माथिल्लो त्रिशूली-३ ‘ए’ पुग्ने बाटोमा ठूला ढुंगा, ब्लास्टिङ र डिवाटरिङ जारी; ४२ कर्मचारी-कामदार सम्पर्कविहीन
जलसरोकार
काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रमा फसेका कर्मचारी तथा कामदारको उद्धारका लागि पावरहाउससम्म प्रवेशमार्ग बनाउने काम जारी छ। सुरुङको मुख्य प्रवेशमार्ग तथा पावरहाउस क्षेत्र ढुंगा, बालुवा र माटोले पुरिएपछि विभिन्न उपकरण प्रयोग गरेर बाटो खोल्ने क्रममा ठूला ढुंगा भेटिएपछि ब्लास्टिङमार्फत अवरोध हटाउने काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणले २०८३ भदौ १७ गते दिउँसो १ बजेसम्मको प्रगति विवरण सार्वजनिक गर्दै केवल टनेलको मुख तथा हाल तयार पारिएको प्रवेशमार्गमा जम्मा भएको पानी पम्पिङ गरेर बाहिर निकाल्ने डिवाटरिङ (पानी निकास) कार्यसमेत जारी रहेको जनाएको छ।
प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि ढुंगा, बालुवा र माटो थुप्रिँदा त्रिशूली नदीको सतहसमेत पहिलेभन्दा निकै माथि पुगेको छ। यसका कारण केवल टनेलको मुख्य प्रवेशमार्गदेखि पावरहाउस क्षेत्रसम्मै ठूलो मात्रामा पुरिएको छ।
पावरहाउससम्म पुग्ने बाटो खोलिँदै
उद्धारकर्तालाई पावरहाउससम्म पुर्याउने उद्देश्यले विभिन्न उपकरण प्रयोग गरी केवल टनेलबाट भित्र प्रवेश गर्ने बाटो बनाउने काम भइरहेको छ। त्यस क्रममा भेटिएका ठूला ढुंगा हटाउन ब्लास्टिङ भइरहेको प्राधिकरणले जनाएको छ।
यसअघि उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्न ड्रिलिङ तथा उत्खननलाई तीव्र पारेको थियो। चारवटा एक्स्काभेटर प्रयोग गरेर डेब्रिज हटाउने काम गरिएको थियो।
पछिल्लो चरणमा उद्धार टोली केबल एक्सेस टनेलसम्म पुगिसकेको र त्यहाँबाट भित्र प्रवेश गर्ने सम्भावना खोजिएको थियो। उक्त सुरुङबाट पावरहाउसतर्फ करिब १८० मिटर अगाडि गएपछि काम भइरहेको सम्भावित क्षेत्रमा पुग्न सकिने अनुमान गरिएको थियो।
पानी निकाल्न पम्पिङ
केवल टनेलको मुख खोलाको सतहभन्दा तल रहेकाले टनेल र हाल निर्माण गरिएको प्रवेशमार्गमा पानी जम्मा भएको प्राधिकरणले जनाएको छ।
त्यसैले जम्मा भएको पानीलाई पम्पिङ गरी बाहिर फाल्ने डिवाटरिङ कार्य जारी छ। पानी र डेब्रिज हटाउँदै प्रवेशमार्ग थप खुला बनाउने प्रयास भइरहेको छ।
यसअघि पनि सुरुङभित्र ठूलो मात्रामा पानी र लेदो रहेको भन्दै त्यसलाई हटाउन गली कटिङ, डिवाटरिङ तथा डेब्रिज हटाउने काम अघि बढाइएको थियो।
त्रिशूली-३ ‘ए’का ४२ जना सम्पर्कविहीन
प्राधिकरणको पछिल्लो विवरणअनुसार माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत ४२ जना कर्मचारी तथा कामदारसँग अझै सम्पर्क स्थापित हुन सकेको छैन।
