सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुरुङदेखि भग्नावशेषसम्म : जलविद्युत् आयोजनाहरूमा सेनाको खोज तथा उद्धार

जलसरोकार
मंगलबार, भदौ २३, २०८३ | ०७:०६:५७ बजे
तस्वीरहरु : नेपाली सेना

काठमाडौं : भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित जलविद्युत् आयोजनाहरूमा खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाली सेनाले सोमबार साँझ ६ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक सार्वजनिक गर्दै विभिन्न जलविद्युत् आयोजनाका सुरुङ, पावरहाउस तथा आयोजनास्थलमा संयुक्त उद्धार टोली परिचालन गरिएको जनाएको छ।

विशेषगरी माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको कार्यालय तथा आवास गृह क्षेत्रमा करिब १० फिट गहिराइसम्म उत्खनन गर्दा पनि कुनै भौतिक संरचना फेला नपरेको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार नेपाली सेनाका १०० जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले तीनवटा बोबक्याट प्रयोग गरी आयोजनाको कार्यालय तथा आवास गृह रहेको क्षेत्रमा उत्खनन गरेको थियो। करिब १० फिटसम्म खन्दा पनि कुनै भौतिक संरचना भेटिएन। खोजी कार्यलाई थप तीव्र बनाउन चारवटा एक्स्काभेटर प्रयोग गरी उत्खनन जारी रहेको सेनाले जनाएको छ।

त्रिशूली-३ ‘बी’ आयोजनास्थलमा कार्यालय तथा आवासीय भवन रहेको क्षेत्रमा बाढीले ठूलो मात्रामा माटो, लेदो र गेग्रान थुपारेपछि संरचनाको अवस्थाबारे खोजी भइरहेको छ। आयोजनास्थलमा तीन ठूला एक्स्काभेटर परिचालन गरी उत्खनन तीव्र पारिएको अवस्थामा सेनाले सोमबार साँझसम्मको आफ्नो अद्यावधिकमा कार्यालय तथा आवास गृह क्षेत्रमा १० फिटसम्म खन्दा पनि कुनै संरचना नभेटिएको जनाएको हो।

रसुवागढीमा पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगे उद्धार टोली

नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्य गरिरहेको छ।

त्यसैगरी लाङटाङ जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेको सेनाले जनाएको छ।

चिलिमेमा मिनी एक्स्काभेटर परिचालन

चिलिमे जलविद्युत् आयोजनामा विदेशी टोलीसहितको संयुक्त उद्धार टोलीले स्लिङ अपरेसनमार्फत स्याफ्रुबेसीमा पुर्‍याइएको मिनी एक्स्काभेटर तथा अन्य उपकरण जोडेर खोज तथा उद्धार कार्यमा प्रयोग गरेको छ।

सुरुङ क्षेत्रमा पैदल आवतजावत सहज बनाउन संयुक्त टोलीले ६/६ मिटर लम्बाइका चारवटा ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटोसमेत तयार पारेको नेपाली सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली-१ को सुरुङमा ४०० मिटरसम्म खोजी

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा विदेशी टोलीसहितको संयुक्त उद्धार टोलीले मुख्य प्रवेश सुरुङभित्र करिब ४०० मिटरसम्म प्रवेश गरी खोजतलास गरेको छ। उक्त खोजीका क्रममा भने केही फेला नपरेको सेनाले जनाएको छ।

त्यस्तै, त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा नेपाली सेनाका ५८ जना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

हवाई माध्यमबाट ४ हजार २० जनाको उद्धार

नेपाली सेनाले सोमबार साँझ ६ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई माध्यमबाट थप ४० जनाको उद्धार गरेको जनाएको छ। यससँगै बाढी प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत उद्धार गरिएकाको संख्या ४ हजार २० पुगेको छ। तीमध्ये ३ हजार ७३७ जना स्वदेशी र २८३ जना विदेशी नागरिक रहेका छन्।

भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा सुरुङ, पावरहाउस र भग्नावशेषभित्र खोजी कार्य निरन्तर जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, भदौ २३, २०८३ | ०७:०६:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया