कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
जलसरोकार
कैलाली: कैलालीको भजनी नगरपालिका–४ झलझलिया क्षेत्रमा कन्द्रा नदी नियन्त्रणका लागि निर्माण गरिएको जैविक तटबन्ध प्रभावकारी बनेको छ। बर्सेनि नदी कटान र डुबानका कारण विस्थापित हुँदै आएका स्थानीयलाई राहत मिलेको छ ।
गत वर्ष स्थानीयको श्रमदानबाट सुरु गरिएको जैविक तटबन्ध यस वर्ष भने स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको समन्वयमा निरन्तरता दिइएको छ । नगरपालिकासहित सहकर्मी समाज र स्थानीयवासीको सहभागितामा तटबन्ध निर्माण कार्य भइरहेको हो ।
स्थानीयका अनुसार प्रत्येक घरबाट संकलन गरिएको एक सय रुपैयाँ र श्रमदानमार्फत सुरु गरिएको प्रारम्भिक तटबन्ध प्रभावकारी देखिएपछि यस वर्ष थप विस्तार गरिएको हो। हालसम्म झण्डै पाँच सय मिटरभन्दा बढी क्षेत्रमा जैविक तटबन्ध निर्माण भइसकेको जनाइएको छ ।
स्थानीयवासी अमरराज न्यौपानेका अनुसार गत वर्ष निर्माण गरिएको तटबन्धले बस्तीमा नदी पस्ने जोखिम रोक्न सफल भएको छ। “गत वर्षको काम प्रभावकारी भएपछि यस वर्ष नगरपालिकासहितको समन्वयमा थप काम भइरहेको छ, अब विस्थापित हुनुपर्ने अवस्था नआओस् भन्ने आशा छ,” उनले भने, ।
नगर प्रमुख केवल चौधरी का अनुसार झलझलिया क्षेत्रमा कन्द्रा नदी नियन्त्रणका लागि थप काम भइरहेको छ । नगरपालिकाले करिब ७ सय ५० मिटर जैविक तटबन्ध निर्माण गर्ने सर्भे सम्पन्न गरेको छ ।
नगरपालिकाकी वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेका अनुसार नगरपालिकासहित विभिन्न सङ्घसंस्थाको करिब २५ लाख रुपैयाँ लागतमा तटबन्ध निर्माण भइरहेको छ । यसअघि झण्डै ६५ लाख रुपैयाँ बराबरको लगानीमा जैविक तटबन्ध निर्माण भइसकेको पनि उनले जानकारी दिए ।
स्थानीय लक्ष्मीप्रसाद जैशीका अनुसार बर्सेनि नदी कटान बढेपछि पटक–पटक सरकारी निकायलाई आग्रह गर्दा पनि प्रभावकारी पहल नहुँदा स्थानीयले स्वयं जैविक तटबन्ध सुरु गरेका थिए, जुन अहिले सफल देखिएको छ ।
तटबन्ध निर्माणपछि नदी कटान रोकिएसँगै बगर क्षेत्रमा व्यावसायिक कृषि तथा सामुदायिक कृषि वन कार्यक्रम पनि सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले बाढी प्रभावितको जीविकोपार्जन सुधार गर्न फलफूल खेतीलाई प्राथमिकता दिएको जनाएको छ ।
स्थानीय फागुराम डगौराका अनुसार यस वर्ष तटबन्धका कारण बाढीको जोखिम घटेको छ र थप निर्माण कार्यपछि दीर्घकालीन सुरक्षा हुने अपेक्षा गरिएको छ ।
वर्षायाममा बारम्बार डुबान र कटानको समस्या झेल्दै आएको झलझलिया क्षेत्रमा जैविक तटबन्ध प्रभावकारी देखिएपछि स्थानीयमा सुरक्षित भविष्यको आशा बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणको नयाँ रणनीति : निजी क्षेत्र थिच्दै नाफा बढाउने
-
पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
-
नयाँ वर्षको पहिलो दिन सेयर बजार उत्साहित, नेप्से ३३ अंकले बढ्यो
-
कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
-
तरलता व्यवस्थापनका लागि ४० अर्ब खिच्दै राष्ट्र बैंक
-
सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ पुग्यो