बाढीका बेला आयोजनाको भूमिगत पावरहाउसमा प्राविधिक तथा कर्मचारीहरू रहेको र उनीहरूको उद्धारका लागि लगातार प्रयास भइरहेको छ। यसअघि पनि प्राधिकरणका अधिकारीहरूले पावरहाउसमा रहेका ४०-४५ जनाको जीवितै उद्धार गर्न सकिने आशा व्यक्त गरेका थिए।
प्राधिकरणका विभिन्न संरचनामा ४९ जना सम्पर्कविहीन
प्राधिकरणको सोही विवरणअनुसार माथिल्लो त्रिशूली-३ ‘ए’ बाहेक अन्य विद्युत् आयोजना तथा संरचनामा पनि कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित हुन सकेको छैन।
देवीघाट जलविद्युत् केन्द्रमा एक सुरक्षा गार्ड, त्रिशूली जलविद्युत् केन्द्रमा एक कर्मचारी र दुई सुरक्षा गार्ड, रसुवा वितरण केन्द्रमा एक कामदार, त्रिशूली-३ ‘बी’ हब २२० केभी सबस्टेसनमा एक सुरक्षा गार्ड तथा चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा एक कर्मचारी सम्पर्कविहीन छन्।
यसरी प्राधिकरणले उल्लेख गरेका विभिन्न आयोजना तथा संरचनामा गरी ४९ जना कर्मचारी तथा कामदारसँग सम्पर्क स्थापित हुन नसकेको देखिन्छ।
चौबीसै घण्टा खोज तथा उद्धार
प्रतिकूल मौसम, जटिल भौगोलिक अवस्था र आवश्यक सामग्री हवाई माध्यमबाट पुर्याउनुपर्ने चुनौतीबीच प्राधिकरणले आफ्ना उपलब्ध स्रोतसाधन अधिकतम परिचालन गरी चौबीसै घण्टा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
अहिले त्रिशूली-३ ‘ए’मा मुख्य प्राथमिकता पावरहाउससम्म पुग्ने प्रवेशमार्ग खोल्ने, ठूला ढुंगा हटाउने, टनेल तथा प्रवेशमार्गमा जम्मा भएको पानी निकाल्ने र त्यसपछि उद्धारकर्ता भित्र पठाउने रहेको छ।
उद्धारमा समय अत्यन्त महत्वपूर्ण भएकाले अब प्रवेशमार्ग खोल्ने कामसँगै उपलब्ध सबै उपकरण, प्राविधिक जनशक्ति र वैकल्पिक पहुँचलाई समानान्तर रूपमा उपयोग गर्नुपर्ने अवस्था देखिएको छ।
प्रतिक्रिया
भर्खरै
-
चिलिमेमा सम्पर्कविहीनका परिवारलाई ऊर्जा मन्त्रीको भरोसा : ‘अन्तिम सम्भावनासम्म खोजी गर्छौँ, आशा नमार्नुहोस्’
-
उद्धारमा ढिलाइप्रति प्राधिकरणका पाँच कर्मचारी संगठन आक्रोशित, ‘जिम्मेवारी छाडेर उद्धारमा उत्रिन्छौँ’
-
रसुवाका जलविद्युत् आयोजनाका टनेलमा उद्धार तीव्र, त्रिशूली–३ ‘ए’ को आउटलेट भेटियो
-
माथिल्लो त्रिशूली-३ ‘ए’ पुग्ने बाटोमा ठूला ढुंगा, ब्लास्टिङ र डिवाटरिङ जारी; ४२ कर्मचारी-कामदार सम्पर्कविहीन
-
भोटेकोशीमा बाढी आएको सात दिन बित्यो, जलविद्युत् आयोजनाका ९८३ जना अझै बेपत्ता
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा फेरि तीव्रता : ठूला ढुंगा हटाउन ब्लास्ट, ‘ग्र्याभिटी ड्रेनेज’ बाट बाट पानी निकालिने