देश दिएका छन्—हामीले कति जीवन बचायौँ भन्ने आधारमा मात्र होइन, बचाउन सकिने सम्भावना हुँदाहुँदै कति जीवनलाई त्याग्न अस्वीकार गर्‍यौँ भन्ने आधारमा पनि हाम्रो मूल्याङ्कन हुन्छ।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | २०:०३:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया