सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

हिमनदी भत्किएपछि आएको हिम-चट्टानको पहिरो नेपालसम्म पुगेको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को दाबी

जलसरोकार
सोमबार, भदौ २२, २०८३ | २०:५९:५८ बजे

काठमाडौं : गत भदौ १० मा नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीको सुरुआत हिमालयको उच्च भूभागमा हिमनदी भत्किएपछि भएको हुन सक्ने चिनियाँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीजीटीएन ले जनाएको छ।

सीजीटीएन ले सार्वजनिक गरेको विवरणअनुसार अगस्ट २६ तारिख बिहान १०ः५२ बजे बेइजिङ समय मा हिमालयको उच्च क्षेत्रमा एउटा हिमनदी भत्किएको थियो। त्यसपछि उत्पन्न भएको विशाल हिम–चट्टानको पहिरो तलतर्फ तीव्र गतिमा बग्दै गएको र ६ देखि ७ मिनेटभित्र चीनको स्वशासित क्षेत्र तिब्बतको जिरोङ बन्दरगाह क्षेत्रलाई ध्वस्त पारेको सीजीटीएन को दाबी छ।

त्यसपछि पनि उक्त हिम–चट्टानको बहाव नरोकी तलतर्फ बढ्दै नेपालसम्म पुगेको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले जनाएको छ।

सीजीटीएन ले घटनालाई सामान्य माटोको पहिरो मात्र नभई हिमनदी भत्किएपछि उत्पन्न भएको ठूलो हिम-चट्टानको पहिरोका रूपमा व्याख्या गरेको छ। उक्त घटनापछि आएको बहावले चीनतर्फको जिरोङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यसको प्रभाव नेपालतर्फ पनि पुगेको उसको दाबी छ।

सडक बग्यो, नदी अवरुद्ध भयो

घटनापछि चीनतर्फ उद्धारकर्मीहरूले अत्यन्त जटिल भूगोलमा उद्धार अभियान सञ्चालन गरिरहेको सीजीटीएन ले जनाएको छ।

उद्धार टोलीले सडक पूर्ण रूपमा अवरुद्ध भएको, नदी थुनिएको तथा निरन्तर जोखिम कायम रहेको अवस्थामा स्थल, हवाई र जलमार्गबाट प्रभावित क्षेत्रसम्म पुग्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ।

सीजीटीएन ले यस घटनासँग सम्बन्धित केही महत्वपूर्ण प्रश्न पनि उठाएको छ। वास्तवमा नेपाल–चीन सीमामा के भएको थियो? के यो सामान्य माटोको पहिरो मात्र थियो? पूर्वचेतावनी किन जारी भएन? जिरोङ बन्दरगाह क्षेत्र सबैभन्दा बढी किन प्रभावित भयो? र उद्धार अभियान किन यति जटिल बन्यो? भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास आफ्नो सामग्रीमा गरिएको उसले जनाएको छ।

बाढीको वास्तविक स्रोतबारे नयाँ कोण

नेपालतर्फ भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीको कारणबारे विभिन्न प्रारम्भिक चर्चा भइरहेका बेला सीजीटीएन ले प्रस्तुत गरेको यो विवरणले घटनाको स्रोतबारे नयाँ कोण थपेको छ।

तर सीजीटीएन ले प्रस्तुत गरेको विवरणलाई हालसम्म स्वतन्त्र वैज्ञानिक वा सरकारी अध्ययनबाट पुष्टि भएको निष्कर्षका रूपमा लिन सकिने आधार यस पोस्टमा उल्लेख छैन। त्यसैले हिमनदी भत्किएर उत्पन्न हिम–चट्टानको पहिरो नेपालसम्म पुगेको भन्ने विषयलाई सीजीटीएन को दाबीका रूपमा नै हेर्नुपर्ने हुन्छ।

यद्यपि, उक्त विवरणले गत अगस्ट २६ मा नेपाल–चीन सीमा क्षेत्रमा भएको घटनाको वास्तविक प्रकृति, बाढीको स्रोत र त्यसले जिरोङदेखि नेपालतर्फको नदी प्रणालीमा पारेको प्रभावबारे थप वैज्ञानिक अध्ययन आवश्यक रहेको संकेत गरेको छ।

प्रकाशित मिति : सोमबार, भदौ २२, २०८३ | २०:५९:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया