जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अनुदानको भर नपरी आत्मनिर्भरताको बाटोमा प्राकृतिक खेती – एक पाइलट परियोजना

ई. रामेश्वर यादव
आइतबार, जेठ २५, २०८२ | १४:५५:२३ बजे

केही वर्ष यतादेखि बारम्बार गाउँ जाने मौका पाएँ । गाउँमा खेती गर्ने किसानहरूसँग खेती गर्ने विभिन्न तौरतरीकाबारे कुरा गर्ने मौका पाएँ । उनीहरुको समस्याबारे पत्रपत्रिका पढेर मात्र बुझ्ने गर्थे । तर अब किसानहरुको बीचमा गएर विभिन्न समस्याहरु बुझ्न थाले । यसमा निश्चित भए कि उनीहरूमा मेहनतअनुसार प्रतिफलको अभाव थियो । हुन त उनीहरुको खेती धान र गहुँमा केन्द्रित थियो । फाटफुट मात्र २-४ कट्ठा जग्गामा तरकारी खेती गरेको पाइयो । यो कथा मेरो गाउँ तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ वेल्ही, सप्तरीको हो । 
मैले ६-७ वर्ष पहिला करिब एक एकड जग्गामा तारबार गरी महँगो खालको काठका  विरूवा महगनी रोपेको थिए । बिरुवा रोपेकै वर्ष खाँडो नदीमा बाढी आयो । त्यसमा पांक (ह्यूमश) सहितको बालुवा पनि आयो । अर्को वर्ष पनि बाढी आयो । खेतमा बाढी, वालुवा र पांकले गर्दा महगनीको धेरै विरुवा सुखेर गयो । त्यसलाई संरक्षणा गर्न छोडियो । त्यसपछि पनि अर्को वर्ष ठूलो बाढी आई तारबारको चारैतिर बाढीले बगाएर ल्याएको भसाठ जम्मा भयो । बाढीको पानीबाट फिल्टर भई पर्याप्त मसिनो पाक खेत जम्मा भयो । मेरो खेतको करिब डेढ फिट हाइट बढयो । अरुको योभन्दा बढी हाइट बढेको थियो । त्यसपछि अर्को वर्ष सन् २०२१०२२ मा खाँडो तटबन्ध पूरा भयो । खेतको प्रायः सवै बिरुवा सुकिसकेको थियो । अब यस खेतमा खेती गर्ने कि अरुलाई दिने कि आफै गर्ने विचार गर्दा अनुभव बटुल्नको लागि आफै खेती गर्ने निर्णय गरें ।
म पहिला पनि गाउँ जाँदा रासायनिक मल आएको छैन सुनिन्थ्यो । किसानहरुलाई कहिले राजविराज त कहिले हनुमाननगर मल लिन जानुपथ्र्याे । यता विभिन्न समाचार माध्यममा कहिले यसपालि सरकारले आवश्यकतानुसार रासायनिक मल किन्न सकेन र कहिले ठेकेदारले समयमा रासायनिक मल लान सकेन आदि सुनिन्थ्यो । यी सब कुरा सुनेर म दिक्क भएँ । 
समाचारमा यो पनि सुन्ने गरिन्थ्यो कि भारतबाट आउने तरकारी फलफूलमा बढी विषादि हुन्छ । वीरगंज भन्सारमा रोक्न खोजे पनि राजनीतिक कारणले पुनः नेपाल आउन छूट पाउने गरन्थ्यिो । कहिलेकाहीं यो पनि सुन्ने गरिन्थ्यो कि भारतको मसालालाई कतिपय देशले रोक लगाएका छन् । भारतीय सञ्चार माध्यमले पनि बारम्बार रासायनिक मल र रासायनिक कीटनाशकले खाद्यान्न दूषित हुँदै गएको बताए । डाइवेटिक, थाइराइड, हर्ट अट्याक, किडनी र लिवरसम्बन्धी बिमारी र क्यान्सरजस्ता अनेकौ घातक रोगहरु समाजमा प्रश्रय पाएको छ । हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा कमी, वातावरणीय प्रभाव, भूजलस्तरमा कमी, जैविक विविधतामा ह्रास आदि अनेकन वेफाइदाहरु रासायनिक खेतीबाट हुन्छ भनी विभिन्न सञ्चार माध्यम र कृषि वैज्ञानिकहरुको विचारबाट थाहा पाए । 
विभिन्न देशका वैज्ञानिकहरु अर्ग्यानिक खेती गर्न सल्लाह दिए । अर्ग्यानिक खेतीबाट उत्पादित वस्तु महँगो भएको कारण साधारण व्यक्तिसम्म पुग्न कठिन भयो । यसले पोषण सुरक्षा दिए पनि खाद्य सुरक्षा दिन असमर्थ रहे र प्रतियुनिट लागत पनि बढी हुने भयो । किसानहर जैविक खेती (अर्ग्यानिक खेती) मा प्रवेश गरे पनि उपरोक्त कारणले पुनः रासायनिक खेतीतर्फै लाग्न बाध्य भए । 
परम्परागत खेती, अर्ग्यानिक खेती (जैविक खेती) सँगै प्राकृतिक खेतीबाट पनि विभिन्न सञ्चार माध्यम, पत्रपत्रिका र कृषि वैज्ञानिक एवं शोधकर्ताहरुबाट जानकारी पाएँ । म प्राकृतिक श्रोत व्यवस्थापनको विद्यार्थी भएको हुनाले मानव सम्यतालाई लोप हुनबाट बचाउने विषयमा थप अध्ययनतर्फ आकर्षित भए । प्राकृतिक खेतीबाट बिग्रेको प्रकृति आफ्नो पूर्व अवस्थामा फर्किन सक्छ विषयमा विश्वास जाग्यो । लगातार घटिरहेको भूजल स्तरमा प्राकृतिक खेतीबाट सुधार हुन सक्छ । सन्तुलित पौष्टिक तत्व भएको उत्पादित अनाज हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई वढाउन सक्छ । माटोभित्र र बाहिर जैविक विविधतामा यस खेतीवाट सुधार हुनेछ । यसले गर्म तरंग (Heat Waves)  र हरित गृह ग्यास (Green House Gas)  उत्सर्जनमा कमी ल्याउँछ जस्ता कुराले मेरो प्राकृतिक खेतीतर्फको आकर्षणमा सहयोग पुग्ने भयो । हालै यू एन को रिपोर्ट अनुसार भारत र अफ्रिकाको अधिकांश भाग सन् २०३५ देखि मरुभूमितर्फ उन्मुख हुनेछ । सन् २०७० आउँदा मरुभूमिमा बदलिने छ । अधिकांश भारतीय जनता पलायन हुने सम्भावना छ जस्ता कुरा सुनेर झन् प्राकृतिक खेतीतर्फ आकर्षित भएँ । नेपाल पनि रासायनिक खेतीमा अछुतो छैन । अहिलेदेखि यस विषयमा सोचिएन भने पछि धेरै ढिलो हुनेछ । प्राकृतिक खेतीसम्बन्धी एउटा सानो पाइलट परियोजनामा पनि संलग्न भई प्राकृतिक खेतीप्रति विश्वासनियता बढेर गएको छ । पाइलट परियोजनाको विवरण यस प्रकार छ :

१. पाइलट परियोजनाः
शुरु शुरुमा जग्गा खनजोत गरी सन् २०२३ को चैत्रमासमा मुगीको दालको खेती शुरु गरें । मुगीको दालले वायुमण्डलमा रहेको ७८ प्रतिशत नाइट्रोजनमध्येको नाइट्रोजन तानेर खेतमा स्थिरीकरण गर्दछ । हरेक दलहन फसल माटोमा नाइट्रोजन स्थिरीकरणको लागि खेती गरिएको हुन्छ । म कुनै पनि रासायनिक मल वा कीटनाशकको प्रयोग गरेन । खेतमा बाढीवाट पर्याप्त ह्यूमश आएको हुन सक्ने अनुमान गरी कुनै पनि रासायनिक मल प्रयोग गरेन । तर यसमा अरुको खेतभन्दा बढी उत्पादन भयो । मुीगको बोटबाट करिब २५ के.जी वा त्योभन्दा बढी प्राकृतिक नाइट्रोजन खेतमा पुगेको अनुमान गर्न सकिन्छ । सँगसँगै करिब १२ क्विन्टल वायोमास मुगीको बोटबाट जीवाणुको भोजनको लागि प्राप्त भयो । मुगीको दालको उत्पादन करीव १.६ क्विन्टल भयो । यसमा अरु कुनै मल र पानीको प्रयोग गरिएको थिएन ।

२. खेती गर्ने धानको चयन :
खेतमा कुन धान लगाउनेबारे सोच्दै जाँदा राम्रो अगहनी धानमध्येको धान लगाउने निर्णय गरें । तराई मधेशमा खास गरी मिथिलामा करिया कामौर धान प्रसिद्ध धानमध्ये आउँछ । कुनै धार्मिक समारोहमा खास गरी सत्यनारायण भगवानको पूजा छठ आदिमा करिया कामौर धानको खोजी हुन्छ । मिथिलामा यस धानको चामलमा नाना प्रकारका वस्तु मिलाई सुगन्धित प्रसाद भगवानलाई चढाउने प्रचलन छ । यस धानको प्रचलन कहिलेदेखि भन्दा राजा जनकको पालामा प्रचलनमा रहेको इतिहासले बताउँछ । अर्थात् त्रेता युगमा यसको प्रचलन थियो । यो प्रचलन त्योभन्दा पहिलादेखि पनि हुन सक्छ । 
यो धान कालो हुन्छ । अर्थात् धानको भूसा कालो हुन्छ । तर धानको भूसाभित्रको चामल सेतो मक्खनजस्तो देखिन्छ । हुनत मैथिलीमा करिया भनेको कालो र कमोर शब्द कमोरी शब्द बाट आएको हुन सक्छ । कमोरी भनेको मक्खन राख्ने भाँडोलाई भनिन्छ । अर्थात् कालो कमोरीभित्रको मक्खनलाई करिया कामोरको चामल भनेको हुन सक्छ । भगवान श्रीकृष्णले कमोरीको मक्खन खाने गरेको अनेकन कहानीहरु छन् । करिया कामोरको चामल भगवानलाई चढाउने प्राथमिकतामा रहने गरेकोले कालो कमोरीको मक्खन करिया कामौर चामलतर्फ इंगित गर्दछ ।

३. बीजामृत वनाउने विधि र प्रयोग ः
फसलमा लाग्ने रोग बीऊको कारण पनि हुन सक्छ । अस्वस्थ बीऊ भएमा फसल उत्पादनमा कमी हुन सक्छ । बीऊलाई स्वस्थ राख्न र हानिकारक फंगस (ढुसी) बाट वचाउनका लागि पहिला बीजामृत बनाएँ । यसका लागि एक केजी गाईको गोबर, एक लिटर गौमूत्र, १० ग्राम चूना र एक मुट्ठीभन्दा कम स्वस्थ माटो र थोरै खेतबारी अमृतघोललाई मिक्स गरेर राखियो । 
त्यसपछि धानको बीऊलाई पानीमा हालियो । अस्वस्थ बीऊ र मरेको धान पनि माथि तैरिन थालियो । पानी माथी आएको बीऊलाई वाहिर फालियो । यो प्रक्रिया तीनपटक गरियो । यो प्रक्रिया खास गरी अस्वस्थ बीऊलाई वाहिर निकाल्नु थियो । अब पानीको बीऊलाई घरमै सुक्नका लागि दिइयो । अर्को दिन यो सुखेको बीऊमा राम्रोसँग बीजामृत लगाइयो । यसलाई पनि सुक्न दिई अर्को दिन बीऊ छर्ने काम गरियो । यो प्रक्रियाले बीऊबाट लाग्ने कुनै पनि रोग लाग्दैन । बीऊको तौलअनुसार यसमा चाहिने जति बीजामृत वनाउनु पर्छ । सोहीअनुसार विजामृतको लागि चाहिने सामानको व्यवस्था गर्नुपर्छ ।

४. खेतवारी अमृत घोलको निर्माण र प्रयोग 
खेतमा धानको खेती गर्न खेतबारी अमृत घोल वनाउन शुरु गरियो । यसले खेतमा लाभदायक जीवाणुको संख्या बढाउँछ । खेतवारी अमृत घोल बनाउन छिमेक गाउँ मलहनिया डिहवार थानको ठूलो वट वृक्ष र पिपल वृक्ष मुनिको माटो, घरको नजिक केराको बोट मुनिको माटो, कदम रुख मुनिको माटो, वेलही डिहवार थानको पीपल बोट मुनिको माटोसमेत गरी ४-५ के.जी माटो संकलन गरियो । २०० लिटर प्लास्टिक ड्रममा पानी हाली त्यसमा ४ के.जी माटो, ४ केजी भेली र ४ केजी वेसन राख्यौ । दैनिक बिहान साँझ एक-एक मिनट पानी चलाउने काम गरियो । जीवाणु पानीको अक्सिजन लिने भएकोले यसरी पानी चलाई राख्नुपर्छ । १५ दिनपछि सोही अनुपातमा भेली र आटा ड्रममा हालियो । पछि १०-१० दिनमा ३ के.जी भेली र ३ के.जी वेसन हाल्ने काम गर्दै गइयो । बीच-बीचमा दुई दिन त्यो पानी लठ्ठीले चलाउन छोड्दा ड्रमको उक्त घोलमाथि कालो फीज जम्मा भएको थियो । यो हानिकारक जीवाणु (Negative Pathogens)  को परत थियो । अर्थात् संकलित माटोको हानिकारक जीवाणु गुणा भएर आएको यो कालो परत थियो । यी कालो फींजलाई निकालेर बाहिर फल्यो । यी हानिकारक जीवाणुलाई फालिएन भने खेतमा गएर भस्मिजनित रोग नियन्त्रण गर्न कठिन हुन जान्छ । यी घोल तीन महिनासम्म तयार ग¥यो । यसलाई धान रोप्ने बेलामा र धानको बाली फुटेपछिको बेला गरी दुईपटक प्रयोग गरियो । यो घोलको २० लिटर घोल १०० लिटर पानीमा मिसाई एक एकड खेतमा प्रयोग गर्ने सफलतम प्रयोग भइसकेको छ । मैले पनि दुई पटक २०-२० लिटर घोल १००-१०० लिटर पानीमा मिसाइ प्रयोग गरेको थिएँ ।
पहिलोपटक परीक्षण गरेको हुनाले अरुको कुरा पनि सुनेर १५ के.जी सरसोको खली पनि खेतमा धान रोपेको २० दिनपछि हालेको थिएँ । योसँगै अर्कोको सल्लाहअनुसार गोबरको करीव १० के.जी गुइँठा १०० लिटर पानीमा हालेर ४ के.जी दही पनि मिसाएर करिब तीन के.जी भेली हालेर सात दिनपछि खेतमा हालियो । तर यसो गर्दागर्दै उत्पादन घट्न सक्दैन जस्तो पनि महशुश भइरहेको थियो । 
कृषि वैज्ञानिकहरुबाट सुनेको पढेको र गाइवस्तु नहुने किसानहरुसमेतलाई समेटने गरी कम्पोष्ट मल नबनाईकन, भेली र आटाबाहेक बजारवाट केही खरीद नगरिकन पाइलट परियोजनाबाट आफू सन्तुष्ट भई प्राकृतिक खेतीसम्बन्धी विभिन्न लेखहरु प्रस्तुत गरेको छु ।

५. अर्ग्यानिक बुस्टर बनाउने विधि र प्रयोगः 
अर्ग्यानिक बुस्टरको लागी ५ के.जी गाईको गोवर, ५ लिटर गौमूत्र, ५ के.जी निमको पात, एक के.जी खुर्सानी, एक के.जी. लसुन कुटेर ५० लिटर पानी राखिएको ड्रममा हालियो । यसपछि एक केजी भेली पनि यसमा राखी सात दिनसम्म छोडियो । बीच बीचमा यसलाई लट्ठीले घुमाउने काम पनि गरियो । यो अर्ग्यानिक घोल लेदोजस्तो भएकोले १५ लिटर लेदो लिएर १०० लिटर पानीमा मिसाएर लट्ठीले चलाएर छोडियो । केही वेरपछि लेदोको भारी पदार्थ तल बस्न गयो । माथि को पानी छानेर पम्पमा हालेर धानमा वाली लाग्नु भन्दा पहिला र पछि दुईपटक खेतमा स्प्रे गर्ने काम गरियो ।

६. सन २०२३ मा धानको उत्पादन:
प्रतिकट्ठा २ मान १० केजी अर्थात् ११.२५ क्विन्टल प्रतिएकडको हिसाबले धानको उत्पादन भयो । अरु किसानले युरिया, डिएपी पोटास आदि रासायनिक मल प्रयोग गरे पनि करिया कामौर धान योभन्दा बढी उत्पादन दिन सकेन ।

७. सन् २०२४ को शुरुमा खेतमा कार्बनिक पदार्थको व्यवस्थाः 
जीवाणुको लागि कार्बनिक पदार्थको व्यवस्था सन् २०२३ मा मुगीको दालको खेती गरिएको थियो । सन् २०२३ को धान काटिसकेपछि सन् २०२४ मा गहँु र राजमाको खेती गर्दा थ्रेसरबाट धान निकाल्दाका वखतका पराली खेतमा नै माल्चिङ्गको रुपमा छोडियो ।
उक्त गहुँ र राजमा पछि हरियो मलको लागि ढैचाको खेती गरिएको थियो । ढैचामा फूल आउने बेला त्यसलाई माटोमा मिसाई १५ दिनपछि धान रोप्ने काम गरिएको थियो ।

