सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढीको रहस्य : कहाँबाट आयो करोडौँ घनमिटर पानी?

गोविन्द शर्मा पोखरेल
बुधबार, भदौ १७, २०८३ | ०९:३७:०३ बजे

प्राकृतिक प्रक्रिया, भौतिक प्रक्रियाहरू, भौगोलिक र भूगर्भीय प्रक्रियाहरू प्राकृतिक प्रकोप, प्रकोप र विपद्:

प्रकोप र विपद् पर्यायवाची शब्द हुन्। मेरो विचारमा प्रकोपलाई महाविपद् भनेर बुझ्दा उचित होला। विपद्‌भन्दा कम तीव्रताको अर्थ लागाउने शब्द आपद् होला। भुइँचालो, बाढी, पहिरो, हिमपहिरो, गेग्र्यानसहितको बाढी, भलबाढी, आगलागी, जलमग्नता आदि नेपालमा साधारणतया घट्ने प्राकृतिक घटना वा प्राकृतिक प्रक्रिया हुन्। नेपालमा यस्ता एउटा वा अनेकन् प्राकृतिक प्रक्रियाहरू नेपालको भूगोलका आधारमा घटित भइरहन्छन्। कुनै प्रक्रियाहरू हिमालमा ज्यादा घटित हुन्छन् भने अन्य कुनै प्रक्रियाहरू पहाड तथा तराईमा ज्यादा घटित हुने हुन्छन्। यस्तै प्राकृतिक प्रक्रियासँग जोडिएका मानव जाति, सभ्यता वा मानवजातिको आर्थिक क्रियाकलापमा नकारात्मक असर पार्ने प्रक्रियालाई प्राकृतिक प्रकोप वा प्राकृतिक विपद् वा दैवी प्रकोप भन्ने चलन छ। वास्तवमा मानव जातिमा नकारात्मक प्रभाव पार्ने प्राकृतिक प्रक्रियालाई हामी प्राकृतिक प्रकोप भन्ने गर्दछौँ भने मानवजातिका यस्ता क्रियाकलापमा कुनै खास प्रभाव नपार्ने प्राकृतिक प्रक्रियालाई हामी प्रकोप भन्दैनौँ। त्यसैले, प्रकोप वा विपद् मानव जाति वा उसको क्रियाकलापसँग अनोन्याश्रित रूपमा जोडिएको हुन्छ। मानव जाति नभएका स्थानमा घटित हुने जस्तोसुकै ठूलो प्राकृतिक प्रक्रियालाई पनि प्रकोप भनिँदैन। मान्छे भएको ठाउँमा वा मानवीय गतिविधि भएको ठाउँमा मात्र प्रकोप हुने र अन्य स्थानमा प्राकृतिक प्रक्रिया मात्र हुने हुनाले प्रकोप प्राकृतिक वा दैवी हुँदैन।

नेपालीहरू साधारणतया यस्ता प्राकृतिक प्रक्रियाका बीचमा आफूलाई अभ्यस्त राख्दै, प्राकृतिक प्रक्रियाबाट सिक्दै यस्ता प्रक्रियालाई प्रक्रियामा मात्र सीमित राख्दै सुरक्षित हुँदै आइरहेका नै छन्। तर, सबै नेपालीहरू हरेक अवस्थामा आफूलाई सुरक्षित राख्न असमर्थ भएको पाउँछौँ। प्रकोप वा विपद्हरू हामीले हाम्रो भूगोललाई राम्रोसँग बुझ्न र हाम्रो भूगोलको आवश्यकताअनुसार बाँच्न नसकेका कारण वा भनौँ हाम्रो अज्ञानता वा हेलचेक्र्याइँका कारण सिर्जना भएको अवस्था हो।

त्रिशूली नदीका बाढीजन्य प्रकोपहरू:

सबै नदीघाटीका भौगोलिक बनावटहरू सम्बन्धित नदीकै धेरै वर्षको कटान र सेडिमेन्टेशन (थिग्र्यान) जन्य प्राकृतिक प्रक्रियाको नतिजा हो। यस्ता प्रक्रियाहरू हरेक भौगोलिक क्षेत्रमा साधारणतया नियमित हुन्। वास्तवमा, साधारण परिमाणका यस्ता प्रक्रियाहरू नियमित रूपमा नै हुन्छन् भने भीषण प्रक्रियाहरू केही समयको अन्तरालमा हुने गर्दछन्। हालसालै त्रिशूली नदीको जलग्रहणक्षेत्रमा घटित भएको अति भीषण बाढी र रौद्ररूप लिएको बाढी आएको यस क्षेत्रमा कसैको पनि सम्झनामा नरहेको परिमाणको बाढी एकदमै अप्रत्याशित हो।

२०८२ मा त्रिशूली नदीकै स्रोतक्षेत्रमा अवस्थित भोटेकोशी नदीको माथिल्लो सहायक नदी ‘लिङ्दे खोला’ माथि सुप्राग्ल्यासियल हिमतालहरूको विस्फोटनका कारण यही क्षेत्रमा ठूलो विपद् आएको थियो। त्यस समयमा उक्त बाढी नै यस क्षेत्रमा आउनसक्ने भीषणतम बाढी हो भन्ने विज्ञहरूको बुझाइ थियो। तर, भदौ १० गते आएको प्रकोपले पुरानो इतिहासलाई धेरै पछाडि पारेको छ।

भाद्र १०, २०८३ मा लेहेन्द्रे खोला मार्फत भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अति भीषण बाढी आउनुको खास कारणबारे अध्ययन अनुसन्धान जारी छ। सो अध्ययन अनुसन्धानको प्राविधिक निष्कर्षले यस प्रकोपको ठोस कारणबारे आधिकारिक जानकारी दिने नै छ। तर, आजका दिनसम्म हामीले देखेका, पाएका तथ्याङ्कहरूका आधारमा यो अति भीषण विपद्‌बारे मेरा केही प्राविधिक धारणा राख्न चाहन्छु।

यो भीषण प्रकोप निम्त्याउने गरी आएको अति भीषण बाढीको खास कारण पत्ता लगाउने प्रयासहरू विभिन्न व्यक्ति र संस्थाहरूले गरिरहेकै छन्। यसैको फलस्वरूप, हिमताल विस्फोटनका कारण यो विपद्जन्य घटना भएको होइन भन्ने देखिइसक्यो। यस भीषण बाढीको उद्‌गमस्थल नजिकका तस्बिरहरूमा उद्‌गमस्थलमा चट्टानको एउटा ठूलो भाग खसेको देखियो। यो करिब ४००० देखि ५२०० मिटर माथि रहेको उक्त चट्टान लाङ्टाङ्ग हिमालको पछाडि उत्तरपट्टि करिब ३५०० मिटरको उचाइमा रहेको लेहेन्द्रे खोलामा एक्कासि झर्नाले भएको हो भन्ने अनुमान लगाइयो। साथै, यो चट्टान आफ्नो साविक स्थानबाट करिब १२००-१५०० मिटर तल खस्दा उत्पन्न भएको ऊर्जाका कारण करिब ४.४ म्याग्निच्युडको भूकम्प गएको प्रसङ्ग पनि जोडियो। अर्को तस्बिरमा यही चट्टान खसेको स्थानबाट केही दूरीमा रहेको हिमनदीको ठूलो हिस्सा पनि चट्टान खसेको करिब १ मिनटपछि खसेको भन्ने अनुमान लगाइयो। साथै यस हिमनदी खस्ने प्रक्रियालाई करिब ५.२ म्याग्निच्युडको दोस्रो भूकम्पसँग जोड्ने प्रयास पनि गरियो। यसैका आधारमा पहिले जलवायु परिवर्तनका कारण हिउँले टाँसेर राखेको चट्टानको ठूलो भाग स्खलन भएको तथा सो भूस्खलनबाट निस्किएको भूकम्पनका कारण नजिकै रहेको हिमनदी समेत स्खलन भएकाले दुवै प्रक्रियाहरूको संयुक्त कारणले गर्दा लेहेन्द्रे खोलामा भदौ १० गते भीषण बाढी आएको हो र सोही कारणले यो अकल्पनीय प्रकोपको सिर्जना भएको हो भन्ने मेरो धारणा छ।

प्रत्यक्षदर्शीका अनुसार पहिलो भूकम्प गएको करिब ७ मिनट ४ सेकेण्डमा लेहेन्द्रे खोलाको पानी करिब २२ किलोमिटर टाढा रहेको चिनियाँ चेकपोष्टसम्म पुगेको आधारमा पानीको बहावको बेग खोलाको यो सेक्शनमा करिब १८७ किलोमिटर प्रतिघण्टा भएको अनुमान गरेको छु। यो यस सेक्शनको औसत बहाव भएकाले मेरो अनुमानमा बाढीको स्रोत क्षेत्रमा पानीको वेग औसत बेगभन्दा ५० प्रतिशत ज्यादा वा अन्दाजी २८० किलोमिटर प्रतिघण्टा भएको मेरो अनुमान छ। यस्तै नदीमा पानीको बेग तल्ला क्षेत्रहरूमा क्रमशः कम हुँदै मुग्लिन - नारायणगढ क्षेत्रमा अन्दाजी ३० देखि ३५ किलोमिटर प्रतिघण्टा भएको मेरो प्रारम्भिक अनुमान छ। उक्त बाढीले नारायणगढसम्मको करिब ३५० किलोमिटरको दूरी करिब ७ घण्टामा पूरा गरेको आधारमा यो बाढीको औसत गति करिब ५० किलोमिटर प्रति घण्टा भएको अनुमान गर्न सकिन्छ।

यो सबैलाई जोडेर थप एउटा तस्बिर निर्माण गर्ने प्रयास मैले पनि गरेको हो। माथि उल्लिखित भूस्खलनहरूले गराएका भुइँचालाहरूको क्षमता आँक्ने प्रयास गर्दा ४.४ म्याग्निच्युडको भुइँचालोले उत्सर्जन गर्ने ऊर्जाको परिमाण करिब २५ अर्ब जुल वा २५ गिगाजुल र ५.२ म्याग्निच्युडको भूकम्पले उत्सर्जन गर्ने ऊर्जा करिब ४००० गिगाजुल मात्र हुने देखिन्छ। यो भनेको लेहेन्द्रे खोलामा यो बाढीजन्य प्रक्रिया आरम्भ हुँदा अनुमान गरिएको करिब ३०० किलोमिटर प्रतिघण्टाको वेगमा लेदो, ढुङ्गा र अन्य गेगरसहितको पानी बग्न कम्तीमा पनि त्यत्तिकै गतिमा चट्टान र हिमनदीको स्खलन हुन जरुरी छ। यस हिसाबले काइनेटिक इनर्जीको सूत्र प्रयोग गरेर हिसाब गर्दा स्खलन भएको चट्टानको परिमाण बढीमा ४ लाख ४४ हजार घन मिटर मात्र भएको देखिन्छ। यो परिमाणमध्ये पूरै बरफ भएको अनुमान गर्दा पनि उक्त प्रक्रियामा संलग्न पानीको कुल परिमाण ४ लाख ४४ हजार घनमिटरभन्दा अधिक हुन सक्तैन। तर मेरो अनुमानमा यो प्रक्रियामा साविकमा भन्दा करिब ४ देखि ५ करोड घनमिटर पानी ज्यादा बगेको हुनुपर्दछ। तर, यत्तिका ज्यादा परिमाणमा थप पानी आयो कहाँबाट?

२०५० सालको वाग्मती जलाधारमा आएको भीषण बाढीको अध्ययन गर्ने सिलसिलामा मैले उक्त बाढीमा पधेरेदोभान नजिक वाग्मती नदीमा अधिकतम २४ प्रतिशत गेग्र्यान रहेको अनुमान गरेको थिएँ। सोहीबमोजिम त्रिशूली नदीमा धादिङबेँसी जाने पुललाई माथितिरबाट बगाएर ल्याएको अर्को पुलको स्ल्याबले बिस्कुट बगे जसरी बग्दै आएर भत्काएको दृश्यलाई हृदयङ्गम गर्दा उक्त क्षेत्रमा त्रिशूलीको पानीमा पनि कम्तीमा २५-३० प्रतिशत माटो, लेदो, गेग्र्यान, वनस्पति मिसिएकाले नै २.३ स्पेसिफिक ग्राभिटी भएको सिमेन्टको स्ल्याबलाई त्रिशूली नदीको पानीमा सजिलै तैरन सक्ने अवस्थाको सिर्जना भएको मेरो अनुमान छ। वास्तविकता त नदीका विभिन्न स्थानमा उक्त समयमा पानीको नमुना सङ्कलन गरेको भए सो पानीको परीक्षणबाट सो स्थानको नमुनामा कति माटो, गेगर, बालुवा र अन्य ठोस पदार्थ मिसिएको थियो भन्ने पत्ता लाग्ने थियो। यसबाहेक त्रिशूली तथा यसका सहायक नदीहरूमा सञ्चालनमा रहेका नदीको बहाव नाप्ने उपकरणले नदीमा उक्त प्रकोपको अवधिमा कति पानी (सबै प्रकारका मिश्रण सहित) बग्यो र उक्त बहावमध्ये कति पानी साधारण बहावभित्र पर्दछ र कति पानी यस प्रकोपका कारण नदीमा थपिएको हो भन्ने यकिन गर्न सकिन्छ।

