सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

रसुवाका जलविद्युत् आयोजनाका टनेलमा उद्धार तीव्र, त्रिशूली–३ ‘ए’ को आउटलेट भेटियो

जलसरोकार
बुधबार, भदौ १७, २०८३ | १४:०४:३६ बजे

 

काठमाडौं : रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका तथा सम्पर्कविहीन भएकाको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार रसुवागढी, लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनाका टनेल तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार जारी छ।

रसुवागढी हाइड्रोपावरको टनेलमा उद्धार टोली करिब १५० मिटरभित्र पुगेको छ। तर टनेलभित्र ठूला चट्टान भेटिएपछि थप भित्र जान नसकिएको नेपाली सेनाले जनाएको छ। चट्टानका कारण रोकिएको खोज तथा उद्धार कार्य बुधकार पुनः जारी राखिएको छ।

लाङटाङ हाइड्रोपावरमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरेर खोजी गरिरहेको छ। चिलिमे हाइड्रोपावरमा पनि विदेशी नागरिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।

यसैगरी अपर त्रिशूली–१ को हाँकु क्षेत्रमा नेपाली सेनाको टोलीले खोज तथा उद्धार गरिरहेको छ।

त्रिशूली–३ ‘ए’ को आउटलेट भेटियो

त्रिशूली–३ ‘ए’ आयोजनामा भने उद्धार टोलीले टनेलको आउटलेट पत्ता लगाएको छ। नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले तीनवटा स्काभेटर र एउटा बोबक्याट प्रयोग गरी माटो पन्छाएको थियो।

त्यस क्रममा कम्प्रेसर मेसिन, ब्रेकर तथा ब्लास्टिङको प्रयोग गरेर अवरोध हटाएपछि टनेलको आउटलेट भेटिएको नेपाली सेनाले जनाएको छ।

वर्षाका कारण टनेलमा रातभर करिब १.५ मिटर पानी जमेको थियो। उक्त पानी पम्पको सहायताले बाहिर निकाल्ने काम गरिएको छ।

त्रिशूली–३ ‘बी’ मा आयोजनास्थलसम्म पुग्ने बाटो बनाइँदै

त्रिशूली–३ ‘बी’ आयोजनामा पनि खोज तथा उद्धार जारी छ। नेपाली सेनाका ६१ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ।

उक्त क्षेत्रमा पुग्न एक्स्काभेटरको प्रयोग गरी बाटो निर्माण गर्ने काम भइरहेको सेनाले जनाएको छ।

जंगलदेखि बस्ती र खोलासम्म खोजी

नेपाली सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पैदल गस्ती गर्दै स्थानीय बासिन्दासँग अवस्थाबारे जानकारी लिने र उद्धार आवश्यकताको मूल्यांकन गरिरहेको जनाएको छ।

त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा समेत खोज तथा उद्धार कार्य भइरहेको छ।

त्यस्तै, रसुवाको टिमुरे क्षेत्रमा फेला परेका शव व्यवस्थापनका लागि त्रिशूलीसम्म ल्याउन ‘स्लिङ लोड’ अपरेसनसमेत सुरु गरिएको छ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार २ सयभन्दा बढी सैनिक जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरू घाइते तथा प्रभावितको खोज, उद्धार तथा राहत कार्यमा समन्वयात्मक रूपमा खटिएका छन्।

प्रकाशित मिति : बुधबार, भदौ १७, २०८३ | १४:०४:३६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

भर्खरै