८. सन २०२४ मा धानको चयनः 
   जतिसुकै  माटो राम्रो भए पनि अगहनि धान १०-१२ क्विन्टल प्रतिएकडभन्दा बढी उत्पादन हुँदैन । गाउँमा कसैकसैको ५ मनको कट्ठा धान उत्पादन भएको देखेर सो धान अर्थात सोना मंसुली पनि केही क्षेत्रमा लगाउने मनसाय बनाइयो । यसपालि करिया कामौर, चननचुर र सोना मंसुली धान लगाइयो ।

९. सन् २०२४ मा धानको उत्पादनः 
अगहनि धान करिया कामौर र चननचुरको उत्पादन १० क्विन्टल प्रतिएकडको हिसाबले भयो । यसपालि दुईवटा प्लटमा सोना मंसुली धान रोपेको थियो । एउटा प्लटमा कुनै पनि रासायनिक मल हालिएन । अर्को प्लटमा ३ के.जी प्रतिकट्ठा युरिया हालिएको थियो । युरिया नहालेको ठाउँमा प्रतिकट्ठा ४ मन १० केजी अर्थात ५.१ क्विन्टल प्रतिहेक्टेयरको हिसाबले धानको उत्पादन भयो । 
त्यस्तै युरिया हालेको प्लटबाट सानो मंसुली धान ५ मान प्रतिकट्ठा अर्थात २५ क्विन्टल प्रतिएकड वा ६० क्विन्टल प्रतिहेक्टरको हिसावले धानको उत्पादन भयो । 
अर्थात् कुनै पनि रासायनिक मल र विषादि प्रयोग नगरिकन ५.१ मेट्रिक टनप्रति हेक्टेर र ९० केजी युरिया मात्र प्रयोग गरी कुनै पनि रासायनिक विषादि न हालिकन ६.० मेट्रिक टन प्रतिहेक्टेयरसम्म धान उत्पादन लिनु सुखद विषय हो । जबकि खेतको जीवान्स कार्बन एक प्रतिशतसम्म पक्कै पनि पुगेको छैन । कार्बनिक पदार्थको व्यवस्था र जीवाणुको व्यवस्था सकेसम्म गर्दै गयो भने युरिया प्रयोगमा कटौति  हुँदै जान्छ । एक प्रतिशत जीवान्स कार्बन पुगेको बेला युरियाको आवश्यकता पर्दैन । उत्पादनमा कमी आउँदैन । 
गाउँका अरु किसानले जति पनि युरिया डि.ए.पी लगायत अन्य रासायनिक मल हालेर पनि राम्रो उपज लिन सक्ने किसान ले ६.० मेट्रिक टन प्रतिहेक्टरभन्दा बढी लिएको पाइएन । 
नेपालको औसत धान उत्पादन सन् २०२४ मा ४.१९ मेट्रिक टन प्रतिहेक्टर रह्यो भने भारतको ४.३६६ मेट्रिक टन प्रतिहेक्टर रह्यो । भारतको पञ्जाबमा धान काट्नेबित्तिकै थ्रेसर लगाई गाडी मा लैजान्छ । आद्रता  (Moisture) रहेको धानको तौल बढी हुन्छ । नेपालमा धान काटेर खेतमा सुख्न लगाइ ५-६ दिन पछि थ्रेसर लगाइन्छ । 
अहिले उक्त जग्गाको जीवान्स कार्बन एक प्रतिशत पनि छैन । एक प्रतिशत जीवान्स पुगेको खण्डमा उत्पादन अहिलेको भन्दा पनि बढी हुनेछ । किसानहरु आत्मानिर्भरताको बाटोतर्फ उन्मुख हुन सक्ने बलियो आधार देखिन्छ ।

१०. निष्कर्षः 
मानव सभ्यतालगायत अनेक जीवजन्तुहरुको लोप हुने खतराबाट मुक्त हुन र स्वस्थ समाजको निर्माणको लागि प्राकृतिक खेतीतर्फ उन्मुख हुन अहिले बाध्यता भएको छ । 

 

प्रकाशित मिति : आइतबार, जेठ २५, २०८२ | १४:५५:२३ बजे

लेखकको बारेमा

ई. रामेश्वर यादव
यादव, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । उनले प्राकृतिक स्राेत व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

प्रतिक्रिया