सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चिलिमे सुरुङ उद्धारमा दुई चुनौती, भोलिबाट सुरु हुने थप अभियान तीन दिनभित्र सक्ने अपेक्षा

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | १९:०२:३६ बजे
फाइल तस्वीर : बाढीअघिको चिलिमे विद्युत् गृह, स्याफ्रुवेंशी रसुवा।

काठमाडौं : रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा पहुँचमार्ग निर्माण र सुरुङभित्र जमेको लेदो तथा अवरोध हटाउने दुई प्रमुख चुनौती रहेको देखिएको छ। आवश्यक उपकरण र विद्युत् आपूर्ति पुर्‍याउने तयारी भइरहेकाले भोलिबाट सुरु हुने थप उद्धार कार्य बढीमा तीन दिनभित्र सम्पन्न गर्न सकिने अपेक्षा गरिएको छ।

इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनास्थलको स्थलगत अवलोकनपछि सार्वजनिक गरेको जानकारीअनुसार आयोजनाको सुरुङ मुखसम्म पुग्ने पहुँचमार्ग र पैदलमार्ग पूर्ण रूपमा विच्छेद भएको छ।

नेपाली सेना, भारतीय सेना र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको समन्वयात्मक प्रयासबाट करिब २५० मिटर क्षेत्रमध्ये हालसम्म करिब १०० मिटरमा पहुँच बनाउने काम सम्पन्न भएको जानकारी उनले दिएका छन्।

सुरुङ प्रवेशद्वार अगाडि सानो हेलिकप्टर मात्र अवतरण गर्न सक्ने स्थान रहेकाले हाल मानिस तथा सामग्रीको आवतजावतका लागि हेलिकप्टर नै एकमात्र विकल्प रहेको उनको भनाइ छ।

पहिलो चुनौती : सुरुङसम्म पुग्ने पैदलमार्ग

न्यौपानेका अनुसार उद्धार कार्यका लागि पहिलो प्रमुख चुनौती सुरुङसम्म पैदल आवतजावत गर्न सकिने बाटो निर्माण गर्नु हो।

यसका लागि ब्लास्टिङ गरेर पैदलमार्ग निर्माण गर्न सिफारिस गरिएको थियो। सोहीअनुसार त्रिशूली–३ए जलविद्युत् आयोजनाबाट आवश्यक ब्लास्टिङ सामग्री आज चिलिमे पुर्‍याइएको जानकारी उनले दिएका छन्।

पैदलमार्ग निर्माण भएपछि उद्धारकर्मी र आवश्यक सामग्री सुरुङ प्रवेशद्वारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ।

दोस्रो चुनौती : सुरुङभित्रको लेदो र अवरोध

उद्धार कार्यको अर्को प्रमुख चुनौती सुरुङभित्र जमेको लेदो तथा अन्य अवरोध हटाउनु रहेको न्यौपानेले बताएका छन्।

यसका लागि मड पम्प, वाटर पम्प र विन्चिङ मेसिन प्रयोग आवश्यक देखिएको छ। आवश्यक तयारी पूरा भइसकेको र ती उपकरण भोलि बिहानसम्म घटनास्थलमा पुग्ने जानकारी प्राप्त भएको उनले बताएका छन्।

साथै, उद्धार कार्यका लागि आवश्यक विद्युत् आपूर्ति पुर्‍याउन नेपाल विद्युत् प्राधिकरणले भोलिसम्म विद्युत् लाइन पुर्‍याउने तयारी गरिरहेको जानकारी पनि उनले दिएका छन्।

‘तीन दिनभित्र उद्धार कार्य सम्पन्न गर्न सकिने’

सबै पक्षबाट आवश्यक सहयोग प्राप्त भएको र परिस्थिति अनुकूल रहेमा भोलिबाट सुरु हुने थप उद्धार कार्य बढीमा तीन दिनभित्र सम्पन्न गर्न सकिने विश्वास न्यौपानेले व्यक्त गरेका छन्।

उनले सुरुङको कन्ट्रोल रुमभित्र मानिसहरू रहेको अवस्थामा ६ जनालाई सकुशल उद्धार गर्न सकिने विश्वास समेत व्यक्त गरेका छन्।

तर उनले उद्धारको सफलता सुरुङभित्रको वास्तविक अवस्था र आवश्यक उपकरण परिचालनसहितको परिस्थितिमा निर्भर रहने संकेत गरेका छन्।

‘साँघुरो भूगोलले धेरै मानिसको उपस्थिति कठिन’

घटनास्थलको भौगोलिक अवस्था अत्यन्त साँघुरो रहेकाले धेरै व्यक्तिको उपस्थितिले उद्धार कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्ने न्यौपानेको भनाइ छ।

यसै कारण आफू र सागर ढकाल काठमाडौंमै रहेर आवश्यक समन्वय, मार्गदर्शन तथा निर्देशन प्रदान गरिरहेको उनले जानकारी दिएका छन्।

चिलिमे सुरुङसम्मको पहुँचमार्ग निर्माण, आवश्यक उद्धार उपकरणको ढुवानी र विद्युत् लाइन विस्तारको तयारी एकैसाथ अघि बढिरहेको अवस्थामा आगामी केही दिनको उद्धार प्रयास निर्णायक हुन सक्ने देखिएको छ।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | १९:०२:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया