उद्धारमा ढिलाइप्रति प्राधिकरणका पाँच कर्मचारी संगठन आक्रोशित, ‘जिम्मेवारी छाडेर उद्धारमा उत्रिन्छौँ’
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील पाँच कर्मचारी संगठनले बाढी-पहिरोका कारण जोखिममा परेका तथा सम्पर्कविहीन कर्मचारी र श्रमिकको उद्धारमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल प्रभावकारी उद्धार अभियान सञ्चालन गर्न माग गरेका छन्।
प्राधिकरणका विभिन्न कर्मचारी संगठनले बुधबार कार्यकारी निर्देशकलाई ध्यानाकर्षणपत्र बुझाउँदै रसुवा तथा नुवाकोटमा रहेका त्रिशूली-३ ‘ए’ लगायतका जलविद्युत् केन्द्र तथा निर्माणाधीन आयोजनामा खटिएका कर्मचारी तथा श्रमिक बाढीपहिरोका कारण गम्भीर जोखिममा परेको र कतिपय अझै सम्पर्कविहीन रहेको उल्लेख गरेका छन्।
उद्धार तथा खोजीका लागि नेपाल सरकार, सुरक्षा निकाय र नेपाल विद्युत् प्राधिकरणबाट प्रयास भइरहेको भए पनि समन्वयको अभावका कारण अपेक्षित परिणाम आउन नसकेको उनीहरूको आरोप छ।
कर्मचारी संगठनहरूले विपद्को यस्तो विषम परिस्थितिमा प्रभावित क्षेत्रमा रहेका कर्मचारी तथा श्रमिकको उद्धारका लागि उपलब्ध सबै संयन्त्र परिचालन गर्न व्यवस्थापनसँग माग गरेका छन्। उनीहरूले उद्धार कार्यमा कुनै पनि प्रकारको ढिलाइ नगरी तदारुकताका साथ काम अघि बढाउन आग्रह गरेका छन्।
ध्यानाकर्षणपत्रमा कर्तव्य निर्वाहका क्रममा कर्मचारीले जीवन नै जोखिममा पार्नुपर्ने अवस्था सिर्जना हुनु, संकटको समयमा प्रभावकारी उद्धारमा ढिलाइ हुनु र सुरक्षित स्थानान्तरण प्रभावकारी हुन नसक्नुले व्यवस्थापकीय तथा संस्थागत समन्वयको अभाव देखिएको उल्लेख गरिएको छ।
ध्यानाकर्षणपत्रमा ऊर्जाशील कर्मचारी संघका संयोजक इन्द्रप्रसाद न्यौपाने, कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष राजेश नेपाल, राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष शिवराज भट्टराई र कर्मचारी संघका अध्यक्ष टंकप्रसाद अधिकारीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
‘जीवनभन्दा ठूलो कुनै भौतिक संरचना होइन’
पाँचवटै कर्मचारी संगठनले विपद्को समयमा आयोजना तथा भौतिक संरचनाभन्दा मानिसको जीवन सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘आम जनताको जीवनभन्दा ठूलो कुनै पनि भौतिक संरचना हुन सक्दैन’ भन्दै उनीहरूले जीवन सुरक्षा सुनिश्चित गरेपछि मात्र आयोजना तथा भौतिक संरचनाको संरक्षणमा ध्यान दिनुपर्ने धारणा अघि सारेका छन्।
उनीहरूले विपद्को समयमा एकअर्कालाई दोषारोपण गर्ने वा कमजोरी औँल्याउनेभन्दा राज्य संयन्त्रमा उपलब्ध स्रोतसाधनको उचित परिचालन र प्रभावकारी समन्वय गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय सहयोग लिन पनि आग्रह
उद्धारका लागि राज्यसँग उपलब्ध स्रोतसाधनबाट मात्र सम्भव नभए अन्तर्राष्ट्रिय समुदायसँग तत्काल समन्वय गरी उद्धार सामग्री तथा प्राविधिक विज्ञको सहयोग लिनुपर्ने माग पनि कर्मचारी संगठनहरूले गरेका छन्।
विशेषगरी कठिन भौगोलिक अवस्था, बाढीपहिरोले पुरिएका संरचना तथा आयोजनाका जोखिमपूर्ण क्षेत्रमा उद्धारका लागि आवश्यक प्रविधि, उपकरण र विशेषज्ञ जनशक्ति परिचालन गर्न ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ।
कर्मचारी संगठनहरूले विपद्को पहिलो दिनदेखि नै आफूहरू प्रभावित क्षेत्रमा पुगेर उद्धारका विषयमा प्राधिकरण व्यवस्थापन तथा सम्बन्धित सरोकारवालासँग पटक-पटक छलफल, वार्ता र समन्वय गरिरहेको बताएका छन्। तर, हालसम्म पनि अपेक्षित परिणाम आउन नसकेकामा आफूहरू थप चिन्तित बनेको उनीहरूको भनाइ छ।
‘अब जिम्मेवारी छाडेर उद्धारमा उत्रिन बाध्य हुनेछौँ’
ध्यानाकर्षणपत्रको अन्तिम अंश अझ गम्भीर छ। कर्मचारी संगठनहरूले उद्धारमा प्रभावकारी पहल नभए प्राधिकरणका कर्मचारीको कार्यक्षेत्रमा काम गर्ने मनोबल घट्ने र आफूहरू आफ्नो जिम्मेवारी छाडेर उद्धारमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
उनीहरूले यस्तो अवस्था सिर्जना भए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण व्यवस्थापन तथा सम्बन्धित निकायले लिनुपर्ने बताएका छन्।
यो चेतावनीसँगै प्राधिकरणभित्र कार्यरत कर्मचारी संगठनहरूले उद्धार अभियानलाई अब केवल आयोजनागत समस्या नभई मानवीय उद्धारको राष्ट्रिय प्राथमिकताका रूपमा लिनुपर्ने दबाब बढाएका छन्।
ध्यानाकर्षणपत्रमा ऊर्जाशील कर्मचारी संघका संयोजक इन्द्रप्रसाद न्यौपाने, कर्मचारी कल्याण परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष राजेश नेपाल, राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष शिवराज भट्टराई र कर्मचारी संघका अध्यक्ष टंकप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन्।
पत्रको बोधार्थ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूलाई समेत दिइएको छ।
पृष्ठभूमिमा, भोटेकोशी र त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछि प्राधिकरणका विभिन्न जलविद्युत् आयोजना तथा संरचनामा ठूलो क्षति पुगेको छ। यसै क्रममा त्रिशूली-३ ‘ए’ लगायतका आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकको अवस्थाबारे अझै गम्भीर चासो कायम छ। उद्धार अभियानमा सुरुङसम्म पहुँच स्थापित गर्ने, ढुंगा-माटो हटाउने, पानी निकास गर्ने तथा अन्य सम्भावित पहुँचमार्ग खोज्ने काम भइरहेको छ। पछिल्ला दिनमा उद्धारमा संलग्न प्राविधिक तथा सुरक्षा टोलीले कठिन भौगोलिक अवस्थाका बीच काम गरिरहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमेमा सम्पर्कविहीनका परिवारलाई ऊर्जा मन्त्रीको भरोसा : ‘अन्तिम सम्भावनासम्म खोजी गर्छौँ, आशा नमार्नुहोस्’
-
उद्धारमा ढिलाइप्रति प्राधिकरणका पाँच कर्मचारी संगठन आक्रोशित, ‘जिम्मेवारी छाडेर उद्धारमा उत्रिन्छौँ’
-
रसुवाका जलविद्युत् आयोजनाका टनेलमा उद्धार तीव्र, त्रिशूली–३ ‘ए’ को आउटलेट भेटियो
-
माथिल्लो त्रिशूली-३ ‘ए’ पुग्ने बाटोमा ठूला ढुंगा, ब्लास्टिङ र डिवाटरिङ जारी; ४२ कर्मचारी-कामदार सम्पर्कविहीन
-
भोटेकोशीमा बाढी आएको सात दिन बित्यो, जलविद्युत् आयोजनाका ९८३ जना अझै बेपत्ता
-
माथिल्लो त्रिशूली-३ ‘ए’ उद्धारमा फेरि तीव्रता : ठूला ढुंगा हटाउन ब्लास्ट, ‘ग्र्याभिटी ड्रेनेज’ बाट बाट पानी निकालिने