स्याटेलाइट तस्बिरबाट प्राप्त पछिल्लो जानकारीअनुसार बाढीको स्रोतक्षेत्रको आसपास चीन र नेपालको सिमानामा landslide dam भरिँदै आएको देख्न सकिन्छ। सोमध्ये एउटा पोखरीबाट पानी निकास भइरहेको भन्ने जानकारी केही सामाजिक सञ्जालले समेटेका छन्। भाद्र १० गतेको प्रकोपको तुलनामा यो पोखरी फुटेर आउनसक्ने बाढी निकै कम क्षमताको हुने मेरो अनुमान छ। तर, ती पोखरीमा पानीको परिमाण अधिकतम बढेमा जोखिम थप बढ्ने हुनाले तिनलाई निगरानीमा राख्न म सम्बन्धित सबैलाई अनुरोध गर्दछु।

२०८३ भाद्र १० को अति भीषण बाढीजन्य प्रकोपले मच्चाएको वितण्डाका केही दृश्यहरू मात्र देख्न पाइएको छ, पूरा तस्बिर आउन केही समय लाग्ने नै छ। पूरा तस्बिर हालका दृश्यभन्दा धेरै विकराल हुने मेरो अनुमान छ। र यस प्रकोपले गरेको नोक्सानीको आकलन आगामी दिनमा गर्न सकिएला तर यसको क्षतिपूर्ति हुनसक्दैन। यस प्रकोपका कारण नेपालले व्यहोरेको अतुलनीय र अवर्णनीय क्षतिका लागि जिम्मेवार निकाय को हो भनी यकिन गर्ने कार्य नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायको पनि हो।

लाङटाङ्ग हिमालीक्षेत्रमा भाद्र १० मा भएको प्रकोपजस्तै प्रकोप सन् २०१४ मा सेती नदीमा पनि भएको थियो। उक्त प्रकोपबाट करिब ८० जनाले ज्यान गुमाएका थिए भने उक्त प्रकोपक्षेत्रमा व्यापक धनजनको क्षति भएको थियो। तर, उक्त समयमा नेपाल सरकार उचित मात्रामा संवेदनशील नदेखिएको तथा क्षतिको परिणाम समेत स्थानीय (लोकलाइज्ड) भएकाले यस घटनाले आवश्यक मात्रामा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न सकेको थिएन। यस्तै प्रकारका प्रकोपहरू हिमालीक्षेत्रमा केही वर्ष अगाडि भारतको चमौलीमा र करिब २ वर्ष अगाडि भारतको सिक्किममा पनि घटित भएका थिए। यसबाहेक पनि जलवायु परिवर्तनका कारण उत्पन्न तथा वृद्धि भई विस्फोट भएका हिमतालका कारण नेपालमा व्यापक रूपमा धनजनको क्षति हुने गरेको छ। जलवायु परिवर्तनका कारण नै नेपालका हिमाली क्षेत्रहरूमा यस्ता प्रकोपहरूमा बढोत्तरी हुने पक्का छ।

लाङ्टाङ्ग हिमालक्षेत्र लगायत नेपालका सबै हिमालहरूमा जलवायु परिवर्तनको नकारात्मक असरका कारण नेपालको लाङ्टाङ्ग हिमालीक्षेत्रमा उत्पन्न भएको भाद्र १० का जस्ता ठूला ठूला प्रकोपहरूका कारक तत्त्वहरूको केन्द्रविन्दुमा मानव निर्मित जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हुन गएको तापक्रम वृद्धि रहेको कुरा जगजाहेर नै छ। त्यसैले जलवायु परिवर्तनमा योगदान गर्ने प्रमुख राष्ट्रहरू तथा संस्थाहरूले नेपालमा घटित यस्ता प्रकोपहरूबाट भएको जनधनको क्षतिलाई क्षतिपूर्ति गर्न सक्ने अवस्था विद्यमान नभए पनि यो विध्वंशका कारण नेपालले गर्नुपर्ने पुनर्निर्माणमा अधिकतम लगानी गर्नुपर्ने मेरो राय छ। यसका लागि यस क्षेत्रमा कार्बन उत्सर्जन गर्ने प्रमुख राष्ट्र तथा संस्थाहरूको पहिचान गर्ने प्रक्रिया लामो र झन्झटिलो भएकाले उक्त राष्ट्र तथा संस्थाबाट प्रतिपूर्ति गर्ने गरी विश्व बैंकअन्तर्गत रहेको कार्बन फन्डबाट प्रकोपग्रस्त क्षेत्रको पुनर्निर्माण हुनुपर्ने मेरो राय छ। यस कार्यमा अन्तर्राष्ट्रिय समुदायले नेपालको साथ दिनेछ भन्ने कुरामा म पूर्ण आशावादी छु। र नेपाल सरकारको आगामी दिनको कूटनीति यसै दिशामा केन्द्रित हुनेछ भन्ने मेरो विश्वास छ। मलाई विश्वास छ नेपालको विद्यमान कूटनीतिक स्तरले यस कार्यमा केही उल्लेख्य प्रभाव पार्ने छैन।

आगामी मार्गचित्रः

१.
नेपालले यस प्रकोपबाट पाठ सिक्दै स्थायी मानव बस्ती बस्न अयोग्य स्थानहरूको पहिचान सहितको नयाँ भू-उपयोग नक्सा अविलम्ब तयार गर्नेछ। नक्सामा स्थायी बसोवास गर्दा आइपर्ने जोखिमको मूल्याङ्कन गरी स्थायी बसोवास योग्य, अस्थायी बसोवास योग्य तथा बसोवासका लागि सर्वथा अयोग्य भूमि‍को प्रस्ट पहिचान भएको हुनुपर्ने छ।

२. नेपाल र नेपालीहरूले यस तथा अन्य प्रकोपहरूबाट पाठ सिक्दै सिकेको पाठलाई मनन गर्नुपर्ने छ।

३. नेपाल सरकारले विकासका संरचनाहरू जस्तै सडक निर्माण गर्दा तिनलाई सकेसम्म सुरक्षित स्थानमा निर्माण गर्नु गराउनु पर्दछ।

४. माथि उल्लेख गरिएझैँ जलवायु परिवर्तनका कारण नदीजन्य प्रकोपहरूमा हुनसक्ने बढोत्तरीलाई ध्यानमा राखेर नदीकिनारका बस्तीहरूलाई क्रमिकरूपमा सुरक्षित स्थानतिर स्थानान्तरण गर्ने नीति अवलम्बन गर्नु पर्दछ।

५. बाढीबारेको पूर्वसूचना प्रणालीको निर्माण गर्दा हिमाली तथा उच्च पहाडी क्षेत्रका पूर्वसूचना प्रणाली टेलिमेट्रिक प्रणालीका निर्माण गर्नुपर्दछ।

६. निजी क्षेत्रबाट तथा सरकारी लगानीमा निर्माण गरिने जलविद्युत् आयोजनाका सुरुङ जस्ता सिभिल संरचनाहरूको डिजाइन गर्दा लेहेन्द्रे खोलाले गत भदौ १० गते सिकाएको पाठ अनुसारका सुरक्षा प्रणालीको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने छ। साथसाथै जलविद्युत् आयोजनाको सेफ्टी रेगुलेसन, सेफ्टी ड्रिल गर्दा लेहेन्द्रे खोलाले सिकाएको पाठ समेत उचित रूपमा समावेश गरिनु पर्दछ।

 

प्रकाशित मिति : बुधबार, भदौ १७, २०८३ | ०९:३७:०३ बजे

लेखकको बारेमा

गोविन्द शर्मा पोखरेल
वरिष्ठ फेलो, नेपाल पानी सदुपयोग फाउण्डेशन

प्रतिक्रिया