सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्रिय शोकमा विद्युत् प्राधिकरण : सबै कार्यालयमा मौनधारण र दीप प्रज्वलन

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | १९:२३:३१ बजे
तस्वीरहरु : नेपाल विद्युत् प्राधिकरण

काठमाडौं : नेपाल-चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको अकल्पनीय भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाइएको दिन नेपाल विद्युत् प्राधिकरणका सम्पूर्ण कार्यालयमा मौनधारण तथा दीप प्रज्वलन गरिएको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ १८ गतेको बैठकले उक्त बाढीका कारण मृत्यु भएका व्यक्तिको सम्मानस्वरूप घटनाको तेह्रौँ दिनको पुण्यतिथिका दिन भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरणले भदौ २२ गते आफ्ना सम्पूर्ण कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो।

प्राधिकरणले यसअघि सूचना जारी गर्दै प्रधान कार्यालयसहित सम्पूर्ण कार्यालयलाई सोमबार अपराह्न ५ः१० बजे मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण, दीप प्रज्वलन तथा मृत आत्माको चिरशान्तिको कामना गर्न निर्देशन दिएको थियो। साथै, सबै कर्मचारीलाई कार्यक्रममा सहभागी हुन पनि अनुरोध गरिएको थियो।

प्राधिकरणले सार्वजनिक गरेको जानकारीअनुसार प्रधान कार्यालयलगायत विभिन्न कार्यालयमा मृतकको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण र दीप प्रज्वलन गरिएको हो।

यस अवसरमा बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको प्राधिकरणले जनाएको छ।

रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीले मानवीय क्षतिसँगै जलविद्युत् तथा विद्युत् पूर्वाधारमा समेत ठूलो असर पुर्‍याएको थियो। उद्धार, राहत र प्रभावित क्षेत्रको पुनःस्थापनाका प्रयास जारी रहेकै बेला सरकारले घटनाको तेह्रौँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

नेपाल विद्युत् प्राधिकरणले पनि राष्ट्रिय शोक दिवसका अवसरमा देशभर रहेका आफ्ना कार्यालयमा एकैसाथ श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी बाढीमा ज्यान गुमाएकाको सम्झना गरेको हो।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | १९:२३:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया